धन्यवाद ती मनकारी विदेशीहरूलाई !

इनेप्लिज २०८० जेठ ३० गते २२:०० मा प्रकाशित

आज बर्षौंपछि फेसबुकमा एकजना स्कुलको होस्टेलमा सगैं हुर्केको साथीलाई भेटें । उनी विदेशमा डाक्टर पेशा गरेर बसिरहेकी रहिछन् । हुन त बाल्यकालका साथी सबै प्यारा नै हुन्छन् । तर उनको कहानी अलिक फरक, रोचक र स्मरणिय नै छ ! लेख्नै पर्ने ।

मैले स्कुल काठमाडौंमा, हाम्रोपालामा केटीहरूको होस्टेल भएको दुई स्कुल मध्ये महेन्द्र भवनमा पढेको हो। होस्टेलमा नेपालका बिभिन्न जिल्ला लगायत भारतको दार्जिलिगं र तिब्बेतियन शरणार्थी केटीहरू बस्थे । त्यस्तै धनी/गरीव , विभिन्न जात, धर्म मान्ने परिवार सबै थरीका थिए।

प्रत्येक बर्ष फागुनमा स्कुल शुरू भएपछि साना एक कक्षादेखि दशसम्म पढ्ने होस्टेलका केही केटीहरूको बगैंचामा स्कुल ड्रेस लगाएर फोटो खिचाउने गरेको देख्थें । ठुलो कक्षा पढ्दा बुझेंउनीहरूलाई त नेपालको बिभिन्न ठाउॅंबाट छानेर ल्याएर विदेशीले पठाएको पैसाले पढाएको पो रहेछ । प्रत्येक बर्ष तिनीहरूले सहयोग गरेको केटीहरूको फोटो खिचेर ती विदेशीहरूलाई पठाउनु पर्दो रहेछ ।

हो यस्तै मध्येकी ती डाक्टर साथी थिईन । सोध्न त कहिले सोधिन, तर तिनको गाउॅंमा पारिवारिक अवस्था दयनिय थियो । एसएलसी राम्रो अंकमा पास गरीन् । आईएससीमा पनि राम्रो अंक ल्याएर भारतमा डाक्टर स्कलरसिपमा पढ्न गएको थाहा थियो । ओहो, अहिले त विदेशमा राम्रो गर्दै रहिछन् ।अझ फेसबुकमा फोटोहरू हेर्दा त उनी आफुमात्र हैन अरू भाई बहिनी पनि विदेशमा नै बसिरहेको देखें। गज्जब, लाग्यो। मनमनमा ती मनकारी विदेशीलाई, एक नेपाली चेली र तिनको परिवारको उज्वल भविष्य बनाई दिएकोमा धन्यवाद भनें ।

उनी जस्तै यसरी बिदेशीको सहयोगमा पढेका अरूले पनि राम्रो गरिरहेका छन् । कोही नर्स , कोहीस्कुल टिचर, कोही समाजसेवा, कोही विदेशतिर व्यापार व्यवसाय गरेको देख्छु। भन्न मन लाग्छ “ सबैभन्दा ठुलो दान शिक्षा , त्यो पनि महिलाहरूलाई दिनु रहेछ। एउटा महिला शिक्षित भईन भने उनलेआफु सहित घर परिवार समाज शिक्षित पार्न सक्छिन् ।”

अझ रोचक चाहीं कसरी हाम्रो स्कुलमा विदेशीले केटीहरूलाई पढाउन पैसा दिएका रहेछन् भनेर खोज्दैजांदा , के भेंटे भने, नेपालमा पहिलो प्रजातन्त्र वि.सं. २००७ सालमा आएपछि नेपालपनि चौतर्फी विकासको बाटोमा लाग्न थाल्यो । नेपाल १०४ बर्ष राणा शासनको अंधकारबाट भर्खर निक्लेको थियो। नेपालमा कृषी, स्वास्थ्य र शिक्षामा सुधार ल्याउन संसारका विकशित देशहरूले पनि सहयोग गर्नथालेछन् ।

यसरी सहयोग गर्ने क्रममा संसारभरका क्रिश्चियनहरू र नेपाल सरकार मिलेर “ युनाईटेड मिसन टुनेपाल” भन्ने संस्था सन् १९५४ मा स्थापना भएको रहेछ । तेही संस्था अन्तरगत , केटीहरूमात्र पढनेस्कुल “महेन्द्र भवन “ खुलेछ। र विदेशीले पनि केही गरीव र जेहेन्दार केटीहरू पढाई दिने गरेछन् ।

हुनत त्योबेला कतिले क्रिश्चियन धर्म प्रचार गर्न स्कुल खोलेको भन्थे । तर खै हजारौं केटीहरू त्यो स्कुलबाट पढेर निक्ले ।सबै क्रिश्चियन बन्नु पर्ने थियो होला । तर घरपरिवार पहिले देखि क्रिश्चियन धर्म मान्ने केटीहरूमात्र क्रिश्चियन थिए । त्यस बाहेक अरूले धर्म परिवर्तन गरेको देखिएन । साथै स्कुलले पनि कहिल्यै धर्म परिवर्तन गर्नै पर्छ भनेर कसैलाई कर पनि गरेन।

यतिखेर म अमेरिकामा बस्छु । मेरो अनुभवमा अमेरिकनसॅंग सिक्नु पर्ने भनेको चाहीं “अरूलाई मद्दतगर्न वा दिन ” जस्तो लाग्छ । तॅंलाई समस्या छ भनेर सोध्न त आउॅंदैनन् । तर कसैले म आपतमा छुभनेर मद्दत मागे भने दिलोज्यानले सहयोग गर्छन् ।

यिनीहरूको जे सकिन्छ , जसरी सकिन्छ तुरून्तै गरिहाल्ने बानी असाध्यै राम्रो हुन्छ । कुराले भन्दा पनिकाम नै गर्ने । नेपाली धनका गरीव नभएपनि मनका गरीव तर अमेरिकनहरू मनका असाध्यै धनी !

यॅंहाका अमेरिकनहरू पनि थरीथरीका छन् । केहीले बिभिन्न संस्थामा प्रत्येक महिना विदेशी बच्चाबच्ची पढाउन, प्राकृतिक आपतविपत पर्दा सहयोग होस आदी भनेर आर्थिक सहयोग गरिरहेका हुन्छन्। कतिले आफु पढेको कलेजमा आफ्नो वा परिवारको नाममा स्कलरसिप स्थापना गरेर गरीव, जेहेन्दार विधार्थीलाई पढ्न सहयोग गरिरहेका छन्।

अझ केही अमेरिकनले त संसारका विभिन्न देशबाट अनाथ बालबालिकाहरूलाई धर्म संतान बनाएर ल्याएका छन् । ती बच्चा बच्चीलाई असाध्यै माया गरेको देख्छु । एक जना गोरी अमेरिकनले त नेपालमा काम गर्न बस्दा, एक अनाथ बच्चीलाई छोरी बनाएकी रहिछन् । उनी मेरो छोराको स्कुलमा पढ्थिन् । अहिले नर्स छिन्।

तर बिस्तारै नेपालीहरू पनि बदलिंदैछन् । आजकल नेपाली संसारभर छरिसक्यौं। कैयौं त विदेशी नागरिक नै भई सकेका छन् । सबैलाई आफ्नो जन्मभूमी प्यारो छ । कति फर्किन चाहान्छन्, कति नफर्किए पनि आफ्नो देश नेपाललाई सहयोग गर्नु पर्छ भनेर लागि परेका छन् । प्राकृतिक आपत विपतपर्दा आर्थिक सहयोग होस वा छिमेकी देशले दुख दिंदा एकजुट भएर बिरोध प्रदर्शन गरिदिन्छन् ।

त्यस्तै नेपालका कलाकार, खेलाडी, साहित्यकार आदी विदेश बोलाएर कार्यक्रम गर्ने , नेपाली सिनेमा सपरिवार गएर हेरी दिने देखि धर्म संस्कृति बचाउन मंन्दिर बनाउने , सांस्कृतिक कार्यक्रम, नेपाली पोसाक लगाएर नेपाल डे परेड आदी बिभिन्न देश, राज्य र ठाउॅंमा गरी रहेका छन् ।

केहीले चाहीं आफ्नो खुशीको क्षण , जन्मदिन, बैबाहिक बर्षगाठ, बच्चाहरूको पास्नी, कलेज ग्र्याजुएशन, बुबाआमाको बार्षिकी सराध्य आदीको बेला पारेर नेपालमा रहेका असहाय बालबालिका, बुढाबुढी तथा जनावरहरूको संरक्षण गरीरहेको बिभिन्न संस्थाहरूलाई पैसा पठाएर खाना खुवाउने रलत्ता कपडा बांडेर सहयोग गर्ने गर्छन् । केही अमेरिकामा डाक्टर पेशा गरिरहेका नेपाली मुलका डाक्टरहरू नेपालमा मेडिकल क्याम्प गर्न बेलाबेलामा नेपाल गई रहेका पनि छन् । त्यस्तै अमेरिकामा बिभिन्न कार्यक्रम गरेर डा. महाविर पुनको आविष्कार केन्द्रलाई, डा. भगवान कोईरालाको हस्पिटल बनाउन , समता स्कुलको सहयोगको लागि पैसा उठाउने पनि गरिरहेकाछन् ।

अझ आजकल त यो लेखको शुरूमा लेखिएको, उहिले विदेशीहरूले नेपाली बालबालिका, धेरै त छोरीहरू पढाई दिए जस्तै विदेशी भई सकेका नेपाली मुलका अमेरिकनले पनि गरीब र जेहेन्दारछोरीहरू पढाई रहेका छन् नेपालमा । अमेरिकामा बस्ने एक दाईभाउजुले एउटा नानुलाई (जो ईन्द्रेणीलोक दोहोरी कार्यक्रममा पनि गीत गांउॅंछिन कहिलेकाही) छोरी बनाएर नेपालमा उनको पढाई तथा लालनपालनको जिम्मा लिईरहनु भएको छ । त्यस्तै यस कथाकी मुख्य पात्र डाक्टर साथी ( जसकोकारणले मैले यो लेख लेखें ।) उनले त झन् नेपालका धेरै छोरीहरूलाई सहयोग गरेर स्कुल कलेजपढाई पो सकेकी रहिछन्।

अन्त्यमा , १० हजार कदम हिंडन पहिलो कदम त सार्नै पर्छ ! नेपालको विकासमा केही गर्न सकिन्छ की भनेर पहिलो कदम स्वरूप हामी विदेश तथा नेपालमा रहेका केही साथीहरू मिलेर नेपालमा एक नाफारहित संस्था खोलेका छौं । बिस्तारै काम हुंदैछ ।

दिनरात यो बिग्रियो, यता भएन, यसले गरेन आदी भनेर नकारात्मक बिचार मनमा राख्ने, लेख्ने, बोल्नेर गनगन गरीरहने गर्नुभन्दा आफुले जे सकिन्छ तेही गर्नु उचित ! कहिले नभेटेको, नदेखेको, न जात धर्म, न देश नै एउटै र पनि मानवताको नाताले संसारको कुन कुनामा रहेका नानीहरूलाई त विदेशीले पढाई दिएर उज्वल भविष्य बनाई दिए भने , हामी नेपाली ! आफैले आफ्नै नेपाल र नेपालीलाई सक्दो सहयोग किन नगर्ने ?

( अरूको गोपनियताको सम्मान गर्दै कसैको नाम पनि यो लेखमा उल्लेख गरिएको छैन ! )

प्रतिक्रिया