ढाकाकुमार श्रेष्ठको रिटमा अल्पकालीन आदेश, तत्काल सांसद पद नजाने

इनेप्लिज २०८० वैशाख २५ गते २२:३२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फबाट निर्वाचित सांसद ढाकाकुमार श्रेष्ठलाई पदमुक्त गरेको सम्बन्धमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

श्रेष्ठले स्वास्थ्य मन्त्री बन्न सभापति रवि लामिछानेको ‘कोर टिम’का लागि दुई करोड रुपैयाँ बुझाउने पर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मागेको अडियो सार्वजनिक भएको थियो।

दुईबीचको उक्त फोनसंवाद बाहिरिएपछि रास्वपाले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो।

सांसद् पदबाट हटाइएपछि उनले पार्टीको केन्द्रीय आचरण तथा अनुशासन समितिलगायतलाई विपक्षी बनाएर मुद्दा हालेका थिए। सर्वोच्चले दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ।

उनका पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी हुनुका साथै अन्तरिम आदेशका लागि सर्वोच्चले छलफलमा बोलाएको हो। यसकारण उनको सांसद पद तत्कालका नजाने भएको छ। 

प्रतिक्रिया