३५ वर्ष बिताइएछ नेपाली पत्रकारितामा । यो बिचमा छापा पत्रकारिता देखी रेडियो पत्रकारिता, टेलिभिजन पत्रकारिता हुँदै अनलाइन पत्रकारिताको पनि अनुभव सँगालियो । राष्ट्रिय स्तरका कैयौँ दैनिक देखी साप्ताहिक पत्र पत्रिका सम्म संवाददाता देखी सम्पादक रहेर काम गरेको देखी आफै सम्पादक प्रकाशक भएर सत्र वर्ष लगातार निष्पक्ष राष्ट्रिय साप्ताहिकको प्रकाशन र अमेरिका बस्न थाले पछि विगत १५ वर्ष यता नेपाल मदर डट कम को नियमित प्रकाशन सहज कुरा पक्कै थिएनन र छैनन ।
रेडियो नेपाल र नेपाल टेलिभिजनमा कार्यक्रम निर्माता, निर्देशक र सञ्चालकका रूपमा पनि लामो समय सम्म काम गर्न पाउनु मेरो सौभाग्य थियो नै । अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसी लाई पनि चार वर्ष भन्दा बढी सहयोग गर्न पाउनु मेरो लागि पत्रकारितामा त्यो बेला राम्रै उपलब्धि थियो ।
अनेक उतार चढाव हुँदै अहिले अमेरिकामा छु तर पत्रकारिता मेरो नशाबाट उत्रिन मानिरहेको छैन । सम्भबत उत्रिन पनि सक्दैन होला । गीत सङ्गीत र कलाकारितामा सक्रिय रहँदा र मेरा सफलताका दिनमा पनि मैले पत्रकारिता लाई कहिल्यै पाखा लगाइन ।
आज विश्व प्रेस स्वतन्त्रता दिवसको विशेष दिनमा पत्रकारिता क्षेत्रका मेरा सुरुवाती दिन देखी पछि सम्म मलाई साथ दिने, सहयोग गर्ने, पथ प्रदर्शन गर्ने मेरा पत्रकारिता क्षेत्रका गुरुहरू, अग्रजहरू बालकृष्ण चापागाईँ, विनय कसजु, बसन्तध्वज जोशी, अर्जुन ज्ञवाली, नवराज सुबेदी, ऋषि राम भुसाल, राजन कार्की, पुरुषोत्तम दाहाल, होमनाथ दाहाल, गोपाल दाश श्रेष्ठ, गोविन्द वियोगी, मुकुन्द राज आचार्य, श्रीराम पौडेल, दुर्गानाथ शर्मा, सोमनाथ घिमिरे, चन्द्रलाल झा, मणि राणाज्यूहरूमा सादर सम्मान व्यक्त गर्दै स्मरण गर्न चाहन्छु ।
संसार भर पत्रकारिताको कर्तव्य पथमा लम्किँदै गर्दा ज्यान गुमाउनुहुने देखी यो पेशालाई मर्यादापूर्ण तरिकाले अपनाउनुहुने सबै पत्रकारहरूमा समेत सम्मान र विश्व प्रेस स्वतन्त्रता दिवसको विशेष दिनमा सादर शुभकामना व्यक्त गर्दछु । नेपालमा पत्रकारिता बाँदरका हातमा नरिवल भयो भन्ने व्यापक जन गुनासो छ यस तर्फ पनि सबै पत्रकार मित्रहरूको ध्यानाकर्षण गराउँछु । धन्यवाद । – रामप्रसाद खनाल
पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।
प्रतिक्रिया