“बेच आफैंलाई बेच”

इनेप्लिज २०८० जेठ १८ गते २२:२८ मा प्रकाशित

लक्ष्मी श्रेष्ठ

हे देशका नामर्द हो,
सुनें बालुवाटार बेच्यौ अरे
अब सिंहदरवार पनि बेच
किन चाहियो टुंडीखेल?
त्यो पनि बेच
नारायणहिटी पनि बेचिदेउ
अब सबै राष्ट्रीय निकुंज पनि बेच!

ईमान जमान बेचिसक्यौ
अब आफैंलाई बेच
लाज घिन केही छैन
हसुर्न पाए पुग्यौ
जनता मार्या पैसाले
डीनर र लन्च भन्दै
तारे होटेल धाउँदै ठीक छ!

आमाको लाम्टा
चुस्न सम्म चुसी सक्यौ
अब तै तै चोक्टा नै लुछ!
किन बाँकी राख्नु अब
तै तै आमाको मासु पनि
भागबण्डा लगाएर बेच!
के नै बाँकी रह्यो र ?
अब बाबुको घुँडा पनि चुस!

हे प्रभु,
तै तै पशुपति नाथ त छुनै सक्दैनन् जस्तो लाग्थ्यो
जनतालाई थांग्नामा सुताएर दिनमै लुटी पो सकेछन्
दलालहरुले मजदुरलाई खाँडीमा बेचेर भूँडी भरे भन्थें
यी भ्रष्ट,दुष्ट,पापीहरुले बेच्न केही बाँकी नदेख्दा
दाजु-भाईलाई पनि बोका बाख्रा झैं तोलमोल गर्दै
मोलमोलाई संगै कौडीको भाउमा बेचि पो सकेछन्!

लोभ गर्नुको पनि सिमा हुन्छ
कत्ति लोभ गर्छौ दुराचारी हो!
भ्रष्टाचारको कालो कर्तुत
कहिले सम्म टिक्छ ?
कुलेखानी, बोइंग काण्ड, मेलम्ची,पशुपति
सुनकाण्ड अब कहीं कतै कुनै योजना अछुत रहेन
जनताको के कुरा?
अब तिम्रो आफ्नै आत्माले तिमीलाई
नसराप्ने त्यस्तो कुनै क्षण नै भएन!

कमाउनुको पनि हद हुन्छ
कत्ति पैसा चाहियो?
देश र जनता लुटेको पैसाले
स्वास्नी जुवाडे बनिसकी
आधा रातमा ड्राईवरसंग
लर्खराउँदै भित्र पस्छे!
छोरा -छोरी दुर्ब्यसनी
हिरोईन र कोकीन तान्दै
एउटा कुनामा रात छर्लंग पार्छ!

अब आफैं विचार गर नालायक हो
के काम त्यस्तो धनको?
मनको आँखा उघार नामर्द हो
पानी ट्यांकीमा पैसा कुहीसक्यो!
बिदेशी बैंकमा सरकारले
खाता कब्जा गर्ने बेला भैसक्यो!!

आमाको शरिरमा
बाँकी रहेन अब केही
जता बाट नियाले पनि
करंग मात्र देखिने भो!
लाज ढाक्ने
मेची कोशी त छ भन्थें
त्यो पनि सन्धिको नाममा बेचिसकेछौ
अब त आमाको लाज ढाक्न पनि
हम्मे हम्मे पो पर्ने भईसकेछ!
अब त आमाको लाज ढाक्न पनि हम्मे हम्मे पो भैसकेछ!!

लक्ष्मी श्रेष्ठ
सुन्दरीजल, काठमाडौं
हालः न्युयोर्क यु. एस. ए.

प्रतिक्रिया