सिर्जनशिल र उद्यमान पत्रकारिता पुरस्कार निरौला र सरदारलाई

इनेप्लिज २०७९ चैत २७ गते २२:०१ मा प्रकाशित

विराटनगर,२७ चैत । पत्रकार कल्याण कोष मोरङले आज यहाँ दुई जना पत्रकारलाई नगद सहित सम्मान गरेको छ।

यसरी सम्मानितहुनेहरुमा बिबिसी नेपाली सेवा मोरङमा कार्यरत बिक्रम निरौलालाई सिर्जनशिल र मकालु टेलिभिजन विराटनगरकी उषाकुमारी सरदारलाई उदयमान पत्रकारिता पुरस्कारबाट नगद क्रमशः रु ५१ हजार १११ र ३१ हजार १११ एवं सम्मानपत्रद्धारा सम्मानित गरिएको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पत्रकारहरुलाई सम्मान गर्दै यस प्रकारले पुरस्कृत हुँदा सञ्चारकर्मीहरुलाई थप प्रेरणा प्राप्त हुने र जनताले सत्यतथ्यको आधारमा सूचना प्राप्त गर्न सक्ने बताउनु भयो ।

उहाँले जिल्लालाई कार्यक्षेत्र बनाई निरन्तररुपमा कार्य गर्ने पत्रकारहरुलाई राष्ट्रियस्तरमा पहिचान स्थापना हुने उद्देश्यले कार्य गर्न आग्रह समेत गर्नु भयो ।

महानगरका पूर्व प्रमुख एवं कोषका अध्यक्ष प्रल्हादप्रसाद साहले सम्मानले सञ्चारकर्मीहरुलाई पत्रकारिता क्षेत्रमा थप इमान्दार एवं महिला, बालबालिका एवं विकट क्षेत्रका जनताका समस्या समाधानमा कलम चलाउन प्रेरणा मिल्ने विश्वास व्यक्त्त गर्नु भयो ।

पुरस्कृत व्यक्तित्व बिक्रम निरौला र नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष लिलावल्लभ घिमिरेले पुरस्कारले समाजमा सही सुचना सम्प्रेषण गर्न थप जिम्मेवारी थपिएको धारणा राख्नु भयो ।

विसं २०४२ मा स्थापित उक्त पुरस्कारका लागि रु १० लाख ५० हजार अक्षय कोष स्थापना गरिएको छ।

प्रत्येक दुई बर्षमा सिर्जनशिल र प्रत्येक बर्ष उदयमान पुरस्कार प्रदान गर्ने गरिएको छ ।

कोषले पत्रकारहरुलाई विरामी भएको अवस्थामा उपचारका लागि आर्थिक सहयोग समेत उपलव्ध गराउँदै आएको छ ।

प्रतिक्रिया