आज विश्व रक्तदाता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

इनेप्लिज २०८० जेठ ३१ गते २:०९ मा प्रकाशित

काठमाडौ, विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको १४ जुनमा दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाइने गरिन्छ ।

यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिनका रूपमा पनि मनाउने गरिन्छ ।

यस वर्ष ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ ।

नाराले जीवनपर्यन्त रगतको आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्वलाई दर्शाएको छ ।

यसले नियमितरुपमा रगत र प्लाज्माको दानमार्फत दिगो र सुरक्षित आपूर्तिको महत्वबारे समेत चर्चा गरेको छ ।

यही अवसरमा देशभरका विभिन्न सङ्घसंस्था र अस्पतालले रक्तदानसम्बन्धी जनचेतना फैलाउने, दातालाई प्रोत्साहन गर्ने र रक्तदानको कार्यक्रम आयोजना गरेको छ ।

यस दिवसका अवसरमा ब्लड डोनर्श एसोसिएसन नेपालले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।

एसोसिएसनले साताव्यापी चेतनामूलक कार्यक्रमको आयोजना गरिरहेको एसोसिएसनका महासचिव केशव मर्हजनले जानकारी दिए ।

‘साइकल र्याली, महिला रक्तदाता अभिमुखीकरण, चित्रकला र रक्तदाता सम्मानलगायतका कार्यक्रम अयोजना गरेका छौँ,’ उनले भने, ‘अस्पतालमा रगतको व्यवस्थापनमा असहज र रक्तादातालाई प्रोत्साहन गर्न नसक्नु अहिलेको चुनौती हो ।’

यस दिनलाई मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा। कार्ल ल्याण्डस्टाइनरको जन्मदिन १४ जुनको अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ ।

पहिलो विश्व रक्तदाता दिवस सन् २००४ मा मनाइएको थियो भने सन् २००५ मा ५८औँ विश्व स्वास्थ्य सभाद्वारा वार्षिक विश्वव्यापी कार्यक्रमको रुपमा नामकरण गरिएको थियो ।

प्रतिक्रिया