काठमाडौ, नक्कली शरणार्थी प्रकरणको जारी थुनछेक बहसमा आज (बुधबार) देखि प्रतिवादी (अभियुक्त) तर्फका वकिलहरूले बहस गर्दै छन्।
आइतबारदेखि मंगलबारसम्म सरकारी वकिल र जाहेरवालातर्फका निजी वकिलले बहस सकेपछि प्रतिवादीतर्फका वकिलले प्रतिरक्षा बहस सुरु गर्ने भएका हुन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको हो।
प्रतिवादीतर्फका वकिललाई बहसका लागि शनिबारबाहेक आजदेखि लगातार आगामी मंगलबारसम्मको समय छुट्याइएको छ।
प्रतिवादीतर्फको बहस सकिएपछि बुधबार फेरि सरकारी वकिलले जवाफी बहस गर्ने र त्यही दिन आदेश जारी गर्ने समय–तालिका छ।
आदेशले पक्राउ परेका १८ अभियुक्तलाई थुनामा पठाउने वा कारागारबाहिरै राखेर मुद्दा अगाडि बढाउने भन्ने विषयमा निर्णय दिनेछ।
सरकारी वकिलका तर्फबाट आइतबार महेश खत्रीले, सोमबार जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई र प्रकाश घिमिरेले तथा मंगलबार सुरबहादुर परियार, निर्मला मरासिनी र हिरालाल घोलालले बहस गरेका थिए।
उनीहरूले प्रतिवादीले प्रमाण मेटाउन सक्ने भएकाले थुनामा राखेर अनुसन्धान गर्नुपर्ने माग गरेका छन्। यस्तै जाहेरवालाका तर्फबाट मंगलबार सुनिलकुमार शर्मा सापकोटा र दीपकराज रेग्मीले बहस गरेका थिए।
नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाई अमेरिका पठाउने भनी लाखौँ ठगी गरेको अभियोगमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्।
जसमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनका पीए नरेन्द्र केसी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरुङ, सन्देश शर्मा, सागर राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, रामशरण केसी, गोविन्दकुमार चौधरी, लक्ष्मी महर्जन र हरिभक्त महर्जन छन्।
अभियोग लागेका १२ जना भने फरार छन्। नक्कली शरणार्थी प्रकरणमा जम्मा ३० जनाविरुद्ध अदालतमा अभियोग दायर गरिएको छ।
उनीहरुविरुद्ध जेठ १० गते ठगी, लिखत किर्ते, राज्यविरूद्धको कसुर, संगठित अपराध र एकीकृत कसुरमा सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ।
प्रतिक्रिया