एनआरएनए र गृहमन्त्रीबीच भेट, निर्देशिका र कार्यविधि बनाई छिट्टै नागरिकता विधेयक कार्यन्वयनमा ल्याउने प्रतिबद्धता

इनेप्लिज २०८० जेठ २३ गते ११:१८ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरी ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण गरेकोप्रति धन्यवाद व्यक्त गरेको छ । उपाध्यक्ष आर के शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गैरआवासीय नेपालीले सन् २००३ देखि उठाएको मुद्दा सम्बोधनका भएकोप्रति धन्यवाद व्यक्त गरेको हो । गैरआवासीय नेपालीलाई मताधिकारको प्रत्याभूतिको लागि नीति तथा कार्यक्रम मार्फत सम्बोधन गरेकोमा धन्यवाद व्यक्त गर्दै कार्यान्वयनमा लैजानको लागि समेत प्रतिनिधि मण्डलले गृहमन्त्री समक्ष अनुरोध गरेको छ ।

सो अवसरमा संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नागरिकता विधेयक प्रमाणिकरण लाई युगकै सुन्दर उपहारको संज्ञा दिनुभयो । नागरिकता सम्बन्धी कार्यविधि तथा नियमावली बनाउने कार्य यथाशक्य छिटो अघि बढाउन र त्यसमा गैरआवासीय नेपालीको तर्फबाट समेत प्रतिनिधि समेट्न डा महतोले गृहमन्त्री श्रेष्ठमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउनुभयो ।

संघका उपाध्यक्ष आर के शर्माले ओमानमा यही जून २८ देखि ३० तारिखसम्म हुने मध्य पूर्वी क्षेत्रीय सम्मेलनका लागि गृहमन्त्रीलाई आमन्त्रण गर्दै श्रमिकका हक हित र अधिकारका लागि नेपाल सरकारले थप जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिनुभयो।

जवाफमा गृहमन्त्री श्रेष्ठले नागरिकता सम्बन्धी कार्यविधि तथा नियमावली बनाउने कार्यका लागि निर्देशन दिइसकेको र छिट्टै उक्त काम पूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । गैरआवासीय नेपालीले उठाउँदै आएको मताधिकारको विषय नीति तथा कार्यक्रम मार्फत सम्बोधन भइसकेको भन्दै गृहमन्त्री श्रेष्ठले विदेशमा बस्ने मताधिकार प्राप्त नेपालीको सूची संकलनका लागि आफैं तदारुकताका साथ अघि बढ्ने उहाँको भनाई थियो । भेटमा गैरआवासीय नेपालीहरुको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको वातावरण, श्रमिक र उनीहरुको हक अधिकार लगायतका विषयमा कुराकानी भएको थियो ।
भेटका क्रममा उपाध्यक्ष आर. के शर्मा, संस्थापक भीम उदास, टि. बि कार्की (पुर्व उपाध्यक्ष), गोविन्द प्रसाद गौतम (सचिव), अब्दुल वासिद (युवा संयोजक), लोक तिवारी (युएसए) , भिमसेन थापा (पोर्चुगल), बन्दना शर्मा (कतार), रुद्र शर्मा (दक्षिण कोरिया), सरोज दाहाल र रवि किरण अधिकारी (प्रमुख कार्यकारी अधिकृत) लगायतको उपस्थिति रहेको थियो ।

श्रमिकका सबै समस्यासँग अभ्यस्त छु, छिट्टै समाधान गर्ने प्रयास गर्छु : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटेर ओमानमा यही जून २८ देखि ३० तारिखसम्म हुने मध्य पूर्वी क्षेत्रीय सम्मेलनका लागि आमन्त्रण गरेको छ ।

भेटका क्रममा उपाध्यक्ष, आर के शर्माले मध्यपूर्वका केही देशमा महिला श्रमिकलाई पुनःश्रम स्वीकृतिमा लगाइएको रोक अन्त्य गर्नुका साथै र इराक लगायतका मुलुकमा रोजगारीका लागि जान लगाइएको निषेधलाई पुनरावलोकन गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराउनुभयो ।

श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकार र एनआरएनको सहकार्य अहम् हुने भन्दै ओमानमा हुने सम्मेलनबाट यसको बृहत् सुरुवात गरिने जानकारी गराउनुभयो । यस्तै समाजिक सुरक्षा कोषमा कम्तिमा पनि २ प्रतिशत लाभांशको व्यवस्था सरकारको तर्फबाट गर्नसके कोषप्रति श्रमिकको आकर्षण बढ्ने उहाँको भनाई थियो । सो अवसरमा संस्थापक डा उपेन्द्र महतोले लाखौँ श्रमिकको रेमिट्यान्सलाई बैँकिङ् च्यानलबाट ल्याउनसके मुलुकको राजस्वमा ठूलो टेवा पुग्ने धारणा राख्नुभयो ।

एनआरएनएका प्रतिनिधिलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले आफू श्रमिकका सबै समस्यासँग अभ्यस्त रहेको र यही कार्यकालमा ती समस्या सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । श्रमिकका समस्यासँग साक्षात्कार हुँदाहुँदै पनि विविध कारण समाधानमुखी योजना ल्याउन नसकेको स्वीकार्दै उहाँले एनआरएनसँगको सहकार्यमा विदेशमा रहेका श्रमिकको हक अधिकार सुनिश्चित गर्न र सुरक्षित तथा मर्यादित रोजगारीका लागि प्रोत्सहित गर्न सरकारले काम सुरु गरिसकेको उहाँको भनाई थियो । त्यसका लागि गन्तव्य मुलुकका राजदूतसँग पनि आफूले छलफल जारी राखेको मन्त्री भण्डारीको भनाई थियो ।
नेपालीहरु जहाँ जसरी पुगेपनि उनीलाई ‘देश छ र सरकारले गर्छ’ भन्ने महसुस गराउने गरी रणनीतिक पहल सुरु गरेको उहाँको भनाई थियो । विदेशमा रहेका श्रमिक, उनीहरुको अवस्था र उनीहरुलाई परेका समस्या पहिचान गर्न र सुरक्षित रोजगारका लागि प्रोत्सहित गर्न एकत्रित रुपमा डिजिटल रोजगार केन्द्रको अवधारणा ल्याई काम सुरु गर्न लागेको उहाँले बताउनुभयो । मध्यपूर्वका महिला श्रमिकको समस्या विविध कारण यसअघि रोक लगाइएका श्रम गन्तव्य मुलुकका सम्बन्धमा सरकारले छिट्टै पुनरावलोकन गर्ने मन्त्री भण्डारीले प्रतिबद्धता जनाउनुभयो ।

भेटका क्रममा संस्थापक अध्यक्ष महतोसहित, उपाध्यक्ष शर्मा, संघका सचिव गोविन्द प्रसाद गौतम, गैरआवासीय नेपाली संघ कम्बोडियाका अध्यक्ष लाल सिंह, सरोज दाहाल र प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।


६ जुन २०२३

प्रतिक्रिया