रविन्द्र मिश्रलाई धमलाको प्रश्न– ‘पूर्वराजाले परिस्थिति अनुकूल बनाउन दुलोबाट दाउ हेरिराखेको हो ?’

इनेप्लिज २०८० वैशाख २० गते १:२८ मा प्रकाशित

काठमाडौं, १९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले माओवादी केन्द्र र एमालेलाई निभ्न दागेको दियोको संज्ञा दिएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली निभ्न लागेको दियोझैं भर्भराउन थालेको टिप्पणी गरेका हुन् । ‘निभ्न लागेको दियो अलिबढि भर्भराउँछ । उहाँहरु (प्रचण्ड–ओली) अलिबढि भर्भराउन थाल्नु भएको छ,’– मिश्रले भने ।

साथै, पूर्वराजाले दाउ हेरेर मात्रै राजसंस्था नर्फकने उनको भनाई छ । धमलाको ‘पूर्वराजाले परिस्थिति अनुकूल बनाउन दुलोबाट दाउ हेरिराखेको हो ?’ भन्ने प्रश्नमा उनले भने– ‘जनताले दाउ हेरे भनेमात्रै राजसंस्था स्थापित हुने हो । राजाले दाउ हेरेर राजसंस्था स्थापित हुन्छ ? उहाँ (ओली) को पूर्वराजाप्रतिको कटाक्ष उर्लिदो खहरे हो । यो अलिअलि गड्गडाउँछ । यो शान्त हुनैपर्छ । देशमा जातीय संवेदनशीलता एकदमै बढेर गएको छ । माओवादी द्वन्द्वले जातजातिको भावमा विद्रेष फैलाइदियो ।’

राप्रपाको एजेण्डामा यो देश विस्तारै अनुकूलताको दिशातर्फ अग्रसर भइरहेको उनको दाबी छ । एमाले अध्यक्ष ओली २०६२ ०६३ साल पहिला राजाको वरिपरी रहेको सम्झाउन पर्ने बेला भएको उनको दाबी छ । ओलीमाथि लागेको हत्या, हिंसाको आरोपलाई तत्कालीन राजाले माफी दिएकै कारण अहिले उनी राजनीतिको यो स्थानमा रहेको उनको भनाई छ ।

‘उहाँ (ओली) लाई के सम्झउन पर्ने भयो भने, २०६२ ६३ साल भन्दा अगाडि उहाँ स्वयं राजसंस्थाकै वरिपरी हुनुहुन्थ्यो । उहाँको जतिबेला झापा काण्ड भयो,त्यो पछि उहाँमाथि हत्या, हिंसाको आरोप लागे । राजा विरेन्द्रबाट माफी पाएर नै उहाँ अहिलेको राजनीतिमा हुनुहुन्छ । उहाँले राजसंस्था मान्नेहरु सबै मूर्ख र फटाहा हुन् भन्नुभयो । बोल्नुभन्दा अगाडि सोच्नु पर्दैन ?,’– उनले प्रश्न गरे ।

देशमा जनमत संग्रह भएको खण्डमा राजतन्त्रको पक्षमा बढि भोट आउने उनको दाबी छ । देशको निकासको अन्तिम विकल्प राजतन्त्र भन्दा अर्को नरहेकोसमेत उनले बताए । ‘उहाँ प्रमुख प्रतिपक्षी दल र सत्तारुढ दल मिलेर यो देशमा एकचोटी जनमत संग्रह गर्दिउन्, आँट छ भने । अनी हेरौं न कसको पक्षमा बढि भोट आउँदो रहेछ ? जनमत संग्रह गर्दाखेरी पार्टीको ह्वीप नलगाई गर्ने उहाँहरुमा आँट छ त ?’– उनले प्रश्न गरे ।

अहिले नेपाल हरेको कोणबाट बस्न नहुने देशको रुपमा परिणत भएको उनको भनाई छ । अहिलेका राजनीतिक शक्तिहरुले यो देशलाई सम्हाल्न नसकेको उनले बताए । अहिले युवाहरु देशमा बस्न नचाहने अवस्था आएको उनले बताए ।

प्रतिक्रिया