कोशी प्रदेश सरकारद्वारा पहिचानवादीलाई वार्तामा आउन आह्वान

इनेप्लिज २०८० जेठ १६ गते २१:५५ मा प्रकाशित

विराटनगर,१६ जेठ । कोशी प्रदेश सरकारले प्रदेशको नामकरणपछि असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका पहिचानवादीहरूलाई वार्तामा आउन आज आह्वान गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारी मन्त्री तथा प्रवक्ता भक्ति सिटौलाले आज प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्ताको लागि आव्हान गर्नु भएको हो ।

वक्तव्यमा नामकरणको बारेमा रहेका आफ्ना विमतिहरूलाई शान्तिपूर्णत राख्न अनुरोध गर्दै पूर्वघोषित विरोधका कार्यक्रमहरूलाई स्थगन गरी वार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई आह्वान गर्नु भएको छ।

नामकरणका विषय कुनै दल वा सरकारकारको भन्दा पनि सदस्यहरूको आफ्नो प्रदेशको नामकरण आफैं गर्न पाउने अधिकारको प्रयोग गर्दै नेपालको संविधानको धारा २९५(२) अनुसार कोशी नामकरण रहन पुगेको उल्लेख छ ।

नागरिक चाहाना, चासो, अपेक्षा र जिज्ञासालाई मध्यनजर गर्दै गत २०७९ मङ्सिर ४ गते सम्पन्न प्रदेश सभाको निर्वाचनको जनादेशको आधारमा तत्कालीन प्रदेश नं १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका राजनीतिक दल, दलका नेता तथा प्रदेशसभा सदस्यहरूको अथक प्रयासबाट प्रदेशसभाका ९० प्रतिशत सदस्यहरूको समर्थनमा प्रदेशको नामकरण भएको उल्लेख गरिएको छ ।

यसअघि सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा आन्दोलनरत पक्षलाई बार्तामा आउन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया