मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई मात्र कडा कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएका छन् ।
अडियो टेपको छानबिन गर्न गठित पार्टीको अनुशासन तथा आचरण समितिलाई बयान दिने क्रममा उनले त्यस्तो चेतावनी दिएका हुन् । समितिले मंगलबार सांसद श्रेष्ठसँग करिब एक घण्टा सोधपुछ गरेको थियो । बयानका क्रममा उनले आफूलाई फसाउन षड्यन्त्र भएको र यस्तो बेला पार्टीले सहानुभूति राख्नुपर्ने जिकिर गरेका थिए ।
‘मलाई फसाउन खोजिएको हो, यस्तो अप्ठ्यारो परेका बेला मलाई एक्लो पारिए कोर टिमका बारेमा सार्वजनिक रूपमा बोल्न बाध्य हुनेछु भनेर उनले धम्की दिएका छन्,’ समितिका एक सदस्यले जानकारी दिए ।
समितिका पदाधिकारीहरूले अडियोमा भनिएजस्तो ‘कोर टिम’ के हो ? त्यसमा को–को छन् र त्यसले कसरी काम गर्छ लगायतका प्रश्न गरेको तर श्रेष्ठबाट जवाफ नआएको ती सदस्यको भनाइ छ ।
प्रतिक्रिया