रबी लामिछाने र स्वर्णिम वाग्लेलाई अमेरिकाबाट रामप्रसाद खनालले दिए यसरी सशर्त बधाई र शुभकामना !

इनेप्लिज २०८० वैशाख १३ गते २१:४२ मा प्रकाशित

अमेरिका / वरिष्ठ लोक तथा दोहोरी गायक, अग्रज पत्रकार, अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले भर्खरै सम्पन्न उप निर्वाचनमा बिजयी रबी लामिछाने र स्वर्णिम वाग्लेलाई अमेरिकाबाट यसरी सशर्त बधाई र शुभकामना दिएका छन । उनले सामाजिक सन्जालहरुमा पोस्ट गर्दै लेखेका छन:

“प्रिय मित्र रबीजी, चितवन – २ का जनताले यति धेरै मत दिएर जिताए । यत्रो मतान्तर सहित चुनाव जित्नुभएकोमा बधाई । तपाईँको जीत केबल तपाईँको मात्रै जीत होइन, प्रचण्ड, ओली, देउवा, माकुने, उपेन्द्रहरू र उनीहरूका दलहरूका रवैया, ज्यादती, अन्याय, अत्याचार, भ्रष्टाचार, बेथिति, लुटतन्त्र, गलगाँड तन्त्र प्रति जनताको आक्रोश पनि हो यो । तपाईंलाई अब पनि चुक्ने, त्रुटी गर्ने सुबिधा छैन है ।

अब जनताको भावना बुझेर, नेपाली राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार लाई शिरोपर गरेर जनताको भावना र आशालाई सम्मान गरेर अगाडि बढ्न तपाईँलाई प्रेरणा मिलोस् शुभकामना । तपाईँ माथि झुन्डिएका तरबारहरू अझै बाँकी छन् ख्याल गर्दै अघि बढ्नुहोला । यो व्यवस्था र संविधान पूर्णतः फेल भैसकेका छन्, यिनै ठिक छन् भनेर नभन्नुहोला ।

तीन–तीन पूर्वप्रधानमन्त्रीहरूले एउटै मञ्च प्रयोग गरेर जनतासँग बाचा गरेको, त्यसमाथि थपिएर वर्तमान प्रधानमन्त्रीले त जिताएर पठाए मन्त्री बनाउँछु भनेका उम्मेदवारलाई मतदाताले किन अस्वीकार गरे ? मन्त्री पद, सरकार सबकुछ हो र ? अपराधहरूका शिरोमणि प्रचण्डले ‘मन्त्री बनाउने’, यस्तो भस्मासुरको ‘मन्त्री बन्ने’, यिनै कहिले ओली र कहिले देउवा सँग लभ गर्दै धोखा दिँदै राजनीतिक वेश्यावृत्तिमा रमाउने प्रचण्डसँग ‘स्प्रिट मिल्ने’ मान्छे जनतालाई चाहिएको हो र ? चाहिएको त प्रचण्डहरूलाई बाई बाइ गर्ने मान्छे होइन र ?

एउटा यस्तो सपुतको खाँचो हो देशलाई, जो प्रचण्ड, ओली, देउवा, माकुने, उपेन्द्रलाई स्थापित होइन विस्थापित गर्न सकोस, शती नजाओस् ।

जनभावना नबुझ्दा, सरकारमा जान, मन्त्री खान मरिहत्ते गर्दा कमल थापा र उनको ‘गाई’ को के हालत भएको थियो विगतमा हामीले देखेकै हो । यसबाट पनि शिक्षा लिनुहोला । देउवा, ओली र प्रचण्डको मा नधाउनुहोला, तिनीहरूसँग मेरो स्प्रिट मिल्यो भनेर गुणगान नगाउनुहोला ।

जन भावना बुझ्न, राम्रो गर्न, गठबन्धनको समर्थक नबनेर सँसदमा प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्न, राजनीतिक वेश्यावृत्तिमा रमाउने प्रचण्डहरू सँग ‘स्प्रिट मिल्ने’ मान्छे नबन्न तपाईँलाई प्रेरणा मिलोस्, भस्मासुरको सरकारमा नजानु, यो गठबन्धनको सरकारलाई समर्थन नगर्नु, परिपक्व बनेर प्रस्तुत हुनु, बोल्दा सँयमता अपनाउनु होला भन्ने विनम्र आग्रह पनि । आशा गरौँ रबीजी “भस्मासुरको मन्त्री” बनेर र मन्त्री पदका लागि उनको “शती” गएर, उनीसँग “स्प्रिट” मिलाएर हामीलाई निराश पार्नुहुने छैन ।

एउटा स्वतन्त्र, निष्पक्ष मान्छे जो कुनै दलमा छैन र भोलि हुने पनि छैन त्यो मान्छे भएर जन भावना लाई समेत मध्यनजर गरेर बोल्दै, लेख्दै छु यी कुरा । मलाई कसैसँग कुनै किसिमको लेना देना पनि छैन । त्यसैले तितो लाग्ला तर सत्य बोल्ने लेख्ने गरेको छु । आगे मित्र को जो मर्जी ।”

यसै गरी उनले अर्का बिजयी उम्मेदवार स्वर्णिम वाग्लेलाई पनि ससर्त यसरी बधाई लेखेका छन:
“स्वर्णिम वाग्ले कुन पार्टीका थिए हिजो, किन छोडे, आज कुन पार्टीमा छन, भोली कता जालान त्यो उनको ब्यक्तिगत स्वतन्त्रताको कुरा हो । तर यत्तिको अर्थतन्त्र बुझेको, योग्य, केही गर्छु भन्ने मान्छेले चुनाव जित्दा दुःख मनाउ गर्नु जरुरी देख्दिन म । किन कि हेर्नुस, सम्झिनुस त ती भेडा बाख्रा रुपी आठ वटा सँसदका प्रचण्ड, देउवा, ओली, माकुने, उपेन्द्रहरूले गरेको निर्णयमा ताली मार्ने र भत्ता पचाउने सांसद सम्म, केही सांसदहरू बाहेक अधिकांशलाई सांसद भन्न पनि लाज लाग्छ । यो सँसदमा स्वर्णिम वाग्ले देखिन लायक छन, त्यसैले स्वर्णिम वाग्लेलाई बधाई र जन भावना बुझ्न, राम्रो गर्न, गठबन्धनको समर्थक नबनेर सँसदमा प्रभावकारी प्रतिपक्षी सांसदको भूमिका निर्वाह गर्न, राजनीतिक वेश्यावृत्तिमा रमाउने प्रचण्डहरू सँग ‘स्प्रिट मिल्ने’ मान्छे नबन्न वहाँलाई प्रेरणा मिलोस, भस्मासुरको सरकारमा नजानु, यो ठगबन्धनको सरकारलाई समर्थन नगर्नु, परिपक्व बनेर प्रस्तुत हुनु होला भन्ने बिनम्र आग्रह गर्दै शुभकामना पनि । आशा गरौं स्वर्णिमजीले “भस्मासुरको मन्त्री” बनेर र मन्त्री पदका लागि उनको “शती” गएर, उनीसँग “स्प्रिट” मिलाएर हामीलाई निराश पार्नुहुने छैन ।”

प्रतिक्रिया