पैसा नतिर्ने दर्जन उपाय : राजिब घिमिरे

इनेप्लिज २०८० वैशाख ११ गते २३:११ मा प्रकाशित

मानौ तपाई साथीहरू सँग रेस्टुराँ जानु भएको छ। विदेशीको जस्तो जिटिपियस भए त सजिलो, कुरै सकियो, तर नेपालीको जिटिपियस हुँदैन, यस्तो अवस्थामा पैसा तिर्नबाट कसरी बच्ने भन्ने उपाय चाहिएको हुन सक्छ। केही तयार गरेको छु।

१। रेस्टुराँको टेबुलको सिटमा बस्दा सबै भन्दा भित्ता तिरको निस्कन असजिलो हुने सिटमा बस्नुस्। जसले गर्दा खाएर निस्कने बेलामा सबै भन्दा पछि निस्कन परोस्। निस्कदाँ टेबुलले च्यापिएर अलि असजिलो भएको जस्तो पार्नुस्। अलि अलमल गरेर, पाइन्ट मिलाएर भए पनि केही समय कटाउनुस्। यो बेलामा तपाई फस्न सक्ने भनेको त्यही ३०-३५ सेकेन्डको टाइमले गर्दा हो। यहाँ सेकेन्ड सेकेन्डको महत्त्व बुझ्नु पर्छ। त्यस्तो कुनाको सीट मिलेन भने बस्दा छेउको टेबुलमा नबस्नुस्, वेटरले अन्त्यमा बिल ल्याएर तपाईको अघि तेर्साउन सक्छ।

२। खाना खाइ सके पछि, “अब सकियो जाऊँ” भन्ने वा वेटरलाई बोलाएर “बिल ल्याऊ त!” भन्ने गल्ती कहिल्यै नगर्नुस्, तपाई फसी हाल्नु हुन्छ।

३। तपाईँको चुरोट, सुर्ती, खैनी खाने बानी छ भने तल् तल् लागे पनि अन्तिम सम्मै रोकेर राख्नुस्। ठिक बिल तिर्ने बेलामा सुर्ती मोलेर आफ्नो हातलाई व्यस्त राख्नु पर्छ, ताकि त्यो हात पर्स तिर जान नपाओस्।

४। पिसाब च्यापेर राख्नु पर्छ र अब बिल पे गर्ने बेला भयो भन्ने जस्तो लागे पछि ट्वाइलेट तिर लाग्नु पर्छ। ठिक त्यही बेलामा फोन आउने गरेर कसैबाट फोन गराउनु पर्छ, छोटोमा सकिने कुरा भए पनि अलि लामो नै तानेर आफूलाई व्यस्त राख्नु पर्छ। यो पुरानो उपाय भए पनि निकै सफल उपाय हो।

५। बिल तिर्ने बेलामा पर्स नझिकेर मोबाइलबाट अलि बाहिर पारेर QR स्क्यान गर्ने कोसिस गर्नुस्, दुई तीन पल्ट कोसिस गरे पछि स्क्यान नै भएन भन्नुस्, वा स्क्यान भयो पासवर्ड मिलेन भन्नुस्, साथीहरूलाई हैरान बनाउनुस्। अलि होस पुर्‍याउनुस्, आजकाल यी आइटीका मोराहरूले मोबाइल QR मा सुँघाउँदैमा काम गर्ने बनाएका छन्, त्यति ईफिसियन्ट QR नबनाए पनि त हुन्थ्यो नि, स्क्यान भइ दिन बेर हुन्न ।

६। सबै उठी सके, अब बिल पे गर्ने बेला भयो भने पछि बिल पे गर्न जाँदा, ग्रुपको सबै भन्दा सिनियर वा बिशेष अथितिसँग रोकिएर अलि सिरियस गफ गरेको जस्तो गरेर आफूलाई त्यता अलमल्याउनुस्। उभिएरै गफ गरे अझ राम्रो, पछाडिको साथीलाई, आफु अलि छेउ लागेर, अगाडी बढ्ने बाटो दिनुस्। तर सिनियर सँग गफमा अलि डिप्ली इन्भल्भ हुँदा तपाईँले पत्तै नपाई बेहोसमा नै बाटो छोडेको जस्तो देखिनु पर्छ। सिनियर सँग गफमा लाग्दा जो कोहीले तपाइहरूको गफ तोडाएर तपाईलाई “ल तँ बिल पे गर् त” भन्न पनि सक्दैनन।

७। रक्सी खाएको छ भने थोरैमा पनि अलि बढी लागेको जस्तो अभिनय गर्नु, जसले गर्दा साथीहरूले धेरै जोड गर्न नसकुन्।

८। सबैले खाना खाइसके भन्ने लागे पछि चिया वा कफी मगाउनुस्, तातो भएकोले तपाईँले बिस्तारै धेरै नै समय लगाएर अब पैसा तिर्ने बेला भई सक्यो भन्ने कुरा थाह नपाए जस्तै गरी चुस्की लिनोस्। नेपालीको कफी खाने बानी नभइसकेकोले तपाईँले कफी नै माग्नु राम्रो हुन्छ। एक त तपाई अलि एडभान्स देखिनु हुन्छ, दोस्रो चिया मागेमा सबैले हामी पनि खाने भनिदिन सक्छन् र तपाई ढिलो उठ्न नपाउने हुन सक्छ।

९। तपाई कुनै अफिसमा काम गर्नु हुन्छ र साथीहरू मध्य कोहीले सप्लाइको काम गर्छ भने आफ्नो अफिसमा अहिले त्यो कामको लागि अलि धेरै नै बजेट आएको छ जस्तो कुरा गर्नुस्, त्यो साथी पैसा तिर्न अघि बढी हाल्छ।

१०। यदि त्यहाँ रक्सी खाइएको छ भने तपाइले अन्त्यको एक गिलास खान छोडिदिनुस् र अरूले खाइरहँदा म त धेरै रक्सी खान सक्ने मान्छे हैन, खाइन, भनेर लगातार भनी राख्नुस् र अरूलाई यस्तो प्रभाव पार्नु कि यसले कम खाएकोले यसलाई बिल तिराउनु अन्याय हुनेछ।

११। यति गर्दा गर्दै पनि तपाईँले नै तिर्न पर्ने जस्तो अवस्था आइलाग्ला जस्तो लाग्यो भने मलाई त कुइरेहरूको जस्तो जिटिपियस मन पर्छ भनेर अलि अघि देखि नै भुमिका बाँध्नुस्, अनि मलाई त यो वेटरलाई टिप्स सिप्स दिने भन्ने कुरै मन पर्दैन, सर्भिस चार्ज त बिलमा नै हुन्छ नि किन दिन पर्‍यो, भन्ने जस्ता कुरा पनि गर्नुस। अमाउण्ट केही कम हुन्छ।

१२। अन्तिममा सम्झनै पर्ने शिष्टाचारको कुरा, साथीहरू मध्य कोही बिल पे गर्न काउन्टरमा गइसकेको भएमा तपाई अलि पछि गएर आफ्नो पुठ्ठामा हात राख्नुस (खल्तीबाट पर्स झिक्न लागे जस्तो), उसले पैसा तिरी सकेको थाह नपाए जस्तो गरेर, “ए तिरी सकियो!” भन्नुस्, ताकि साथीलाई लागोस् तपाइको तिर्ने उत्कट इच्छा थियो तर त्यो साथीको कारणले गर्दा तपाइ वञ्चित हुनु भयो। तपाईलाई मैले तिरिन भन्ने गिल्ट फिल भयो भने, “त्यसले ठगेर कमाएको त हो नी वा त्यसले बढि खाएको थियो, वा त्यसले रक्सी बढि खान्छ त्यसैले तिर्‍यो!” भनेर मनलाई बुझाउनुस।

प्रतिक्रिया