काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० दलको बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमको विषयमा ब्रिफिङ गरेका छन् ।
प्रचण्डले बैठकमा सरकारको नीति तथा कार्यक्रम कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर ल्याउन लागेको ब्रिफिङ गरेको माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
वर्तमान आर्थिक स्थितिलाई सन्तुलनमा ल्याउने गरी नीति तथा कार्यक्रम ल्याउने पनि प्रचण्डले बैठकमा जानकारी गराएको छ ।
‘सरकारले आर्थिक वर्षको बजेटका लागि आवश्यक पर्ने नीति तथा कार्यक्रम ल्याउँदै छ। समग्र आर्थिक अवस्थालाई अघि बढाउन प्राथमिकतामा कृषि र पर्यटनलाई जोड दिने भन्ने भएको छ । उनले देशमा रोजगारी सिर्जना गर्ने तथा युवाशक्तिलाई विदेश जानबाट रोक्ने रणनीतिका साथ नीति तथा कार्यक्रम ल्याउन नेताहरुले सरकारलाई सुझाव दिएको पनि जानकारी दिए ।
यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नीति तथा कार्यक्रम र मुलुकको अर्थ व्यवस्थाबारेमा बैठकमा छलफल भएको बताए । उनले बैठकमा केही नेताहरुले सुझाव दिएको र समय अभावका कारण लिखित रुपमै दिन पनि प्रधानमन्त्रीले आग्रह गरेको बताए । सबैको सुझावलाई समेटेर सरकारको नीति तथा कार्यक्रम ल्याइने प्रचण्डले बैठकमा जानकारी गराएका छन् ।
सरकारले आगामी आर्थिक वर्षको बजेटका नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउँदै छ ।
प्रतिक्रिया