नेपालमा अब हाइड्रोपावरको क्षेत्रमा लगानी बढ्छ, म निकै उत्साही छु : डा. उपेन्द्र महतो (भिडिओसहित)

इनेप्लिज २०८० जेठ १८ गते २१:५८ मा प्रकाशित

काठमाडौं, १८ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण आर्थिक क्षेत्रको हिसाबले धेरै फलदायी भएको बताएका छन् ।

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग प्राइम टिभीको लागि कुरा गर्दै डा. महतोले प्रधानमन्त्री दाहालको भारत भ्रमणलाई आफूले सकारात्मक पाएको र उत्साही रहेको प्रतिक्रिया दिएका हुन् । पत्रकार धमलाले सुरुवातमै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण कति सफल ? भन्ने प्रश्न तेर्साएका थिए ।

जवाफमा महतोले भने-“मलाई राजनीतिक कुरा त्यति थाहा हुँदैनन् । आर्थिक क्षेत्रको कुरा भन्ने हो भने यो भ्रमण, अहिलेसम्म म धेरैपटक भारत भ्रमणमा आएको छु । नजिकबाट हेरेको छु । तर, यसपालि जुन कुराहरु अगाडि आए, त्यसमा सबभन्दा प्रमुख कुरा १० वर्षमा १० हजार मेगावाट विद्युत भारतले किन्नसक्ने विश्वास दिलाएको छ । यसले नेपालमा अब हाइड्रोपारको क्षेत्रमा लगानी पनि बढ्ने भएको छ। मानिसहरु त्यहाँ उत्साहित पनि भएका छन् । यसलाई मैले ठूलो उपलब्धिको रुपमा मैले लिएको छु । अरु धेरै सम्झौतहरु भएको छ । यो भ्रमणलाई मैले धेरै नै सकारात्मक रुपमा लिएको छु ।”

उनले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा नयाँ सम्झौता नभएको भनेर चर्चा गरिनु गलत भएको बताए । उनले भने,”भारतसँग भएका सम्झौता नयाँ हुन् । हुन त सबै पूराना कुरा हुन्छन् । तर, ती पूराना कुरालाई नयाँ उचाईमा पुर्याउने हो नि । र, अहिले सम्झौताहरुले पनि नयाँ उचाई लिएका छन् । नेपालको सबभन्दा ठूलो पैसाको स्रोत भनेको नै हाईड्रोपावर हो । अब यसलाई बेचेर पैसा ल्याउने हो । अब के छ भने नेपालमा १० हजारभन्दा बढि नै विद्युत उत्पादन हुन्छ । अब लगानीकर्ता नेपाल आउँछन् । किन्ने मान्छे आएपछि, लगानीकर्ता आउने निश्चित् छ नि । नेपालको लागि १० हजार मेगावाट धेरै होईन, त्यो भन्दा पनि धेरै नै हाम्रो क्षमता हो नि । टेक्नोलोजी विकास भैरहेको छ । पैसा घुमिरहेको छ । लगानी सुनिश्चित् भएको ठाउँमा नै लगानी ओइरिन्छ । नेपालमा उत्पादित विजुली किन्ने देश भारत नै हो । निकट भविष्यमा अरु देशले पनि किन्ला तर अहिले भारतबाहेक अर्को देश छैन् । भारतलाई नबेचेर बंग्लादेशलाई बेच्ने कुरा हुँदैन् ।”

उनले नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन र सम्बोधनप्रति आफू सकारात्मक रहेको सुनाए । उनले भने,”आज मैले नेपाली भएर गौरव गरेको छु । दुवै प्रधानमन्त्रीको बडी ल्यांग्वेजले पनि के भन्यो भने दुई देशबीचको सम्बन्ध बलियो अब हुनेभयो । म धेरै उत्साही छु । अब उर्जामा लगानी आउँछ । नेपालीहरु पनि लगानी गर्छन् । उद्योगको भविष्य नै बजारमा निर्भर रहन्छ । हाम्रो सामान विश्वबजारमा लगेर बेचेको भए हामी धेरै पहिले नै धनी हुन्थ्यौं । आजको सम्झौतापछि मलाई विश्वास बढेर आएको छ, कि यो सम्झौता कार्यान्वयन हुन्छ । नेपालले १० हजार मेगावाट विजुली उत्पादन गर्छ । हामी सक्र्छौं । भारतसँग दीर्घकालिन रुपमा पिडिए पनि हुन्छ । अब पञ्चेश्वरको पनि पछि कुरा हुन्छ । सबै कुरा एकैचोटी हुँदैन् । विस्तारै हुने हो ।”

महतोले नेपालको लागि हाइड्रोपावर भनेको लगानीको हिसाबले बल्क भएको सुनाए । उनले थपे-“सबभन्दा ठूलो कुरा बल्कमा पैसा ल्याउने भनेको चाहीँ विजुली नै हो । विद्युत बेचेर सस्तो पैसा नेपालमा आउँछ । अब पिपिए सुरु हुनुपर्यो । सरकार टु सरकार गरेर भनेर हुँदैन् । यसमा निजी क्षेत्रलाइ पनि ठाउँ दिनुपर्छ । नेपालमा लगानी गर्ने ठाउँ नभएर विदेशी आएका छैनन् । नेपालमा लगानी गर्ने सोच बनाएका विदेशी लगानीकर्ताहरु धेरै छन् । उनीहरु यहाँ उत्पादित सामानको बजार नभएर लगानी गर्न नआएका हुन् । अब बेच्न सक्नुपर्यो । किसानलाई प्रोत्साहन गर्नुपर्यो । किसानलाई सस्तोमा पैसा दिनुपर्छ । नेपालप्रतिको माया धेरै छ । हिजोको दिनमा हाम्रो हेल्थसेक्टर राम्रो थिएन । आज त्यो चिन्ता हटेर गएको छ । होटलहरु खुल्दै जान्छन् । नेपालमा प्राकृतिक र अध्यात्मिक शक्ति धेरै छ । संसारका मान्छेहरु नेपाल आउन लालायित छन् । हामीले अब त्यतातिर ध्यान दिनुपर्छ ।”

प्रतिक्रिया