इटालीलाई हराउँदै यू-२० विश्वकपको उपाधि जित्यो उरुग्वेले

इनेप्लिज २०८० जेठ २९ गते २:०८ मा प्रकाशित

एजेन्सी, फिफा यू–२० विश्वकपको उपाधि उरुग्वेले जितेको छ । गएराति अर्जेन्टिनमा सम्पन्न फाइनलमा इटालीलाई १–० ले हराउँदै उरुग्वेले उपाधि जितेको हो ।

उरुग्वेको जितमा लुसियानो रोड्रिग्वेजले निर्णायक गोल गरे । उनले ८६औँ मिनेटमा गोल गरेका थिए । उरुग्वेले पहिलोपटक यू–२० विश्वकप उपाधि जितेको हो । यसअघि ऊ १९९७ र २०१३ मा उपविजेता बनेको थियो ।

उरुग्वे १९९७ मा अर्जेन्टिना र २०१३ मा फ्रान्ससँग पराजित भएको थियो । यू–२० विश्वकप उपाधि धेरै पटक जित्ने देश भने अर्जेन्टिना हो । उसले अहिलेसम्म ६ पटक यू–२० विश्वकप उपाधि जितेको छ ।

यस्तै, ब्राजिलले ५ पटक तथा पोर्चुगल र सर्बियाले २र२ पटक यू–२० विश्वकप उपाधि जितेका छन् ।

यस्तै, दक्षिण कोरियालाई ३–१ ले हराउँदै इजरायल तेस्रो भएको छ । प्रतियोगितामा इटालीका सिसर कासाडेइ सर्वाधिक गोलकर्ता भए ।

उनले विश्वकप अवधिभर ७ गोल गरे । २० मेबाट सुरु भएको विश्वकपमा ६ महादेशका २४ देशको सहभागिता रहेको थियो ।

प्रतिक्रिया