क्यानडाको संसद भबनमा लाखे नाच, कुमारी, पंचेबाजा तथा लोकधून, नृत्य सहित नवबर्ष  शुभकामना कार्यक्रम

इनेप्लिज २०८० वैशाख १५ गते १०:४४ मा प्रकाशित

ओटावा, नेपाली समुदायले नयाँ बर्ष २०८०को उपलक्षमा ओटावा स्थित क्यानडाको संसद भबनमा बिबिध कार्यक्रम सहित मनाइएको छ। क्यानडामा नेपाली समुदायको इतिहासमा नयाँ बर्षको कार्यक्रम संसद भित्र मनाइएको यो नै पहिलो पटक हो। सो कार्यक्रमको आयोजना डफरीन- क्यालेडन क्षेत्रका सांसद माननिय कायल सीबाकले आयोजना गर्नु भएको हो भने यसको संयोजन फेडरेसन अफ क्यानडा नेपाल च्याम्बर अफ कमर्सले गरेको थियो । नेपाल तथा क्यानडाको राष्ट्रिय गान बाट शुरु गरिएको उक्त समारोहको क्यानडाका लागि नेपाली राजदूत महामहिम भृगु ढुंगाना तथा संसदमा प्रतिपक्ष दलका नेता माननिय पियरे पोलीएभले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरि उदघाटन गरिएको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नु हुन्दै फेडरेसन अफ क्यानडा नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष एबम समाजसेबी बिजय पौडेलले कार्यक्रमको महत्व र नेपालको अद्वितिय संस्कृतिकोबारे प्रकाश पार्नु हुन्दै नेपालको बिक्रम सम्बत इस्वी सम्बत भन्दा ५७ बर्ष पहिले नै प्रचलनमा आएको थियो भन्नु भयो । साथै उहाँले नेपालमा क्यानाडेली राजदूताबास खोल्न आव्हान पनि गर्नु भयो। कार्यक्रमका आयोजक सांसद कील सीबाकले प्रमुख अतिथि, बिशिष्ट अतिथि लगायत सम्पुर्णलाई स्वागत गर्न पाउन्दा मन हर्षित भएको बताउनु हुन्दै नेपाली नयाँ बर्ष २०८०को उपलक्षमा सबैमा हार्दिक शुभकामना ब्यक्त गर्नु भयो। साथै उहाँले प्रत्येक बर्ष अप्रिल १४ मा संसदमा नेपाल दिबस मनाउने पनि जानकारी दिनु भयो।

कार्यक्रमलाई सम्बोधन गर्नु हुन्दै प्रमुख अतिथि महामहिम राजदूत भृगु ढुंगानाले नेपालको बिकासमा तथा बिपतको बेलामा गरिएको क्यानडा सरकारको सहयोग सराहनिय रहेको बताउनु हुन्दै दुबै देशको आपसी सम्बन्ध सौहार्दपूर्ण रहेको छ भन्नु भयो।

कार्यक्रमलाई सम्बोधन गर्नु हुन्दै बिशेष अतिथि बिपक्ष दल कन्जरभेटिभ पार्टीका नेता सांसद पियर पोलिएभले नेपाली समुदाय नयाँ बर्षको कार्यक्रममा भाग लिएर शुभकामना आदान प्रदान गर्न पाउन्दा खुसि लागेको छ भन्नु हुन्दै संघिय संसदमा नेपाली समुदायको पहिलो प्रतिनिधिलाई स्वागत गर्न आफू प्रतिक्षारत रहेको बताउनु भयो । कार्यक्रममा टोरोन्टोको लागि मानार्थ नेपाली बाणिज्य दूत डा. कुन्जर शर्माले नेपाल तथा क्यानडा द्वैपक्षिय सम्बन्ध, ब्यापार तथा सहयोग बारे प्रकाश पार्नु भयो ।

सो कार्यक्रममा क्यानडा सरकारका आबास, बिबिधता तथा समाबेशीता मन्त्री अहमद हुसेन तथा सांसद डान माइसले सम्बोधन गर्नु हुन्दै नेपाली नयाँ बर्षको उपलक्षमा शुभकामना ब्यक्त गर्नु भयो ।

नेपाली समुदायको तर्फ बाट एन. आर.एन. ए. आइ.सी. सी.का सचिब चिरन्जिबि घिमिरे, एन. आर.एन. ए. क्यानडाका अध्यक्ष दीपक गौतम, नेपलिज क्यानेडियन हेरिटेज सेन्टर एन्ड टेम्पल ओटावाका महासचिब दीपक श्रेष्ठले कार्यक्रमको मह्त्व बारे प्रकाश पार्नुको साथै शुभकामना ब्यक्त गर्नु भएका थिए।

कार्यक्रमको अन्त्यमा फेडरेसन अफ क्यानडा नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष लिलेन गुरुङ्ग् ले उपस्थित अतिथिहरु तथा कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने संघ संस्था तथा महानुभाबहरुलाई धन्यबाद ब्यक्त गर्नु भयो। सो कार्यक्रममा संसदिय बिपक्ष दलका उपनेता सांसद टीम उप्पल, सांसदहरु जसराज हल्लन, फिलिप लरेन्स, सोनिया सिधु, चन्द्रा आर्य लगायतका बिशिष्ट महानुभाबहरुको उपस्थित थियो।

कार्यक्रममा नेपालका प्रधानमन्त्री सम्माननिय पुष्पकमल दाहालको शुभकामना सम्बन्धि भिडियो सन्देश देखाईएको थियो भने क्यानेडेली प्रधानमन्त्री सम्माननिय जस्टीन ट्रुडो, ओन्टारियो प्रान्तका मुख्यमन्त्री डग फोर्ड लगायतका बिशिष्ट महानुभाबहरुले कार्यक्रम सफलताको शुभकामनाहरु पठाएका थिए।

कार्यक्रममा क्यानेडियन नेवाः गुथिको लाखे नाच र कुमारीले नेपालको संस्कृतिको मौलिकता झल्काएको थियो भने लोक संगीतको जगेर्ना गर्न स्थापित टोरोन्टो स्थित समुह हिमालयन भाइब्स , ओटावा स्थित रोधि ब्ल्युज को नेपाली लोक धून तथा बागलुङ सेवा समाजको पंचे बाजाको प्रस्तुतिले उपस्थित सबैलाई छम छमी नाच्न लगाएका थिए। त्यस्तै गरि लोक गायक बुद्दि सागर बश्यालको प्रसिद्द लोकगीतहरुको प्रस्तुति, बाबु गौतम , रुपा पौडेल, परिणिता गौतम, हिमानी पराजुलिको नृत्य लगायतका प्रस्तुतिहरुले क्यानडाको संसद भबन नेपालमय भएको थियो।

कार्यक्रमका सहभागिहरुले सो कार्यक्रमले मूलधारको क्यानेडेली राजनितिज्ञहरु बिच नेपाली समुदायको बलियो उपस्थिति, मौलिक संस्कृतिको परिचय दिन सफल भएको प्रतिक्रिया दिएका थिए भने कार्यक्रम ब्यबस्थापन समूह प्रति पनि आभार ब्यक्त गरेका थिए।

फोटो सौजन्यः फेडरेसन अफ क्यानडा नेपाल च्याम्बर अफ कमर्स

प्रतिक्रिया