साफको अन्तिम तयारीमा नेपाल, आज फिलिपिन्ससँग भिड्दै

इनेप्लिज २०८० जेठ ३२ गते १:३२ मा प्रकाशित

काठमाडौ, नेपाली फुटबल टोलीले मैत्रीपूर्ण खेलमा आज घरेलु टोली फिलिपिन्ससँग खेल्दैछ । नेपाल र फिलिपिन्सबीचको खेल अपरान्ह ४ः४५ देखि रिजल मेमोरियल स्टेडियममा सुरु हुनेछ ।

नेपाल बिहीबार फिलिपिन्सलाई स्तब्ध पार्ने रणनीतिमा छ । यद्यपि घरेलु टिमविरुद्ध जीत निकाल्न नेपाललाई सजिलो छैन ।

हालसम्म फिलिपिन्सविरुद्ध ६ खेल खेलेको नेपालले एक खेलमा मात्र जीत निकालेको छ । एक बराबरी खेल्दा फिलिपिन्सविरुद्ध नेपालले ४ खेलमा भने हारको सामना गरेको छ ।

नेपाल आसन्न साफ साफ च्याम्पियनसिपको तयारीस्वरूप फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । १४ औँ संस्करणको साफ ६ असारदेखि भारतको बेंगलुरुमा सुरु हुँदैछ ।

आउँदो संस्करणको साफमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्स सहभागी हुनेछन् । यसपल्ट कुवेत र लेबनान आमन्त्रित टोलीको रूपमा साफ खेल्न लागेका हुन् ।

साफमा नेपालले समूह चरणमा गत विजेता भारत, कुवेत र पाकिस्तानको सामना गर्नेछ । यस्तै, समूह ’बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।

नेपालले साफमा पहिलो खेल ६ असारमा कुवेतको सामना गर्ने तालिका छ । नेपालले दोस्रो खेल ९ असारमा आयोजक भारतसँग खेल्नेछ ।

तेस्रो तथा समूह चरणको अन्तिम खेलमा नेपालको भेट पाकिस्तानसँग हुनेछ । यी दुई टोलीले १२ असारमा प्रतिस्पर्धा गर्नेछन् ।

गत संस्करणको साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । माल्दिभ्समा आयोजना भएको उक्त संस्करणको फाइनलमा नेपाल भारतसँग ३–० ले स्तब्ध हुँदै उपाधि जित्न चुकेको थियो ।

प्रतिक्रिया