प्रधानन्यायाधीश नियुक्त गर्न बार एशोसिएसनको अल्टिमेटम

इनेप्लिज २०७९ चैत २९ गते १०:५० मा प्रकाशित

काठमाडौं । नेपाल बार एशोसिएसनले डेढ साता भित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । आज पत्रकार सम्मेलन गर्दै दिइएको समय सीमाभित्र प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो ।

नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने, आजै हामी आन्दोलनका कार्यक्रम घोषणा गर्दैनौं । तर माग पूरा नभए आन्दोलनको घोषणा हुन्छ । ८–१० दिनभित्र निकास माग्छौं । नभए आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्ने हुनसक्छ ।

प्रधानन्यायाधीश नियुक्तिबारे ध्यानाकर्षण गराउन भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने र आफूहरुले दिएको अल्टिमेटमबारे जानकारी गराउने उनले बताए ।

महाभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा निलम्बित भएदेखि सर्वोच्च अदालत कायम मुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ ।

त्यसपछि दीपक कुमार कार्की कामु प्रधानन्यायाधीश बने । कार्कीले गत असोजमा अवकाश पाएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश रहेका छन् ।

प्रतिक्रिया