काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस सह-महामन्त्री बद्रीप्रसाद पाण्डे नेतृत्वको टोलीले साँफे मार्तडी सडक खण्डका बारेमा सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
बुधबार सांसद पाण्डे, नेपाली कांग्रेस बाजुराका सभापति रामसिंह रावल लगायतको टोलीले साँफे–मार्तडी सडक अन्तर्गत बल्दे, ओमकोट, द्वारी सडक खण्डको बैकल्पिक सडकलाई यही आर्थिक वर्षमा काम सम्पन्न हुने गरि अघि बढाउनका लागि अर्थमन्त्री डा. प्रकाश शरण महत र भौतिक पुर्वाधार तथा यातायातमन्त्री माननीय प्रकाश ज्वालालाई ध्यानाकर्षण गराएका छन्।
वर्षायामको समयमा पहिरोको कारण वर्षेनी सडक अवरुद्ध हुने गरेको उल्लेख गर्दै बाजुरा सदरमुकाम मार्तडीदेखि जिल्लाको माथिल्लो भेगलाई जोड्ने उक्त सडक अवरुद्ध हुँदा बाजुरामा मात्र नभएर छिमेकी जिल्ला मुगु र हुम्लाका स्थानीयवासीहरुलाई समेत आवतजावत गर्न कठिनाई हुने गरेको भन्दै त्यसको समस्या समाधानका लागि ध्यानाकर्षण बुझाएका हुन ।
उक्त सड़क खण्डको विकल्पका रुपमा सडक डिभिजन साँफे अछामले वैकल्पिक सडकको ट्रयाक ओपन गरेको हुँदा उक्त नयाँ सडक खण्डलाई दिगो रुपमा सञ्चालन गर्न सड़क स्तरोन्नतीका लागि सडक डिभिजन साफे अछामले तयार गरेको लागत इस्टिमेट बमोजिमको बजेट यसै आ.ब. २०७९-०८० मा व्यवस्था गरिदिन भन्दै ध्यानाकर्षण गराएको सांसद पाण्डेले जनाएका छन।
प्रतिक्रिया