प्रायः प्रायः सबै गाउँ घरमा समाज हुन्छ । समाज बिना हामी मान्छेलाई जिउन गाह्रो नै हुन्छ। तर समाज यस्तो होस् जहाँ दुई तर्फी होस् जहाँ समाजले न्याय अन्याय, कालो सेतो चिन्नु सकोस् ।
अचम्म लाग्छ हजूर यो समाज देख्दा । यहाँको चलन देख्दा, केही कारणको शुरुवात गर्नु पर्दा सुरुवात रक्सीबाट नै गर्नुपर्ने । कसैको नानी भयो मिठा मिठा खाना मात्र दिएर हुँदैन । साथमा रक्सी राखिदिनैपर्ने । बिहेबटुलमा रक्सी छैन भने बिहामा मजै आएन भन्नेहरूको सङ्ख्या कम्ति हुँदैन । बिहेबटुलतिर रक्सी नहुने कुरा सुने कति त जाँदैनन् पनि हाम्रा समाजका मान्छेहरू । कसैले आफ्नो रगत-पसिना खर्चेर घर बनाउँदा पनि मान्छेलाई रक्सी खुवाउनै पर्ने, त्यति मात्र कहाँ हो र हजूर ! कसैको घरमा मरौ परेको स्थिति अर्कै छ फेरि । आफन्तजन गुमाएर सोकमा परेको बेला पनि रक्सी नदिए मरौ घरमा रुङ्नै नजाने कस्तो अचम्मको समाज हो ?छक्कै पर्नु।
दुःख लाग्छ, गाउँ घरको अवस्था देखेर । कसै अघि बढ्दैछन् भने नराम्रो नराम्रो लाञ्छना लगाएर बदनाम गर्नु खोज्ने, आफ्नो घिनलाग्दा खेलहरू फेल खाएपछि घरकै मान्छेलाई मोहोरा बनाएर ढाल्नु खोज्ने छि कस्ता कस्ता मान्छेहरू छन् हाम्रो समाजमा। अलिकति भगवानको डर नभएका । अर्काको घर झगड़ामा पसेर आफ्नै छोरा बुहारीलाई गाउँ जम्मै मिलेर कुटपिट गर्ने हाम्रो यो घिनलाग्दो समाज । हुन त भनिन्छ नि, ओरालो लागेको मृगलाई सबैले खेदाउँछन्… ठिकै रहेछ । तर यस्तो यस्तो घटना घट्दा पनि गाउँ घरका पाँच दसवटा समाजका चौकिदार भनौदाहररू किन चुप लागेका ? अचम्म लाग्छ । उनीहरूको मुखमा बोली छैन कि? कि उनीहरूको एक तर्फे संविधान पो छ कि ? उनीहरूको समाजले न्याय गर्नुपर्ने हो कि एकजना निर्बल र दुर्वल, असहायमाथि सबै खनिनुपर्ने ? तर अवाज उठाउने कसले? विरोध गर्ने कसले ?
हाम्रो समाजमा ठूला ठूला पढ़े लखेका मूर्खहरूकै कारण आज हाम्रा दिदी बहिनी दाजु भाइहरू पछाड़िएका छन् । उनीहरु पढ़े लेखेका छ्न् तर राम्रो प्लाटफर्म नभएको कारण आज उनीहरूको जोवन बिहान उठी घाँस दाउरा गरी, घरको भाँड़ा वर्तन धुँदा धुँदै दिन बित्ने गर्दछ । उनीहरूलाई प्रोत्साहान गर्दैनन् कसैले । उनीहरूमा भएका कला, प्रतिभालाई सम्मान गर्दैनन् यो समाजले । राम्रो प्लाटफर्म खोजिदिँदैनन् । यसरी नै हाम्रा प्रतिभाका प्रतिभा अनि कलाहरु चिचिलामै मुर्झाउँछ, मरेर जान्छ। यस्तो समाज यहाँ मात्र होइन अरु जग्गा पनि छ होला। अन्तमा छोरी चेली बिहे भएपछि राम्रा श्रीमान पाए त आफ्नो सपनालाई साकार बनाउँछन् तर श्रीमान राम्रो नभए उनीहरुको जीवन नर्क नै हुन्छ। अर्काको नोकर भएर नै जीवन ब्यतित गर्नुपर्ने हुन्छ । किन सोंच्दैनन् ती हुतिहारा पढ़े लेखेका अनपढ़ मूर्ख समाजका चौकिदारहरूले । कहिले बुझ्ने ? कहिले सोंच्ने समाजको लागि? कि बाँचुञ्जेल नै चौकिदारी मात्र गरेर मर्ने? समाजमा केही राम्रो छाप छोड़ेर जाने इच्छा छैन ? प्रश्न छ ती हुतिहाराहरूलाई। यो समाजको नीति नियम जसले राम्ररी बुझेका छ्न, जानेका छन्.. उनैले मात्र समाजको भार वा जिम्मेवारी लिएको राम्रो हुन्छ।
एउटा कस्तो अचम्मको कुरा, हाम्रो समाजमा श्रीमती भन्दा श्रीमान पहिला बिते श्रीमतिले आफ्नो सिँउदोको सिन्दुर र मङ्गलसूत्र अनि गहना, चुरा आदि खोलेर फुटाएर श्रीमानको लासमा हालेर पठाउनु पर्ने समाज हाम्रो । श्रीमान बितेपछि आफ्ना छोरा छोरी पाल्नु घर चलाउनु काम गर्नु बाहिर निस्कियो भने नाना थरी कुरा गरेर जिउँदै मार्नु खोज्छन् हाम्रो समाजका मान्छेहरू।
आफ्नो लागि आफूलाई बुझ्ने जीवन साथी खोजेर बिहा गर्ने सुझाव दिनु पर्नेमा ए त्यो आइमाई त बुड़ा मरेका केही वर्षसम्म पनि बस्नु सकिनन्, कस्तो आइमाई रहिछिन् भनी लाञ्छना लाउने हाम्रो यो समाज । तर के श्रीमानले श्रीमतीको लासमा आफू बिवाहित भएको पहिचान र आफ्नो स्वाभिमान हालेर पठाउँछन् र ? फेरि बुड़ी बितेकी केही दिनमै त्यही समाजले भन्छ “तातो चिसो हेर्ने, नानीहरू सम्हाल्ने एकजना राम्री हेरेर बिहा गर्नुपर्छ” भनी सल्लाह दिन्छन् । किन यस्तो भेदभाव ? किन समाज एकतर्फी भएको ? यो नियम किन श्रीमतीलाई मात्र लागू भएको ? के श्रीमानलाई कुनै नीति नियम लागू हुँदैन र हाम्रो समाजमा?
अचम्म लाग्छ, कसले आवाज उठाउने, विरोध गर्ने कसले, कसले बद्लाउने हाम्रो समाज । सुर्ता लाग्छ, भविष्यमा के हुने हो ? हाम्रो समाजको । तपाईंको गाउँ घरमा पनि यस्ता हुतिहारा पढ़ेलेखेका अनपढ़ मूर्खहरू छन् भने आजैदेखि जागरुक हुनुहोला। समाजका यस्ता तथाकथित चौकिदारहरूसँग सावधान रहनुहोला । यस्तै एकतर्फे सोंच भएका मानिसहरूबाट हाम्रो समाजलाई कसरी बचाउँने, बद्लाउने यो आवाज अब कसले उठाउने, आजै देखि सोंच्नुहोला ।
-नगिता राई लेप्चा सिलिगुडी पश्चिम बंगाल भारत
अस्तु ।
प्रतिक्रिया