सांसद अडियो प्रकरणमा रास्वपाले संसद्‍मा माग्यो माफी

इनेप्लिज २०७९ चैत २८ गते ०:५३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठको रकम लेनदेनको अडियो सार्वजनिक भएको प्रकरणबारे माफी मागेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले यो घटनाले प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा मागेका हुन् ।

‘हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत तपाईहरुको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौं ।’ उनले भने, संसदको गरिमा बढाउने रास्वपाको अभियानमा हामी अक्षुण रहनेछौं । यो घटनाले विचलित हुने छैनौं । राष्ट्रिय पार्टीहरु यस्ता घटनाबाट टाढा रहनुपर्छ ।

रास्वपा प्रतिनिधिसभा सदस्य श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न आफूले सभापति रवि लामिछाने निकटका व्यक्तिलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सहयोग गर्न व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएको थियो ।

उक्त अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई जिम्मेवारीबाट मुक्त गरी ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको र पार्टीको अनुशासन समितिले छानबिन गरिरहेको प्रमुख सचेतक परियारले जानकारी गराए ।

तर, यस्तो घटना पहिलो पटक भने नभएको उनको भनाइ छ । ‘नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन । यस्ता घटना विगतमा पनि भएका छन् । ती सबैको सत्यतथ्य छानविन हुन सक्यो भने अझै लोकतन्त्रप्रतिको हाम्रो प्रतिवद्धता अझ प्रतिवद्ध हुन्छ, भन्ने हामीलाई लाग्दछ’ प्रमुख सचेतक परियारले भने । रास्वपाले श्रेष्ठलाई जिम्मेवारीबाट मुक्त गरी ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको र पार्टीको अनुशासन समितिले छानबिन गरिरहेको परियारले संसदमा जानकारी गराएका छन् ।

प्रतिक्रिया