वीरेन्द्र रावल
बझाङ÷ हरेक बर्ष जेठको पहिलो साता देखिनै बझाङ जिल्लाका उत्तरी भेगका स्कुले बालबालिकाहरु बिधालय होईन, किरामा संसार खौज्न हिमाल चढ्ने गरेका छन् ।
नगदे आर्थिक स्रोतका रुपमा हरेक बर्ष जेठ देखि असार मसान्त सम्म बझाका माथिल्लो भेगका जनताको प्रमूख आधारनै यार्सा गुम्बा हुने गरेको छ ।
यसैक्रममा साइपाल गाउँपालिकाभित्रका विद्यालय जेठ १ गतेदेखि असारसम्मका लागि बन्द गरिएका छन् । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर जाने भएपछि विद्यालय बन्द गरिएका हुन् ।
अधिकांश विद्यार्थी यार्सा सङ्कलन गर्न लेकतिर हिँडेपछि विद्यालय बन्द गर्नुपरेको धलौन माविका सहायक प्रधानाध्यापक झलक धामीले बताए । उत्तरी भेगमा पर्ने काँडा, सुर्मा, छविसपाथीभेरा, तल्कोट, दुर्गाथली र मष्टा गाउँपालिका र बुंगल नगरपालिकाअन्तर्गत पर्ने अधिकांश विद्यालय यतिखेर विद्यार्थीहरु यार्सा सङ्कलनमा गएपछि बन्द गरे जस्तै भएका छन् ।
उत्तरी भेगमा अवस्थित दूरदराजका ती विद्यालय बर्सेनि तीन महिना बन्द हुने गरे पनि यो वर्ष भने पालिकाले निर्णय गरेर हिउँदे बिदाको सट्टामा एक महिना बिदा दिइएको साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले बताए । उनले भने, वैशाख १५ गतेसम्म विद्यालयमा भर्ना भई यार्सा सङ्कलन गर्न लेकतिर हिँडेका विद्यार्थी असारमा मात्र फर्कने गर्दछन् ।
आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय पढ्ने बालबालिका यार्सा सङ्कलन गरी आर्थिक उपार्जन गर्ने गर्दछन् । अघिल्ला वर्षमा विद्यार्थीहरू तीन महिना विद्यालय उपस्थित नभएपछि पाठ्यक्रमको पढाइ अधुरो रहने भएकाले विद्यार्थीले परीक्षामा कम अङ्क ल्याउने गरेका शिक्षकहरू बताउँछन् ।
यस भेगमा १० वर्षका बालबालिकादेखि ६० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकसमेत यार्सा सङ्कलन गर्न लेकतिर जाने गर्दछन् । ज्येष्ठ नागरिकभन्दा बालबालिकाले नै यार्सा बढी टिप्ने भएकाले यार्सा टिप्ने समयमा अभिभावकले आफ्ना बालबालिकालाई समेत यार्सा टिप्न लेकतिर लिने गरेको साइपाल गाउँपालिकाका स्थानीयवासी दीपक बोहराले बताए ।
बझाङको साइपाल गाउँपालिकामा यार्सा सङ्कलनकर्ताबाट रु सात लाख नौ हजार राजस्व सङ्कलन भएको छ । यही वैशाख १० गतेदेखि यार्सा सङ्कलनका लागि बन खुल्ला गरिएको थियो । सोही दिनदेखि आजसम्म सात सय ५२ जना साइपाल गाउँपालिकामा यार्सा सङ्कलनका लागि पाटन प्रवेश गरेको साइपाल गाउँपालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया