गिरिजाप्रसाद कोइराला राष्ट्रिय हक्की प्रतियोगिता – आर्मी र पुलिस विजयी

इनेप्लिज २०७९ चैत २३ गते २१:४७ मा प्रकाशित

विराटनगर,२३ चैत । नेपाल हक्की सङ्घद्वारा शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपाल आर्मी र नेपाल पुलिस विजयी भएका छन् ।

विराटनगरको शहिद रङगशालामा  आज भएको  खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई ८–० गोलअन्तरमा पराजित गरेको छ ।

पुलिसका लागि महेश धामीले ५ गोल, आयुष साह, केशव जोशी र रोहित लामाले समान १–१ गोल गरेका थिए ।

यस्तै अर्को खेलमा नेपाल आर्मीले कर्णाली प्रदेशलाई १३–० गोलले पराजित गरेको छ । आर्मीका रोमन रानाले छ, प्रदीप राजवंशीले तीन, अमरबहादुर गुरुङले दुई, रंजित राउत, देवसिंह धामीले एक÷एक गोल गरेका थिए ।

यस्तै कोसी र मधेस प्रदेशबीचको खेल बराबरीमा सम्पनन भएको छ।

कोसी र मधेस प्रदेशबीच भएको खेलमा दुवै टोलीले दुई÷दुई गोलले बराबरीमा सम्पन्न भएको छ।

कोसीका लागि विसु घिमिरे र मनोज चौधरीले गोल गरे भने मधेस प्रदेशका लागि पंकज दाहाल र राहुल साहले गोल गरे ।

आगामी चैत २७ गतेसम्म हुने प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुलिस, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले रु ७५ हजार, उपविजेताले रु ४१ हजार र तेस्रो हुने टोलीले रु २५ हजार प्राप्त गर्ने छन् ।

प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो खेल सुदूरपश्चिम प्रदेश र कोसी प्रदेश, दोस्रो खेल नेपाल आर्मी र गण्डकी प्रदेश तथा तेस्रो खेल नेपाल पुलिस र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया