विराटनगर, १८ जेठ(रासस): कोशी प्रदेश सभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रस्ताव माथिको छलफल समाप्त भएको छ ।
सो प्रस्ताव आर्थिक मामिला तथा योजना मन्त्रीका तर्फबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो सदनमा पेश गर्दा चार जना र आज २९ जनाले सो प्रस्तावमा सहभागी भई आअफ्ना सुझाव तथा प्रतिक्रिया दिनुभएको थियो ।
मुख्यमन्त्री कार्कीले छलफलमा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिँदै प्रदेश सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँले नेपाल विकाशील राष्ट्रबाट विकसित तर्फ गइरहेकाले प्रदेश सरकारले पूर्वाधारका क्षेत्रमा बढी लगानी गर्ने भन्दै सरकारले तीन खम्बे अर्थनीतिलाई आत्मसाथ गर्ने भन्नुभयो ।
उहाँले प्रदेशलाई समृद्ध बनाउन यहाँका सबै सम्भावना र क्षेत्रहरुमा सरकारले योजनावद्ध रुपमा विकास गर्ने भन्दै आजको छलफल जीवन्त भएको प्रतिक्रिया दिनुभयो ।
मुख्यमन्त्री कार्कीले छलफलमा उठेका प्रश्न, जिज्ञासा र सुझावले सरकारले बनाउने वार्षिक नीति तथा कार्यक्रमलाई अझ समृद्ध बनाउन मद्दत गर्ने विश्वास व्यक्त्त गर्दै सरकारले राजस्वको दर होइन दायरा बढाउने कुरामा जोड दिनुभयो ।
उहाँले स्थानीय उत्पादनलाई प्राथमिकता दिएर उत्पादन, उत्पादकत्व बढाई रोजगार र निर्यात बढाउने तथा आयातलाई विस्थापित गर्ने सरकारको योजना रहेको स्पष्ट पार्दै सरकारले चालु खर्च घटाई पूँजीगत खर्च बढाउने योजनामा रहेको धारणा राख्नुभयो ।
प्रदेशलाई समृद्ध बनाउन निजी क्षेत्रलाई सहभागी बनाउने धारणा राख्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो,‘ छलफल र सुझावले सरकारलाई मार्गदर्शन दिन्छ ।’
प्रदेश सभाको अर्को बैठक भोलि ११ बस्ने सभामुख बाबुराम गौतमले बताउनुभयो ।
बिहान ११ बजे देखि सञ्चालन भएको सभामा छलफल पछि ३० मिनटका लागि स्थगन भइ पुनः सञ्चालन भएको थियो ।
प्रतिक्रिया