विराटनगर, १८ वैशाख । नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता संघर्ष समाज र नागरिक श–शक्तिकरणका लागि जागरण अभियान वीच आज यहाँ पार्टी एकता घोषणा सभाको आयोजना गरियो ।
उन्मुक्ति पार्टीकी राष्ट्रिय अध्यक्ष भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरी मञ्चका अध्यक्ष ज्ञानबहादुर गुरुङ,समाजका संयोजक त्रिनारायण राजवंशी , अध्यक्ष दिनेशराज राजवंशी र अभियानका विनोद पाण्डेद्वारा १० बुँदे पार्टी एकतामा हस्ताक्षर गर्नु भएको छ ।
भूमि व्यवस्था मन्त्री चौधरीले एकता घोषणा सभाको उद्घाटन गर्दै यो पार्टी दमनको विरुद्धमा जन्मिएको बताउनु भएको छ।
उहाँले विगतमा सुदूरपश्चिमको टिकापुरमा भएको घटना मुलुकको अन्य ठाउँमा नहोस भन्नका लागि हामी एकजुट हनुपर्नेमा जोड दिनु भयो ।
मन्त्री चौधरीले राजबन्दी रिहाई र जनताको विकासप्रतिको चाहना पुरा गर्न निर्वाचनमा प्रतिस्पर्धा गरि सदन र सरकारमा सहभागी भएको प्रष्ट पार्नु भयो ।
उहाँले एक सय दिन अगाडि जन्मिएको यो पार्टीलाई जनताले अपार विश्वासका साथ ९९ जनप्रतिनिधि निर्वाचित गराउन सफल बनाएकोमा धन्यवाद दिनु भयो ।
उहाँले कोही कसैले यो पार्टीलाई पहाडी क्षेत्रमा थारुको पार्टी तथा थारु क्षेत्रमा पहाडी पार्टी भन्ने आरोपमा लगाउने गरेकोमा त्यो सत्यता नभएको प्रष्ट पादै यो समावेशी पार्टी हो र यसमा सबै जना अटाइ रहेको बताउनु भयो ।
कार्यक्रममा सङ्घीय लोकतान्त्रिक मञ्चका अध्यक्ष ज्ञानबहादुर गुरुङ, उपाध्यक्ष एवि पण्डाक लिम्वु,उन्मुक्ति पार्टीका उपाध्यक्ष दामोदर पण्डित,कोचिला संघर्ष समितिका अध्यक्ष चौधरी लगायतकाले पहिचानवादी एकजुट भई उत्पीडन, विभेद र पछाडि परेका जातजातिलाई माथि उठाउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया