मेरो सेतो सारी

इनेप्लिज २०८० जेठ ११ गते २२:३८ मा प्रकाशित

सुनिता बस्नेत थापा

सोर्ह सत्रको हुंदा पहिरिएको
ति अनभिज्ञ मनहरु
धरमराएका पाइलाहरु
अथाह कौतुहलताहरु
जिजिबिसाका रहरहरु
जलित मनका आर्तनादहरु
अनायासै चिम्लिएका ऑखाहरु
हरेश खाएर निस्किएका सुस्केराहरु
सबै सबै
यहि सेतो सारीमा मुस्काएका छन्
कति रगतका टाटा लागे
कति बान्ताका गन्ध बोके
तापनि सधैं सधैं चम्किरहने
समर्पणको साबुनले पखालेको
मेरो सेतो सारी
भोकै पेट हुंदा नि उनलाई अघाएको
जागराम बसि घाउमा मलम लागाएको
आफ्नो गाथा सबै भुलि
उनको नै माथाको ज्वरो हटाएको
घरि घरि उध्रिन लाग्दा
आशा र विशेवासले सिलाएको
उनको मुहारमा मुस्कान देख्दा
खिसिक्क भित्र भित्रै मुस्काएको
मेरो सेतो सारी

सुनिता बस्नेत थापा

प्रतिक्रिया