हस्ताक्षर

इनेप्लिज २०८० असार २ गते १७:१५ मा प्रकाशित

-डा . दामोदर पुडासैनी किशोर

हुरीको मँझधारमा
दौडिरहेका कोलम्बस भेटिए
भेटिइन् चुपचाप बसिहेकी म्याडलिन मुनरो
दुबैले बोले-
मान्छे कहिल्यै मान्छेको नियन्त्रणमा रहेन
र ,रहनेछैन

चौरका भुइँफूलहरूमा
जीवनको रँग सुकिनसक्दै
कोही रोप्न लागिरहेछ नयाँ अविजालो
भुँइ खोतल्दा भेटियो केही जोर अण्डा
ओथारा बस्नेहरू
युध्दको कुन मोडमा भागे बस्ति छोडेर
शहरको बीचमै लडिरहेछन्
प्रेमिल अँगालोमा बाधिइरहेको
बैँशालु प्रेमि प्रेमिकाको लाश

शँख घन्ट बज्दैन
क़ुरान कण्ठ पार्नेहरूको आवाज़ छैन
ध्यानपनि छैन धम्मपदको
बाइबल उच्चारण गर्ने कोही छैन
ब्यालेस्टिक क्षेप्यास्त्रले कोरेको हुनसक्छ
पृथ्वीको अनुहारमा एक्कासी देखियो
खाटा नबस्ने कुरूप घाउ

मान्छे नभएपछि घाउपनि बिझाउँदैन कसैलाई

पदचाप नभेटेर उदासी छन् फुटपाथहरू
फूलहरू त बग्रेल्ति छन् फूलिरहेका
रँग र सुगन्ध चाख्ने
ख्वै किन हो यहाँ कोही छैन

कसम खानेहरू हराइसके
भाकल गर्नेहरू अचेत छन्
विश्वासको पुल भत्केपछि
भाइरसले निलिदियो आकर्षणलाई

हस्ताक्षर !
सिर्फ तिम्रो एउटा हस्ताक्षरले
ब्युँझन सक्छ मृत सँसार

-२०८० जेठ १६ ( २०२३ मे ३०) मँगलबार
संयुक्त राज्य अमेरिका

प्रतिक्रिया