गिरिजाप्रसाद स्मृति राष्ट्रिय हक्की –सुदूरपश्चिम र पुलिस विजयी

इनेप्लिज २०७९ चैत २४ गते २१:४९ मा प्रकाशित

विराटनगर,२४ चैत गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी विजयी भएका छन् ।

विराटनगरको शहिद रङ्गशालामा आज भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई ३–१ गोलमा पराजित गरेको छ ।

सुदूरपश्चिमका महेश नेपाली, सागर बोहरा र अमित ओझाले एक÷एक गोल गरेका थिए भने कोसीका बसु घिमिरेले एक गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका महेश नेपाली भएका छन् ।

त्यस्तै दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिसले कर्णाली प्रदेशलाई ७–० को गोल अन्तरले पराजित गरेको छ ।

पुलिसका रोहित लामाले दुई, सागर आचार्य, श्रवण कुमार, महेश धामी, भरत खत्री र सुनिल रानाले एक ÷एक गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच पुलिसका भरत खत्री भएका थिए ।

प्रतियोगिता संयोजक रञ्जन थापाका अनुसार नेपालमा पहिलो पटक हक्कीको खेल आज बेलुका रात्रीकालीन रुपमा हुनेछ ।

लिग चरणको खेलअन्तर्गत समूह ए तर्फ साबिक विजेता त्रिभुवन आर्मी र पूर्व विजेता गण्डकी प्रदेशबीच रात्रीकालीन खेल हुने उहाँले जानकारी दिनु भयो ।

संयोजक थापाले आज हुने तेस्रो खेलका आधारमा आगामी खेल पनि रात्रीकालीन गर्न सकिने बताउनु भयो ।

समूह ‘ए’ तर्फ आर्मी र पुलिसको समान ६ अंक, समूह ‘बि’ तर्फ सुदूरपश्चिमको ३ अंक तथा मधेस र कोसीको १–१ अंक रहेको छ ।

शनिबार पहिलो खेल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश, दोस्रो खेल कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच हुनेछ ।

प्रतिक्रिया