कोशी प्रदेशमा मानव बेचविखनको घटनामा वृद्धि –सीमा क्षेत्रमा निगरानी बढाउन सुझाव

इनेप्लिज २०८० जेठ २३ गते २१:१९ मा प्रकाशित

विराटनगर,२३ जेठ । कोशी प्रदेशमा मानव बेचविखनका घटनाहरु बर्षेनी बढ्दो क्रममा रहेको छ ।

साझा सवालका लागि साझा मञ्च (कोकन)द्वारा प्रदेश स्तरीय मानव बेचविखन तथा ओसारपसार नियन्त्रण अभियान अन्तरक्रियामा आर्थिक वर्ष २०७६–०७७ मा प्रदेशमा मानव बेचबिखन सम्बन्धी २२ वटा जाहेरीमा ३३ जना महिला मानव बेचबिखन तथा ओसारपसारबाट पीडित देखिएका तथ्याङ्क प्रस्तुत गरिएको छ ।

बेचविखन गरिएका ३३ जना महिला मध्ये १५ जना जनजाती, आठ जना क्षेत्री, चार दलित, तीन ब्रामह्ण र तीन मधेशी महिलाहरु रहेका छन् ।

यस्तै आव २०७७ः०७८ मानव बेचबिखन सम्बन्धी २३ वटा जाहेरीमा ३७ जना महिला र एक जना पुरुष मानव बेचबिखन तथा ओसारपसारबाट पीडित रहेको देखिएका मध्ये २३ जना जनजाती, पाँच मधेशी, चार दलित,तीन ब्रामह्ण ,दुई जना क्षेत्री महिलाहरु छन् ।

आर्थिक क्रियाकलापमा भएको वृद्धि, बढ्दो बसाईसराई तथा सहरीकरण, वैदेशिक रोजगारमा युवाहरुको उच्च संलग्नता आदि जस्ता कारणले गर्दा आन्तरिकरुपमा पनि मानव बेचबिखनको प्रभाव बढ्दै गएको कोकन अध्यक्ष मञ्जिता उपाध्यायले बताउनुभयो ।

कार्यपत्र प्रस्तुत गर्दै कोकन सल्लाहकार कोषराज न्यौपाने झापा, ईलाम, मोरङ्ग, सुनसरी, जिल्लाहरुका नेपाल –भारत सीमा क्षेत्रमा बेचविखनको उच्च जोखिम रहेकोले तीन क्षेत्रहरुमा रातीको समयमा समेत निगरानी बढाउनु पर्ने अवस्था रहेको बताउनु भयो ।

प्रदेश सांसद लिलाबल्लभ अधिकारीले नेपालमा मानव बेचविखन विरुद्धको विषयमा प्रर्याप्त ऐन कानुन बनेपनि प्रभावकारीकारी कार्यन्वयनमा समस्या रहेको बताउनुभयो ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले आर्थिक वर्ष २०७७–०७८ मा २३ वटा र ०७८ –०८९ को बैशाख मसान्त सम्ममा १४ वटा मानव बेचविखनविरुद्धको मुद्धा दर्ता भएको जानकारी दिनुभयो ।

बर्जु गाउँपालिकाका उपाध्यक्ष नितुकुमारी चौधरी, कोशी गाउँपालिका उपाध्यक्ष अनितादेवी यादव, बराहक्षेत्र नगरपालिका उपप्रमुख नन्दकुमारी सुनुवार लगायतले उच्च जोखिममा रहेका क्षेत्रमा यस क्षेत्रका कार्यरत सस्था र जनप्रतिनिधिहरुको सहयोगमा बेचविखन कार्यलाई नियन्त्रण गर्नुपर्ने सुझाव दिनु भयो ।

प्रतिक्रिया