१४ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी)को प्रेस विज्ञप्ति

इनेप्लिज २०८० वैशाख २८ गते १०:२६ मा प्रकाशित

सर्वप्रथम हाम्रो निमन्त्रणालाई स्वीकार गरी यस पत्रकार सम्मेलनमा उपस्थित हुनुभएकोमा सम्पूर्ण सञ्चारकर्मी साथीहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।

कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा दक्षिण कोरियाको सोलमा सन् २०२४ मा हुने १४ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी)को विषयमा तपाईहरुलाई जानकारी दिलाउन यहाँ उपस्थित भएको छु । आइओएफटिसीको प्रमुख कार्यालय अमेरिकाको पोर्टल्यान्डमा रहेको छ । १४ औँ संस्करणको आयोजना गर्ने जिम्मेवारी सोललाई दिएकोमा आइओएफटिसीलाई धन्यवाद दिँदै खुशी पनि व्यक्त गर्न चाहन्छु । यस प्रतियोगितामा मसँगै ग्रान्डमास्टर डा. लि पनि कार्यक्रम संयोजकको भूमिकामा रहनुहुनेछ ।

गत मार्चमा आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जन तथा महासचिव केरेन ब्लाकलेजले दक्षिण कोरियाको सोल शहरलाई आयोजनाको जिम्मेवारीस्वरुप आइओएफटिसी झन्डा हस्तान्तरण गर्नुभएको हो ।

अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपको आयोजना गर्दै आएको छ । आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । जसअनुसार आइओएफटिसीको आप्mनो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत र हङकङ र अमेरिकाकै मिचिगनमा एक–एक संस्करणको आयोजना भइसकेको जानकारी गराउन चाहन्छु ।

दक्षिण कोरियाको सोलमा इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपको १४ औँ संस्करणको आयोजना हुन लागेको जानकारी दिँदा मलाई अपार खुशीको अनुभव भइरहेको छ । दक्षिण कोरियामा पहिलो पटक इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीप सञ्चालन हुन लागेको हो । दुई वर्षअघि मिचिगनमा सफलतापूर्वक आइओएफटिसी समपन्न भइसकेको यहाँहरुलाई जानकारी नै छ । दक्षिण कोरियाको सोलमा हुने १४ औँ संस्करण अझ भव्य बनाउने लक्ष्य हामीले लिएका छौँ ।

यस प्रतियोगितामा नेपाल, दक्षिण कोरिया,अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चिन, मेक्सिकोलगायतका राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगितामा करीब सात सयभन्दा बढी खेलाडीले भाग लिने अपेक्षा गरेका छौँ । इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपमा सिनियर पुरुष र महिलाको समान आठ, आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी, जुनियरतर्फ महिला र पुरुष गरी दस–दस तौल समूह र क्याडेट वर्गमा दस–दस तौल समूहमा खेलाइनेछ । सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि सामेल गरेका छौँ ।

प्रतियोगितामा कूल ६५ स्वर्ण पदक, ६५ रजत पदक र १३० काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्टमा पनि पदक दिइनेछ ।

अन्तमा हाम्रो निमन्त्रणालाई स्वीकार गरी उपस्थिति हुनुहुने सम्पूर्ण सञ्चारकर्मी साथीहरुमा हार्दिक आभार व्यक्त गर्दछौँ ।

मिति २०७९।०१।२८

राजु क्षेत्री
संयोजक
पूर्व अध्यक्ष एनआरएन दक्षिण कोरिया, अन्तर्राष्ट्रिय खेलाडी तथा अन्तर्राष्ट्रिय रेफ्री

प्रतिक्रिया