जुन१९ ।२०२३ उत्तर अमेरिकाको फादर्स डे । बुबाहरूको दिन । सन्सारभरी रहनुहुने समआदरणीय बुबाहरूलाई हार्दिक नमन गर्दै छोटा कथाहरू प्रस्तुत गरेको छु । यी कथाहरू हजुरहरूकै सम्मानमा प्रस्तुत छन् ।
१ जीन्दगी
दिनभरी आआफ्नो ठाउँमा काम सकेर हामी एउटा चिया खाने पशलमा भेला भयौँ । परदेशमा यसरी साथीहरूसँग एकाध घण्टा भेट भएर कुरा गर्न पाउँदा पनि नेपाल नै पुगे जस्तो हुन्छ । रमेश, धनबहादुर र लोप्साङ हामी चार जना कहिले काँही यसरी नै भेट गर्ने गर्थ्यौँ । गाउँमा घरपायक स्कुल थिएनन् । दुई तीन घण्टाको बाटो हिँडेर पढ्न सम्भव पनि थिएन । घाँस दाउरा मेलापातमै जीवन वित्यो । दुई छाक खान कहिलै पुग्दैन थियो । चाडबाड मनाउन र अनिकालमा बेसा ल्याएको ऋण प्रत्येक दिन बढ्थ्यो । आफ्नो बारी र खेत पनि शाहुले लगे पछी बाध्य भएर गाउँ छोड्नु परेका कुरा साँटिन्थे ।
धन्न खाडीमा मज्दूरको आवश्यक्ता परेर हामी जस्ताले पनि यहाँ सम्म आउन पायौँ । आफुले पढन् नपाएको पिडा सबैका उस्तै थिए । छोराछोरीलाई राम्रोसँग पढाउनु थियो । उनीहरूका आवश्यक्ताहरू पुरा गर्नु थियो ।
खाडीमा गर्मीको त के कुरा । दिउँसो उड्दै गरेका चराहरू गर्मीले झर्थे । गर्मीले पशिना आएर शरिरका लुगा भिज्थे र शरिरमै सुक्थे । शरिरको पानी सकिएर पशिना निस्कन पनि छोड्थ्यो । मानिस गर्मीले शरिर सुख्खा भएर बिरामी पर्थे । तर पनि काममा जानु पर्थ्यो । छोराछोरीहरूका आवश्यक्ता पुरा गर्न । ऋणले पारेका छिद्रहरू टाल्न ।
धनबहादुर छोरी बिरामी छन् भनेर चिन्तित थिए । रातभरी पनि सुतेका थिएनन् । आफैँ पनि गर्मी र अनिँदाले बिरामी थिए । बिराम हुँदा पनि काममा जानै पर्ने । त्यस दिन धनबहादुर साँझ डेरा फर्किएनन् । चिया खाने पशलमा पनि आएनन् । धरै बेर पर्खिँदा पनि न आएपछी फोन गर्यौँ । अहँ फोन पनि लागेन । सँगै कामगर्ने साथीलाई फोन गर्दा बल्ल लाग्यो ।साथी चैँको आवाज हड्बडाएको थियो । बोल्न सकिरहेको थिएन । धनबहादुर त खस्यो भनेर साथीले फोन काट्यो । फेरि सम्पर्क भएन । बिस तलामाथिको स्काफोल्डिङ बाँद्दाबाँध्दै उनी झरेछन् । हामीले उनका कुरा सम्झ्यौँ । उनकी बिरामी छोरीलाई सम्झ्यौ । धनबहादुरले देखाएको परिवारको सुन्दर फोटो सम्झ्यौँ । अनि हाम्रो खाडीको जीन्दगी ।
२ सपना
बुबा आउने दिन हाम्रो घरमा दशैँ जस्तो हुन्थ्यो । बुबा नहुँदा हाम्रो घरमा खासै भात पाक्दैन थियो । भातका ठाउँमा फर्सि, तरूल, स्कुस, सगरखण्डा आदिले अधिकार जमाउँथे । घरमा भातपकाउने चामल नै हुँदैन थियो ।
बुबा ढाकर बोकेर अरूको भारी बोक्न गड्तिरको बाटो धरान जानु हुन्थ्यो । धरानबाट फर्किँदा शाहुको भारीमाथि दुईचार किलो चामल किनेर ल्याउनु हुन्थ्यो । हामीलाई घोडाको टाउको भएको कपी , पेन्सिल र राता मिठाई ल्याई दिनु हुन्थ्यो । हामी ती कपी पेन्सिल र मिठाई पाउँदा रमाउँथ्यौँ । उफ्रिन्थ्यौँ । कहिले उज्यालो हुन्छ र स्कुलमा लगेर साथीहरूलाई देखाउनु भन्ने छट्पट हुन्थ्यो । सुत्दा हातमा बोकेको रातो मिठाई पग्लिएर सिरकको खोल रातै हुन्थ्यो । बिहान उठ्दा रातो मिठाइ सानो भएर हात्केलामा टाँसिएको हुन्थ्यो ।
बुबाले हामीलाई अँगालोमारेर धेरै पढ्नु ठूलो मान्छे बन्नु भन्नु हुन्थ्यो । हामी अलिअलि बिरामी हुँदा पनि ओखती गर्नु हुन्थ्यो । टाउको छामी दिने र खुट्टा मिचिदिने गर्नु हुन्थ्यो । सातदिन सम्म डेढमनको भारी बोक्दा पनि बुबा कहिलै बिरामी हुनु भएन । बुबाले कहिलै खुट्टा दुखे, जीउ दुख्यो भन्नु भएन । आफु नखाएर पनि हामीलाई खुवाउनु हुन्थ्यो ।
हामी स्कुलमा पास हुँदा काँधमा राखेर डुलाउँनु हुन्थ्यो । हर्षबढाईँ गर्नु हुन्थ्यो । बारीमा फलेका आरूबखडा, सुन्तला र नस्पातीहरू लगेर स्कुलमा बाँडिदिनु हुन्थ्यो । उहाँको छोराछोरी ठूलोमान्छे भएको हर्ने एउटैमात्र सपना थियो ।
३ म फर्किएँ
हामी हङकङबाट फर्किँदा म पाँचबर्षको मात्र थिएँ । हङकङका केही धमिला स्मरणहरू अझै ताजा छन् । हामीसँग दुई महिना बसे पछी बाबा हङकङ नै फर्कियो । हामी धरानमा बस्थ्यौँ । हामी बहिनी र म बोर्डिङ स्कुलमा भर्ना भयौँ । म भन्दा सानो बहिनी थियो । हाम्रा जुत्ता, लुगा र खर्चबर्च देख्दा अरू बच्चाहरूसँग हाम्रो छुट्टै शान थियो । साथीबनाउनेहरू थुप्रै थिए । हामी पनि अरू लाहुरेका छोराछोरीहरूसँग हिँड्न र खेल्न थाल्यौँ । कक्षा सातसम्म पढ्दा मेरो पढाई राम्रै थियो । त्यस पछी क्रमश स्कुलजान मनलाग्न छोड्यो । स्कुलबाट भागेर चलचित्र हेर्न जान थाल्यौ । क्रमशःसाथीहरू पनि उस्तै उस्तै बन्दै गए । हामी कोही पनि स्कुल नजाने । घरमा आमालाई स्कुलबाट कम्प्लेन गरी रहन्थ्यो । बाबाले हङकङबाट हप्ताहप्तामा फोन गरेर सोध्थ्यो । हाम्रो पढाईको बारेमा, स्कुलको बारेमा । हामीसँग पनि कुरा गर्न चाहान्थ्यो । तर बिस्तारै मलाई बोल्न मन लाग्न छोड्यो ।
बाबाले मलाई जे पनि किनिदिन्थ्यो । राम्राराम्रा जुत्ता, लुगाकपडा, साईकल आदि । म बिस्तारै साथीहरूसँग चौरीमा बसेर घण्टौँ बिताउँन थालेँ । बिस्तारै लागुपदार्थ सेवनमा मेरो लत लाग्यो । पढाईको र स्कुलको त कुरा नै हरायो । मलाई पैसाको सक्तजरूरी हुन्थ्यो । आमासँग पैसामागेर चलाउँदै गएँ । तर दिनदिनै खर्च हुने । भनेजती पेसा आमाबाट पनि प्राप्त हुन छोड्यो । मैले मेरा जुत्ता लुगा र साइकल पनि बेचेर दुव्यसनलाई निरन्तरता दिँए । हाम्रो समूहले दुर्व्येशनका नयाँ नयाँ प्रयोगहरू गर्दै गयो । धुम्रपान ,र मध्यपान सँगै सिरिन्जको प्रयोग गर्न थाल्यौँ ।
हामीलाई प्रहरीले पक्डेर लग्यो । मेरोबाबा अफगानिस्थानको युद्धमा गएको थियो । मलाई पुलिसले पक्डेको खबरले उसको मनलाई सारै दुखि बनाएछ । मैले छोरा र छोरीको लागि राम्रो होस भनेर देश छोडेँ । पराई देशमा आफ्नो ज्यानलाई बाजी लगाएर लड्दै छु । कती खेर तालिवानको आक्रमणमा मरिन्छ थाहा छैन । मेरा छोराछोरी नै सर्वश्व हुन भन्दै रोएको रेकर्ड पठाएछ । त्यो सुनेर मलाई पनि दुःख लाग्यो । आफ्नो काम देखि नै नराम्रो लाग्यो । मैले पुलिसलाई भने अब म त्यस्तो गर्दिन भनेर कागजमा सही गरेँ । लागू औषधीले मलाई धेरै सताएको रहेछ । खान छोडेपछी केही दिन गाह्रो भयो । तर मेरो बाबाको रूवाईले र दुःखले नशाको कुलतबाट म फर्किएँ ।
ह्याप्पी फादर्सडे
उनका आँखाका कोसबाट दुई ढिक्का आँशु ओर्लिए । चिँउडो सम्म बग्न नपाउँदै बालुवामा परेको पानी जस्तै भएर ती बिलाए । नजिकै रहेको बक्सबाट टिसु निकालेर आँखा पुछे र दायाँबायाँ हेरे । कसैले हेरीरहेका त छैनन् भन्ने लाग्यो । उनका अगाडि टेवलमा अंगुर, स्याउ, स्ट्राबेरी, ब्लूबेरी, खरबूजा, हनीड्यू ,क्यान्टालोप र भैँकटरका चानाहरूलाई प्लास्टिकका खण्डेथालभरी राखेर प्लास्टिको विर्कोले छोपिएको थियो । अर्को थालमा बिभिन्न प्रकारका बिस्कुट र मिठाईहरू थिए । काजु, बदाम, ओखरहरूका छुट्टाछुट्टै भरी डब्बाहरू सजाएर राखेका थिए । सुन्दर रंगीन कागजले र्याप गरेका बक्समा उपहारहरू पनि थिए । उपहार संगै रंगीन खाममा ह्याप्पी फादर्स डे लेखेका खाम थिए । तीनवटा खाम भएकाले तीनैजना छोराछोरीले पठाएका हुन भन्ने लखकाट्न मुस्किल परेन ।
उनी बसेको शोफाका अगाडिको सिसाबाट घरभित्रै घाम छिरेर उज्यालो भएको थियो । यसरी सिसाबाट पसेको घामले कोठालाई नै तातो बनाएको थियो। उनलाई पुसमाघ महिनामा स्कुलको चौरीमा बसेर घाम तापेकोसम्झना आयो । उनले झ्यालबाहिरको निलो आकाशलाई एकटकले नियाले । बादलका ठूला लुम्साहरू ऐटिँदै गरेको प्यूरी चर्खाबाट निस्किए झैँ सुलुलुलु गर्दै निस्कन्थे । बादलका थुङ्गाहरू बन्थे । एकहुल चराहरू बादल भन्दा अलि तलबाट उडे । यी चराहरू पनि जीवनको खोजीमा कतै भौँतारिएका होलान् । कतै पुगेर आफुजस्तै अडिनेछन् । यात्राको बिट मर्नेछ । रहरले होस या बाध्यताले होस गन्तब्यमा बिराम लाग्नेछ ।
उनलाई वाल्यकालको सम्झना आयो । दाजुदिदीहरू ,बुबाकाकाहरू ,फूपूदिदिहरू सँगै हुँदा कती रमाईलो हुन्थ्यो । चाडबाडमा सबै भेला हुन्थे । नाचगान हुन्थ्यो । पूजाआजा हुँदा गाउँभरीका मान्छे भेला हुन्थे । सिलोक भन्नेहरू छुट्टै हुन्थे । बालन नाच्ने र संगिनी खेल्नेहरू हुन्थे । नाचगान गर्ने केटाकेटीहरूका टोली छुट्टै हुन्थे । को भन्दा को कम जसरी नाच्थे । नाचगान गर्दा रातगएको पत्तै नहुने । गाउँमा कोही बिरामी भयो भने पनि गाउँलेहरू भेला भएर रूँग्ने चलन थियो । औषधी गर्नेहरू देखि धामीझाँक्रीहरू आआफ्नो सिप देखाउँथे । मर्दाका मलामी पर्दाका जन्ती भनेझैँ जतीवेला पनि साथ सहयोग पाईन्थ्यो । गाउँ एक प्रकारले ठूलो सागर जस्तो । तर त्यही गाउँको मान्छे प्रगति र उन्नतिका नाममा शहर पस्छ । शिक्षाका नाममा शहरमा होमिन्छ । माया,ममता,आत्मियता, आफन्तका सागरबाट अलगिँदै, अलगिँदै गएर सानो खहरे जस्तो नितान्त एक्लो बन्छ । म जस्तै एक्लो ! नितान्त एक्लो ! आकाश तर्फ हेरेर टोलाएका आँखामा बर्षादले कुवामा पानी भरिए झैँ आँशु टिलपिल भए । नरम टिसुपेपरले दुबै आँखामा आएको पानीलाई ओभाए र आँखा चिम्म गरे ।
मन नलागी नलागी खाम खोलेर कार्ड निकालेर पढ्न थाले । “तपाई मेरो जीवनको पथप्रदर्शक हो । आफु खिइएर, घोटिएर, बालुवा बनेर मलाई कंकृट बनाउँने, तपश्वीहो । मेरो भगवान हो । ह्याप्पी फादर्स् डे तपाईकी प्यारी छोरी करूणा !“ कार्डमा लेखिएको थियो । त्यस पछी अर्को खामबाट कार्ड निकाले । “मेरो आदर्श हजुर नै हो । म जे छु हजुरको देनले यहाँछु । आफु जलेर हामीलाई उज्यालो दिनु भयो । परिवार शिक्षित बनाउँनु भयो । आई लभ यू बुबा । ह्यप्पि फादर्स डे !” छोरा अनमोल भन्ने लेखेको रहेछ । उनले तेश्रो खामलाई हातमा लिए । बस्दा बस्दा घुँडा दुखेजस्तो भयो । उभिएर खुट्टा सिधा बनाए । हातलाई पनि तलमाथि गराए । तीन चार पाईला हिँडे । फेरी आएर शोफामा बसे । छोटो समयभए पनि पल्टनमा परेडखेलेको यादआयो । हातको खामलाई निकाल्दै कार्ड पढ्न शुरू गरे । “आफ्नो जन्मभूँमीलाई नचाहाँदा नचाहँदै हाम्रै खुशीका लागि छोड्नु भयो । भाषा संस्कृति र संस्कारलाई नौलो परिवेशमा धान्नु चानचूने कार्य थिएन । हामीलाई कुशल बनाउँनका लागि आफ्ना सबै खुशीहरूलाई बिर्सिदिनु भयो । धन्ने बुबा हजुर हाम्रो भगवान हो । ह्याप्पिफादर्स डे !” छोरा सजल । लेखिएको थियो ।
मलाई देखेर उनी झसङ्ग भए । बुबा नमस्कार भनेर सम्बोधन गरेँ । ए सर ! बसौन । मनेर कूर्सी तर्फ ईसारा गरे । मैले पनि ह्यप्पी फादर्स डे बुबा भनेँ । उनका अगाडि थुप्रै खानेकुरा र उपहारहरू थिए । मैले ती उपहार र खानेकुरा तर्फ देखाउँदै भने बुबालाई छोरा छोरीले त खुब माया गर्दा रहेछन् नी हैन ? हो बाबु ! तर यी जति नै उपहार र खानेकुरा भन्दा पनि बरू खालीहात नै आएर एक दुई घण्टा कुरा गरी दिए हुने थियो । हेर्न पाए र भेट्न पाए उपहार भन्दा लाख गुणा ठूलो हुने थियो । भेटेर सँगै बोल्दा कस्तो रमाईलो हुने थियो जस्तो लाग्छ । बाबु तपाई चैँ बुबाआमालाई भेटगर्न जानु होस है । बाँचुन्जेल त हो । भगवान भन्छन् नी । जन्म दाताहरू भगवान हुन नी । उनको अनुहार उज्यालो भएको थियो । बर्तन सकिएर धिपधिप गर्नलागेको दियोमा बर्तन भरिए जस्तै भएर उर्जा भरिएको थियो । धरै बेर उनका कुरा सुनेँ । र भनेँ बुबा म त्यस्तो भाग्यमानी कहाँ हुँ र दुबै जन्मदाता भगवानलाई गुमाएको मान्छे । मेरा कुराले खै उनलाई कस्तो लाग्यो कुन्नी ।
-सुरेन उप्रेती पाँचथर हाल एडमण्टन क्यानडा
प्रतिक्रिया