लघुकथा : साहास ।

विवेक शर्मा गौतम हाल टोखा -३ काठमाडौं । २०८० जेठ ११ गते २१:५८ मा प्रकाशित

उसले विदेशी भूमिको युद्धमा पुनर्जन्म पायो । ऊ स्वदेश फर्क्यो । जन्म भूमिमा अझै ख्याति कमाउने सोच्यो।

ख्यातिका अनेकौं विधा मध्य हिमाल चढ्ने बाटो रोज्यो । उसले साधनहरु जुटाउन थाल्यो। पहिले उसले फलामका खुट्टा ल्यायो । पैतलामा काँडै काँडा भएका फलामे खुटा लगायो । ऊ आधुनिक रोबट झै देखियो । तिखो गैंती समायो | ऊ प्राचीन मानिस झै देखियो । निकै न्यानो जाकेट र कालो चस्मा लगायो । ऊ सोलुको शेर्पा झै देखियो । ऊ आफ्नो गाइड संग उकालो लाग्यो। उसका नक्कली पाइलाहरुले गाइडका सक्कली खुट्टालाई चुनौति दिए । उसले गैंती कोप्दै पाइला सार्दै सेताम्य भीरमा उक्लिन लाग्यो । अगाडि गाइडले डोरी बाँध्दै हिड्यो । ऊ डोरीको सहायताले गगन चुम्बी भिरालोमा उक्लीदै गयो । त्यसै समयमा उसको नजिकै छेउबाट सोरोरोरो… गर्दै हिउँको पैरो झऱ्यो । उसको मन सिरिङ्ग र जिरिंग भयो । उसको इच्छा शक्ति र अदम्य शाहसले पैरो पन्छियो । उसको अठोट र दृढता अरु आरोहि भन्दा पृथक रह्यो । फर्केर आउने वा नआउने सोच्यो | छोरो र परिवार सम्झ्यो | ऊ भाबुक बनेर आँखा बाट धरधरी आँसु निकाल्यो | आँसु चट्टान भए | उसको अन्तस्करणमा सहासको अंकुरण पलायो | सक्कली र नक्कली पाइलाहरुको हिम्मतका लागि नयाँ दृष्टान्त बन्यो । नेपालको झण्डा फहराउदै, ऊ सर्वोच्च शिखरमा ठिंग उभियो ।

उसको नाम र काम आख्यात भयो । उसका पाइलाहरु नक्कलीबाट सक्कलीमा परिवर्तन भएको संसारले देख्यो ।

प्रतिक्रिया