माओवादीको प्रष्टीकरण- लडाकु शिविरमा कुनै घोटाला भएको छैन

इनेप्लिज २०८० जेठ ७ गते ११:१७ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले लडाकु शिविरमा घोटाला नभएको प्रष्ट्याएको छ। लडाकू शिविर व्यवस्थापनमा भएको खर्चको महालेखा परीक्षकको कार्यलयबाट समपरीक्षण भएकोले त्यसमा कुनै घोटाला नभएको बताएको छ।

समसामयिक परिस्थितिबारे पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष कृष्णबहादुर महराले झण्डै ६ वर्ष माओवादी सेनाको व्यवस्थापन तथा समायोजनमा राज्यले जिम्मा लिएको बताए ।

उनले एक विज्ञप्ति जारी गर्दै भने, ‘यसका दुईटा पक्ष छन् । पहिलो ५ महिना शान्ति प्रकृयालाई सार्थक पार्न माओवादी सेनाको रेखदेख र व्यवस्थापनको निमित्त करिब ४६ करोड पेस्की लिई व्यवस्थापन गरिएकोमा शान्ति प्रकृयाको यथार्थ र विशिष्ठ परिस्थितिलाई मध्यनजर गरी सो रकम अनुदानमा परिणत गर्न संसदको सार्वजनिक लेखा समिति, शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सिफारिसमा नेपाल सरकारको २०६९ बैशाख १४ को निर्णय समेतलाई आधार बनाई महालेखा परीक्षकले २०६९ जेठ १९ गते सो रकम खर्चको समर्थन, फरछ्यौट र मिनाहा गरी समपरीक्षणको जानकारी पत्र शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालय सिंहदरवारमा पठाएको छ ।

यस्तै, महालेखा परीक्षक कार्यालयको बार्षिक प्रतिवेदन २०६९ पेज नं. २५९ अनुसार उक्त वेरुजुको समपरीक्षण सार्वजनिक भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनेका छन्, ‘दोस्रो, ७ मुख्य शिविर र २१ सहायक शिविरमा शिविर व्यवस्थापन रकम शिविर व्यवस्थापन कार्यालय मार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएको व्यहोरा जानकारी गराउदछौं ।

प्रतिक्रिया