विराटनगर,१४ वैशाख । कोशी प्रदेशको स्टार्टअप नीति तर्जुमाका लागि आज यहाँ सरोकारवालाहरुबीचको सम्वाद कार्यक्रम गरिएको छ।
कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालय र नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशद्वारा संयुक्त आयोजित सम्वाद कार्यक्रममा प्रादेशिक स्टार्टअप नीति तर्जुमा कार्यलाई समयसापेक्ष बनाउने, प्रदेशभरीका स्टार्टअपहरुको विवरण अध्यावधिक गर्ने, नीतिमा समावेश गर्ने कुराहरुको पहिचान गर्ने, लगानीको र प्रविधिको प्रयोगबारे धारणा विकास गर्ने लगायतका बिषयमा सम्वाद गरिएको थियो ।
उद्योग, कृषि तथा सहकारीमन्त्री भक्त्ति प्रसाद सिटौलाले सरकारले नव उद्यमीहरुको व्यवसाय प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने बताउनु भयो ।
उहाँले सरकार र उद्यमीबीच राम्रो सम्बन्ध बनाएर अघि बढ्न आफु तयार गरेको चर्चा गर्नु भयो ।
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपालमा स्टार्टअपको कुनैपनि नयाँ आइडियाहरुलाई रोक्न नहुने बताउँदै नयाँ आइडियालाई सरकार र नीजि क्षेत्रले सहयोग गर्दै अगाडि बढाउन सके त्यसबाट मुलुकमा नवप्रवद्र्धन सम्भव हुने बताउनु भयो ।
उहाँले अन्य मुलुकहरुमा सरकारले युवा उद्यमीलाई राष्ट्रिय अर्थतन्त्रको सवलीकरणमा केन्द्रीत गराउन उद्यमशील एवं उद्यमी स्टार्ट अप व्यवसायलाई प्रेरित गर्न सहयोगी नीति कार्यक्रम गरेकोले प्रदेश सरकारले लगानी मैत्री वातावरण निर्माण गरिदिनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा मन्त्रालयका सचिव मेघनाथ तिमल्सिना, स्टार्टअप विज्ञहरु जीवन प्रकाश सिटौला र निरज खनालले नेपालमा स्टार्टअपको विकास, पृष्ठभूमि, स्टार्टअप नीतिमा प्रस्तावित व्यवस्थाहरुबारे प्रस्तुतिकरण गर्नु भएको थियो ।
उक्त प्रस्तुतिकरणमाथि युवा उद्यमी प्रतिक राउत, कृषि विज्ञ डा.राजेन्द्र उप्रेति, मन्त्रालयकी खाद्य अनुसन्धान अधिकृत विमला पोखरेल, इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्रकुमार साह, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला, विकल्प द अल्टरनेटिभका बसन्त अधिकारी लगायतले स्टार्टअप क्षेत्रलाई अघि बढाउन सरकारले आवश्यक नीति बनाउनु पर्ने सुझाव दिनु भयो ।
प्रतिक्रिया