मुख्यमन्त्री कार्की –गिरिजाप्रसाद राष्ट्रिय हक्की प्रतियोगिता बिजेता त्रिभुवन आर्मी क्लव पुरस्कार वितरण

इनेप्लिज २०७९ चैत २७ गते २२:११ मा प्रकाशित

विराटनगर,२७ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा दक्षिण एशियाली महिला हक्की प्रतियोगिता आयोजना गर्न आवश्यक सहयोग उपलव्ध गराउने बताउनु भएको छ ।

 नेपाल हक्की सङ्घद्वारा आयोजित गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको आज राति भएको फाइनल खेलमा विजयी विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लवलाई ट्रफि एवं प्रमाणपत्र वितरण गर्दै उहाँले प्रतियोगिता सञ्चालन गर्नका लागि आगामी बर्षको नीति कार्यक्रम एवं बजेटमा रकमको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।

मुख्यमन्त्री कार्कीले सङ्घले आवश्यक जग्गा उपलव्ध गराएमा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको हक्की रङ्शाला निर्माण गर्ने जिम्मा सरकारले लिने बताउनु भयो ।

उहाँले यस खेलप्रति युवाहरुलाई आकर्षण गर्न सङ्घलाई आग्रह गर्दै यसको प्रशिक्षण, प्रशिक्षक र प्रतियोगिता सञ्चालन गर्न आवश्यक साथ र सहयोग गर्ने धारणा राख्नु भयो ।

सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले मुलुकलाई विश्वमा खेल तथा खेलाडीमार्फत पहिचान स्थापित हुने भएकोले मर्यादित एवं अनुशासित भई खेल्न आग्रह गर्नु भयो ।

प्रतियोगिताका संयोजक रञ्जन थापा, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डीला संग्रौला, नेपाल हक्की सङ्घ मोरङका अध्यक्ष राजेश गुप्ताले प्रतियोगिता सञ्चालनले यस क्षेत्रमा हक्की खेलप्रति युवा एवं युवतीहरुमा आकर्षण वृद्धि भएको विचार राख्नु भयो ।

विराटनगरको शहीद रङ्शालामा आज राति भएको फाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव विजयी भएको छ।

उक्त खेलमा त्रिभुवन क्लवले नेपाल प्रहरीलाई १–० ले पराजित गरेको छ।
त्रिभुवन क्लवका काशीराज राईले एक गोल गर्नु भएको थियो ।

विजेता त्रिभुवन क्लवले रु ७५ हजार र ट्रफि प्राप्त गरेको छ भने उप बिजेता हुने नेपाल प्रहरीले रु ४१ हजार र तेस्रो हुने सुदूरपश्चिम प्रदेशले रु २५ हजार सहित प्रमाणपत्र प्राप्त गरेको छन्।

खेलको म्यान अफ दि म्याच त्रिभुवन क्लवका नितेश न्यौपानेले प्राप्त गरेका छन् । त्रिभुवन क्लव गत बर्षको विजेता समेत रहेको छ।

प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन क्लव , नेपाल प्रहरी ,कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

प्रतिक्रिया