इन्जाद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना

इनेप्लिज २०८० वैशाख १९ गते २३:४३ मा प्रकाशित

वाशिंगटन डिसी । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल इन्जाले संसारभरी छरिएर रहेका सञ्चारकर्मीहरु तथा प्रेस र अभिब्यक्ति स्वतन्त्रताप्रेमी सवैलाई शुभकामना ब्यक्त गरेको छ ।

विश्वमा सरकारहरु प्रेस जगतप्रति अनुदार हुंदा एकातिर जनताको सूचना पाउने मौलिक हक कुन्ठित भैरहेको छ भने अर्कोतिर चौथो अंगको रुपमा रहेको संचारले निर्वाधरुपमा अभिब्यक्ति स्वतन्त्रता मार्फत समाजलाई योगदान दिन नसकेको हुंदा यतातर्फ ईन्जाले विश्वका सरकारहरुको ध्यानाकर्षण गराएको छ ।

युनेस्कोले यस पटक मे २-५ सम्म अमेरिकाको न्यूयोर्कमा “भविष्यको अधिकार सुनिश्चितता : मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता” भन्ने नारा सहित प्रेस स्वतन्त्रता दिवस मनाइरहेको छ । यस सभामा संसार भरिका पत्रकारहरु, संचार सम्बन्धी संस्थाहरु, अभियन्ताहरु साथै सरकारी प्रतिनिधिहरुको पनि सहभागिता रहेको छ।

संचार जगतको स्वतन्त्रता, पत्रकारमाथिको आक्रमण विरोधी गतिविधिहरु र मिडियाको भविष्यबारे युनेस्को र संसारका संचार सम्बद्ध संस्थाहरुले चलाउने अभियानहरुमा ईन्जाले ऐक्यबद्धता जनाएको छ ।

इन्जाले शुभकामना सन्देशमा अगाडि भनेको छ पत्रकारहरूको सुरक्षा र पेशागत हकहितको लागि सरकार, राजनीतिक पक्ष र समाजका हरेक क्षेत्रबाट सहयोग हुन जरुरी छ ।

पेशागत कामको शिलसिलामा युक्रेन लगायत संसार भरि विभिन्न ठाउंमा भएका द्वन्दहरुमा अनाहकमा मारिएका रिपोर्टरहरु र अन्य विविध कारणले मारिएका संचारकर्मीप्रति हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै इन्जाले पत्रकारहरुको सुरक्षामा ध्यान दिन सरोकारवालाहरुलाई कडा अनुरोध गरेको छ ।

साथै संचार जगतलाई पनि समाजमा मर्यादित र जिम्मेदार भएर भूमिका निर्वाह गर्न इन्जाले आग्रह गरेको छ ।

भवदीय,
गुणराज लुइटेल,
अध्यक्ष, नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल, इन्जा

मे ३ २०२३, अमेरिका।

प्रतिक्रिया