विराटनगर,२० वैशाख(रासस): कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको भरोसा र विश्वास बोकेको पत्रकारिता स्वच्छ हुनु पर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घद्वारा आज यहाँ आयोजित‘विश्व प्रेस स्वतन्त्रता दिवस एवं अग्रज पत्रकार सम्मान–२०८०’को उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मुख्यमन्त्री कार्कीले कलम देखि बन्दुक डराउने पत्रकारिताबाट शाषक पनि डराउने भन्दै प्रदेश सरकार पाँच वर्षको अवधिमा राम्रो काम गरेको कुरामा जोड दिनुभयो ।
उहाँले गाउँघरमै सिंहदरवारको अनुभूति भइरहेको अवस्थामा प्रदेश संरचना खारेज हुनु पर्ने विभित्र कोणबाट उठिरहेको आवाज न्यायसम्मत नभएको भन्दै कोशी प्रदेशमा पाँच वर्षमा ९०० किमी बाटो निर्माण भएको, भवन, कल्भर्ट जस्तै विद्यालय व्यवस्थापन एवं सुधारको क्षेत्रमा धेरै काम भएको जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीले संविधान र कानून सम्मत प्रदेशको नाम कोशी भएको चर्चा गर्दै प्रदेशको नाम परिवर्तन गर्न संविधान र कानूनको कै बाटो पहिल्याउनु पर्ने धारणा राख्नुभयो ।
उहाँले कोशी प्रदेश नामकरणको विरुद्ध भएको प्रर्दशनी शान्तिपूर्वक नभई हिंसात्मक भएको टिप्पणी गर्दै आफ्ना जायज मागलाई शान्तिपूर्वक निकै राख्न सुझाव दिनुभयो ।
कोशी प्रदेश सरकारले प्रस्तुत गर्ने आगामी वार्षिक बजेटको निम्ति तयार पारिने नीति तथा कार्यक्रम उचित सुझाव दिन सञ्चारकर्मीहरुलाई आग्रह पनि गर्नुभयो ।
विराटनगर महानगरपालिकाका कावा प्रमुख शिल्पा निराला कार्कीले पत्रकारहरुले नगर क्षेत्रको विकासमा आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले जनप्रतिनिधिको कमी कमजोरीलाई औँल्याई दिन आग्रह गर्दै सत्य र तथ्यको आधारमा समाचार सम्प्रेषण भएमा पत्रकारिता क्षेत्रको गरिमा अझ बढ्ने विश्वास व्यक्त्त गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका सभापति सञ्जीव खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा अग्रज पत्रकार मोहन भण्डारी, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका संयोजक लीलाबल्लभ घिमिरे, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्का, मोरङ शाखाकी उपाध्यक्ष तारा आचार्यले पनि बोल्नु भएको थियो ।
कार्यक्रममा मोरङलाई कार्यक्षेत्र बनाउने ६० उमेर पुगेका १२ जना अग्रज पत्रकार मिथिला उपाध्याय, देवी पन्थी, दुर्गाप्रसाद भट्टराई, मोहन भण्डारी, शिवबहादुर कार्की, तेजेन्द्र भण्डारी, प्रभाषचन्द्र झा, रीतुवर्ण पराजुली, दुर्गाप्रसाद खतिवडा, केशवबहादुर कार्की, दिनेश श्रेष्ठ र दीपक दाहाललाई सम्मान पनि गरिएको थियो ।
प्रतिक्रिया