आधुनिक गीत र अर्चना धख्वाको गीतियात्रा  !!!

इनेप्लिज २०८० जेठ १६ गते २३:३१ मा प्रकाशित

                          

बसन्त श्रेष्ठ ,भर्जिनिया, अमेरिका 

यस युगकै महान लेखक लियो टाल्सटोय ले भनेका छन् । “संगीत आत्माको मौन पुकार हो । शब्दको अपेक्षा ध्वनी सर्बदा धुलोमुलोरहित हुन्छ । त्यसैले संगीत स्वच्छ र पवित्र हुन्छ तर शब्द त एउटा झोला जस्तो हो, जसमा आफ्ना विषाक्त विचार, अश्लील आसय र कुटिल भावनालाई समेत कोच्न सकिन्छ ।”

तसर्थ संगीत एक स्वच्छ, निर्मल र पवित्र हुन्छ । गीत बन्नको लागि शब्द, संगीत र आवाजको जरुरत पर्दछ तब मात्र एउटा गीत बन्छ ।

गीत मानवको उत्पतिसंगै बिकास भएको एक पुरानो सांस्कृतिक उपज हो । मानवका दुख र पीडाका उच्छवास र सुस्केरा नै  आजको गीतको आधुनिक स्वरूप हो । मनका सुखका अनि दुखका भावनालाई ओंठमा ल्याएर गुनगुनाउनु र व्यक्त गर्नु नै गीतको प्रारम्भिक स्वरूप हुन् । त्यसैले गीतले खुशी मात्र होईन अनि दुख पनि बोकेको हुन्छ । किनकी गीत जीवनको लय संगै बहदै जान्छ । खुशीमा गीतका सुस्केरा पनि सुखमय बन्छ भने दुखमा त्यहि गीत नै अश्रुपूर्ण बनेर मन भित्र बस्न जान्छ । 

गीतले मानवको ईतिहास बोकेको हुन्छ । यसले हाम्रो परम्परा, संस्कृति अनि समाजको धरातल प्रष्ट्याई दिन्छ । मानब समाजको बिकाससंगै गीतले पनि आफ्नो स्वरूप बदलेको पाईन्छ ।

भनिन्छ, आज भन्दा पैंतीस हजार बर्ष देखि गीत गाउन शुरु गरिएको हो । तर कसले, कहाँ र कसरी भन्ने यकिन  छैन । 

गीत पहिला कसले गाउन शुरु गर्यो र कहाँ बाट शुरु भयो भन्ने आज सम्म खुल्न सकेको छैन । तर मानिसले संगीतको धुन दुबै हात पड्काएर भनौ ताली बजाएर जन्मेको अनुमान गरिन्छ । गीत मान्छेले ओंठ बाट निस्कने सुसेलीको ध्वनी बाट शब्दमा रुपान्तरित भएको विश्वास गरिन्छ । त्यसै गरि आज भन्दा कैयौं बर्ष पहिले हात पड्काएर, ढुंगाको घर्षण बाट र काठ दाउराको घर्षण बाट उत्पन्न हुने ध्वनीलाई नै संगीतको प्रारम्भ बिन्दु मानिन्छ । त्यसैले गीत संगीतको आदिम इतिहास आज सम्म पनि संसार अनभिज्ञ नै छ ।

सुखमा गीत, दुखमा गीत एक्लै हुँदा गीत अनि समुहमा पनि गीत । यथार्थमा मानव जीवनको नसा नसामा गीत समेटिएको छ । संगीत शक्ति बारेमा एउटा मिथक छ । उहिले तानसेनको दरवारमा मेघ रागको अलाप गाउनथाले पछि आकाशबाट वर्षा सुरु हुन् थाल्थ्यो । आज पनि पश्चिमी मुलुकमा गाईभैंसीबाट अत्यधिक मात्रामा दुध उत्पादन गर्न संगीतको धुन निरन्तर सुनाईदो रहेछ । यस बाट पनि संगीतको शक्ति बुझ्न सकिन्छ ।

गीतले आफ्नो परिवेस र पहिचान पनि खुलाएको हुन्छ । त्यसैको आधारमा यसको बर्गिकरण पनि गरिएको पाईन्छ । लोक गीत, आधुनिक गीत, शास्त्रीय सङ्गीत, प्यारोडी, पप, रक र र्याप आदि केहि संगीतका किसिम हुन् जो गीतमा बर्गिकरण गरिएको हुन्छ । स्थान, उमेर र रुचि अनुसारका गीत फरक फरक हुन्छन । 

पहिले पहिले गाउँघरतिर गाईने गीत लाई गाइने गीत या लोक गीत भन्ने गरिन्थ्यो । तर अचेल सहर बजार जताततै लोक गीतको संगीत बजेको पाईन्छ । पहिले आधुनिक गीत शहर बजारमा मात्र बजाईन्थ्यो भने अचेल गाउँ, सहरबजार सबैतिर यस्ता गीत सुनिन्छ । 

                                                               ( बसन्त श्रेष्ठ )

मान्छेले आफ्नो रुचि, विचार र उमेर अनुसारको पनि फरक फरक स्वादका गीत सुन्न मन पराउँछन । शास्त्रीय संगीतलाई पाका उमेरका मानिसले अत्यधिक मन पराएको पाईन्छ भने पप र रक संगीत युवा जमातले अत्यधिक मन पराएको पाईन्छ। तर, आधुनिक सङ्गीतलाई सबै उमेर समुहले मन पराउँछन ।

यस लेखमा आधुनिक गीतका गीतकार अर्चना धाख्वाको गीत र उनका गीति यात्राको बारेमा प्रकाश पारिएको छ । 

बिगत दुई दशक देखि अमेरिकाको विस्कनसिन राज्यको म्याडिसन सहर लाई कर्मथलो बनाउदै आएकी गीतकार अर्चनाको हाल सम्म बार्ह वटा गीत प्रकाशनमा आईसकेका छन् । चार वटा गीतको भिडियो पनि बनेको छ ।

 सन् १९९८ सालदेखि अमेरिकाको म्याडिसन सहरमा बसोबास गरिरहेकी गीतकार अर्चनाका सबै गीतका संगीतकार श्रीजन श्रेष्ठ । उनका सबै गीत “आर्जन डाईनामिक्स” ब्यानर बाट प्रसारण भएका छन् ।

 सन् २००५ सालमा म्याडिसन शहरमा स्थापना भएको नेपाल अमेरिकी मैत्री संघको ( Nepal American friendship Association) को संस्थापक सदस्य हुन् गीतकार अर्चना धाख्वा। गीतकार अर्चना लामो समय देखि यस संस्था द्वारा नेपाली भाषा, गीत संगीत तथा नृत्य प्रशिक्षण गरईरहेकी छिन । यस बारेमा गीतकार भन्छिन् “ कुनै पनि प्रकारले गीत संगीतमा संलग्न हुन् चाहने प्रतिभा लाई अवसर प्रदान गर्ने हाम्रो चाहना हो” । नाफा द्वारा संचालित नेपाली पाठशालामा उनी निकै पहिले देखि बालबालिकालाई लाई नेपाली भाषाको कक्षा संचालन गरिरहेकी छिन् ।

बुबा देवरत्न धाख्वा र मुमा बिमला धाख्वाको सुपुत्रीका रुपमा काठमाण्डौमा जन्मेकी हुन् उनी । 

                                                      ( गीतकार अर्चना धाख्वा )

उनको अति नै चर्चित गीत “ए मन” हो । जसको संगीत श्रीजन श्रेष्ठले गरेका छन भने गीतको एरेन्जर बुद्ध सायमीले गरेका छन । “ए मन तिमि सुनी सुनी नसुने झैं नगर” गीत एउटा प्रेमिल जीबनको एउटा मर्मस्पर्शी र मिठो लय भएको अत्यधिक मन पराईएको गीत हो । गीतकार धाख्वाका सबै गीतको भिडियो छायांकन पनि भएका छन् । ति सबै नै प्राकृतिक, मनोरम र अति सुन्दर दृश्यले सजिएका छन् । साथै सबै गीतका छायाँकन सुन्दर छन् र मनमोहक छन भन्दा फरक नपर्ला !

मलाई मन पर्ने उनको अर्को गीत हो “ तिम्रो गीत सुमधुर मैले नगाए कसले गाउने” । यो गीत पनि अत्यधिक श्रोताले मन पराएको प्रेमिल गीत हो । यस गीतको सङ्गीत सार्है नै मर्मस्पर्शी र भावविभोर बनाउन सामर्थ राख्ने एउटा सशक्त गीत हो भन्दा फरक नपर्ला ।

त्यसो त गीतकार अर्चनाले आफ्नो मातृभाषामा पनि गीत रचना गरेकी छिन ।  ति गीत पनि आफ्नो नेवारी समुदायमा अत्यन्तै लोकप्रिय भएका छन् । त्यो गीत हो “ स्वे  छकन मखनि लुमन्ती जक हे जुईन” । यस गीतको भिडियोमा गीतकार आफैले मोड्लिंग पनि गरेकी छिन ।

भर्जिनिया, अमेरिका 

(रातोपाटिमा प्रथम प्रकाशित)

प्रतिक्रिया