प्रधानमन्त्री भारत प्रस्थान

इनेप्लिज २०८० जेठ १७ गते ११:२३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । 

प्रधानमन्त्री प्रचण्ड सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अपराह्न नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । 

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो नेपाल एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने प्रचण्ड स्थानीय समयअनुसार २ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । प्रधानमन्त्रीको दिल्ली यात्राका लागि नेपाल एयरलाइन्सको विमान प्रयोग गरिएको छ । 

प्रधानमन्त्री प्रचण्डको उच्चस्तरीय भेटवार्ता भने बिहीबारदेखि मात्रै सुरु हुनेछ । सो दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता हुने तय भएको छ । प्रधानमन्त्रीलाई हैदरावाद हाउसमा विशेष समारोहका बीच प्रधानमन्त्री मोदीले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

यस्तै उनले भारतीय बुद्धिजीवी र दलका नेतासँग पनि भेटवार्ता गर्नेछन् । त्यसअघि बुधबार भने प्रधानमन्त्री नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

भारतसँग विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँचचौकीको उद्घाटनलगायत कार्यसूची तय भएको छन्।

यस्तै नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रवर्द्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाई मार्गका बारेमा भ्रमणका क्रममा छलफल हुनेछ ।

प्रतिक्रिया