कोशी प्रदेश नामाकरण कसैको विपक्षमा नभएको –मुख्यमन्त्री कार्की

इनेप्लिज २०८० वैशाख ८ गते ११:०८ मा प्रकाशित

विराटनगर,८ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामाकरण ‘ कोशी’ कसैको विपक्षमा नभएको बताउनु भएको छ ।

नेपाल बार एशोसिएशन उच्च अदालत विराटनगर बार इकाईको १३ औं कार्य समितिको बार्षिक साधारण सभा तथा बार भवन माथिल्लो तलाको आज उद्घाटन गर्दै उहाँले नामाकरण एउटा पक्षमा भएको भए अर्को पक्षलाई बिझाउँथ्यो होला त्यो नभएर साझा भएकोले यसलाई आत्मसाथ गरेर जान आग्रह गर्नु भयो ।

मुख्यमन्त्री कार्कीले भन्नु भयो ‘समयक्रममा भविष्यमा जनताको दुई तिहाई मत प्राप्त भएमा संवैधानिक एवं कानून अनुसार प्रदेशको नाम परिवर्तन गरेर जान सकिने छ’ ।

उहाँले प्रदेश सरकार स्थानीय तहसँग विकास, उत्पादकत्व वृद्धि, रोजगारीको अभिवृद्धि, सौन्दर्यकरण र राजश्वको वृद्धि यी सबै पक्षलाई जोडेर आगाडि वढ्ने प्रतिवद्धता समेत व्यक्त्त गर्नु भयो ।

प्रदेश संरचना अनावश्यक, अत्याधिक खर्चालु लगायतका आलोचना तथ्य र सत्यका आधारमा हुनुपर्नेमा जोड दिदै मुख्यमन्त्री कार्कीले विगत १५ बर्षमा नभएका विकास प्रदेश सरकार निर्माण भएपछि जनताले अनुभूति प्राप्त गरेको दावी गर्नु भयो ।

उहाँले विगत पाँच बर्षको अवधिमा प्रदेश सरकारले ८०० किलोमिटर कालोपत्र सडक,१०० पक्की पुल, २०० झोलुङ्गे पुल र २०० भौतिक संचरना निर्माण गरेको जानकारी दिनु भयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गरेका गल्तिको आलोचनालाई ग्रहण गर्दै आगामी दिनमा सुधार गर्ने प्रण गर्दै राम्रो कार्यको प्रशंसा गर्न समेत आग्रह गर्नु भयो ।

प्रदेशका मुख्य न्याधिवक्ता गजेन्द्र आचार्यले आचार संहिताको पालन गरी उच्च मूल्य र मान्यता कायम राख्न अधिवक्ताहरुलाई आग्रह गर्नु भयो ।

वरिष्ठ अधिवक्ता विपुलेन्द्र चाकवर्तीले फुटेर होइन जुटेर स्वतन्त्र न्यायपालिका कायम राख्न आग्रह गर्नु भयो ।

बार इकाईका अध्यक्ष नारायणप्रसाद दाहाल,पूर्व प्रदेश मुख्य न्यायाधिवक्ता चूडामणि आचार्य, पूर्व अध्यक्ष रमेश कोइराला , सुनसरी बार सचिव, पार्षद प्रेम प्रसाद पोखरेल,वीरेन्द्रप्रसाद गौतम,अनिल खड्का र भवन निर्माण संयोजक सुरेशलाल श्रेष्ठले कानून व्यवसायीहरुवीच विवाद, समाधान र एकता कायम राखी नागरिकलाई न्यायालयप्रति आस्था एवं विश्वास कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने धारणा राख्नु भयो ।

प्रदेश सरकारको रु ४० लाख सहयोगमा बारको माथिल्लो तलाको सभा हल सहित भवन निर्माण गरिएको हो ।

प्रतिक्रिया