पूर्ण खोप सुनश्चिततालाई निरन्तरता दिन विशेष ध्यान दिनुपर्छ–मुख्यमन्त्री कार्की

इनेप्लिज २०८० वैशाख ४ गते ३:२६ मा प्रकाशित

विराटनगर,३ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्ण खोप सुनिश्चितालाई निरन्तरता दिन विशेष ध्यान दिनु पर्ने बताउनु भयो ।

विराटनगर महानगरपालिकाद्वारा आज यहाँ आयोजित ‘पूर्ण खोप सुनश्चितता घोषण सभा’को उद्घाटन गर्दै उहाँले खोपलाई निरन्तरता दिन सम्वन्धित पक्ष, स्वास्थ्य स्वयेमसेविका, जनप्रतिनिधिहरु विशेष चनाखो हुन आग्रह गर्नु भयो ।

मुख्यमन्त्री कार्कीले यहाँ व्यवस्थित बसोवास नभएका कारण शहरी क्षेत्रका बालवालिका समेत खोपको दायरा नआएको हुनसक्ने चर्चा गर्दै महानगरपालिकाले डिजिटल अभिलेखको व्यवस्थित रुपमा राखी खोपको सुनिश्चितता गर्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले आजका स्वस्थ्य केटाकेटी मुलुकका भोलिका कर्णधार भएकाले उनीहरुमार्फत समाज र राष्ट्रको विकास र समृद्धिमा सघाउ पुग्ने धारणा राख्नु भयो ।

हाम्रो मुलुक विकासोन्मुख भएकोले यसको प्राथमिकता सडक, पुल भएपनि मानव स्वास्थ्यप्रति सरकार संवेदनशिल भई आवश्यक बजेट विनियोजन गर्ने मुख्यमन्त्री कार्कीले बताउनु भयो ।

उहाँले यस क्षेत्रमा कोरोनाका सङ्क्रमित वृद्धि हुन नदिन भारतसँग जोडिएका नाकाहरुमा आवश्यक सर्तकता अपनाउन प्रदेश सरकार र महानगरपालिकालले संयुक्त रुपमा एन्टिजेन र पिसिआर परीक्षणको व्यवस्थाको तयारीको व्यवस्थ शुरु गर्ने जानकारी दिनु भयो ।

स्वास्थ्यमन्त्री निर्मला तावा लिम्वुले पूर्ण खोप सान्दर्भिक र आवश्यक भएको चर्चा यसले अन्य पालिकालाई प्रेरणा दिने विश्वास व्यक्त्त गर्नु भयो ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईले खोपको अभिलेख नगर र वडामा राख्नु पर्नेमा जोड दिदै यो कार्यको निरन्तरता आवश्यक रहेको चर्चा गर्नु भयो ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले पूर्ण खोप सुनिश्चिततामा स्वास्थ्य स्वयमसेविका, जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका कारण आज सफल हुन सकेको धारणा राख्नु भयो ।

सभामा उपप्रमुख शिल्पा निराला कार्की, बर्जु गाँउपालिकाका अध्यक्ष जिवछ राय,स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल र महानगरका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले खोप सेवा प्राप्त गर्नु वालबालिका र नागरिकको नैसर्गिक अधिकारी भएको धारणा राखेका छन् ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले महानगर प्रमुख कोइराला एवं १९ वडा अध्यक्षहरुलाई खोप सुनिश्चितताको प्रमाणपत्र दिनु भयो ।

उहाँले खोप सुनिश्चतता प्रतिवद्धता पत्रमा समेत हस्ताक्षर गर्नु भएको थियो ।

महानगरपालिमा रहेका १६ देखि ५९ महिनाका १७ हजार ५०२ बालवालिकामध्ये खोप लगाउन छुट भएका एक हजार ५९२ लाई पूर्ण खोप गरि सकेको र आगामी दिनमा कुनै बालबालिका खोपवाट वन्चित नहुन ‘खोप सुनिश्चिता घोषणा’ गरिएको हो ।

महानगरले १३ बटा विभिन्न खोपहरु ३५ विभिन्न वडा कार्यालय, स्वास्थ्य केन्द्रमार्फत निःशुल्क रुपमा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया