बैदेशिक रोजगार संगै मृगौला रोगको जोखिम तिब्र गतिमा बढ्दै, के छन् त समाधानका उपायहरु?

शान्ता पौडेल सुवेदी २०७९ चैत २३ गते ०:१९ मा प्रकाशित

मृगौला मानव शरीरलाई चाहिने एक अत्यावश्यक अंग हो । सामान्यतया मानिसमा दुईवटा मृगौला हुन्छन, जुन करङको तल र मेरुदण्डको प्रत्येक छेउमा अवस्थित हुन्छ । मृगौला तौलका हिसाबले सानो अंग भएतापनि मुटुबाट पम्प गरिएको रगतको लगभग २५% यसले प्राप्त गर्छ र रगतमा भएको अनावश्यक तथा दूषित पदार्थलाई पिसावको माध्यमबाट बाहिर निकाल्छ । मृगौलाले शरीरमा रातो रक्त कोशिकाहरू उत्पादन गर्छ, साथै हड्डी मजबुत राख्ने काम गर्छ । त्यस्तैगरी, मृगौलाले शरीरमा पीएच, इलेक्ट्रोलाइट्स, र नुनको मात्रालाई सन्तुलन कायम गर्छ ।

संसारभरी नै मधुमेह र उच्च रक्तचाप बढेसंगै मृगौला रोगको जोखिम पनि बढेर गएको छ । विश्वमा अहिले १३% भन्दा बढी मानिसमा मृगौलाको दिर्घरोग भेटिएको छ भने नेपालमा लगभग ३० लाख मानिसमा कुनै न कुनै प्रकारको मृगौला रोग भएको अनुमान छ । नेपालमा अहिले मृगौला फेल भएका बिरामीहरु ३० हजारको हाराहारीमा छन् र बर्षेनी तीन हजारका दरले मृगौला रोगका बिरामीहरु थपिदै गएका छन् । यो सबै उमेर समूहकालाई लाग्ने रोग हो, तर बढ्दो उमेर संगै मधुमेह र उच्च रक्तचाप मृगौला रोगको प्रमुख कारण हुन् । ग्लोमेरुलोनेफ्राइटिस (पिसाब छान्ने फिल्टरको सुजन), मूत्र पथको संक्रमण, धुम्रपान, मद्यपान, मोटोपना, पारिवारिक र जन्मजात मृगौला रोग, दुखाइ कम गर्ने औषधि जस्तै: एस्पिरिन, ब्रुफिन, र निम्सको अत्याधिक प्रयोग मृगौला रोगको अन्य कारणमा पर्दछन् । मृगौलाघात अकस्मात वा दीर्घकालीन हुन्छ । अकस्मात मृगौलाघात हुँदा प्रायजसो उपचारबाट निको हुन्छ भने दीर्घकालीन हुँदा क्रमबद्ध रुपमा मृगौलाको कार्यक्षमतामा ह्रास आई मृगौला सधैंका लागि फेल हुनसक्छ ।

विभिन्न डाक्टर र जनस्वास्थ्य बिज्ञबाट लिईएको बिरामीसँगको अन्तरक्रियाको आधारमा केहिबर्ष यता उल्लेखनीय संख्यामा युवाहरू मृगौलाको गम्भीर रोग लिएर बैदेशिक रोजगार, त्यसमा पनि धेरैजसो खाडी मुलुकबाट घर फर्किरहेका छन् । उनीहरूको बाँच्ने विकल्प अब मृगौला प्रत्यारोपण वा डायलाइसिस मात्र छ । नेपालमा अहिले भएका डायलाइसिसका बिरामीमध्ये हरेक पाँच जनामा एकजना खाडीबाट फर्केका कामदार रहेको अनुमान छ । बिरामीको चाप अनुसार डायलाइसिस सुविधा पुर्याउन स्वास्थ संस्थालाई निकै चुनौतिपूर्ण भएको छ । एउटा स्वस्थ युवा परिवारको आर्थिक भार सम्हाल्नका लागि रातदिन, घामपानी नभनी आफ्नो ज्यानको बाजी राखेर विदेशमा काम गर्छ, तर दुर्भाग्यवस मृगौला रोगको अन्तिम चरणमा पुगेर घर फर्किनुपर्छ । कति त बाकसमा नै फर्किनुभएको हृदयबिधारक घटनाहरु पनी बेलाबेलामा सुनिन्छ ।

खाडी देशहरूमा प्रकाशित विदेशी कामदार बिरामीहरूको कुल संख्या र मृत्युको यकिन तथ्याङ्क छैन । विशेषगरी पछिल्ला वर्षहरुमा विश्वकप २०२२ को लागि कतारमा स्टेडियम निर्माण गर्ने क्रममा धेरै नेपालीले मृत्युवरण गर्नुपर्यो । बेलुका राम्रै सुतेको व्यक्ति बिहान मृत फेला पर्यो भनेको पनि सुनिएको छ । सायद, गम्भीर निर्जलीकरणले अकस्मात मृगौला फेल भएपछि, शरिरमा पोटासियमको मात्रा अत्याधिक भइ मुटु अनियन्त्रित भएर, घातक एरिदमियाबाट उनीहरुको मृत्यु भएको हुनसक्छ । साँच्चै नै यी सत्य कथाहरूले सबैलाई गहन भएर सोच्न बाध्य बनाउँछ । हजारौं सपनाहरु सजाएर बैदेशिक रोजगारका लागि यात्रा तय गरिन्छ, तर बिरामी परेपछि त्यसमा पनि मृगौला रोगको अन्तिम चरणमा पुगेपछि मात्र एउटै सपना, कसरि रोगबाट निको हुने भन्नेमा गएर टुंगिन्छ । वास्तवमा, यो मृगौलाको रोग अत्यन्तै गम्भीर, यद्दपि एकदमै कम आँकलन गरेको समस्या हो । यो रोगको समयमै पहिचान र उपचार हुन सकेन भने, कालान्तरमा गएर जीवन अत्यन्तै खर्चिलो र कष्टदायी हुन्छ ।

युवा कामदारहरु खाडी मुलुकमा अत्याधिक गर्मी र हिउमिडमा बाहिर काम गर्नुपर्छ, विभिन्न केमिकलसंग एक्पोज हुनुपर्छ, र भनेको बेला शौचालय पनि अनुकूल छैन, जसले पर्याप्त पानी पिउन बन्देज लाग्छ । अधिक कार्यभार संगै पर्याप्त रूपमा हाइड्रेट नगर्नुको गम्भीरता, समयमा खाना नखानुको असर, त्यसमाथि तनाव नियन्त्रण गर्ने निहुँमा धुम्रपान र अल्कोहल सेवन गर्नाले मुटु र मृगौला रोगको जोखिम झन बढ्छ । त्यस्तैगरि, बाहिर उच्च तापक्रममा काम गरेर भित्र आउँदा अकस्मात वातानुकूलित (AC) को तापक्रम न्युनतममा राख्दा वा धेरै चिसो पेयपदार्थहरू, त्यसमा पनि कोकाजन्य पदार्थ पिउँदा त्यसमा भएको फस्परसको मात्राले मृगौलालाई बिगार्छ, साथै अकस्मात आएको तापक्रम परिवर्तनलाई शरीरले सन्तुलन गर्न सक्दैन र मुटुको चालमा परिवर्तन आई शरीरको रक्तसंचारमा अबरुद्द आउन सक्छ ।

सामान्यतया मृगौला रोगको लक्षण सुरुवातिका चरणमा देखिदैन । प्रायजसो ९०% मृगौलाले काम गर्न छोडेपछि मात्र लक्षण देखिन थाल्छ । यसका लक्षणहरुमा वाकवाकी हुने, भोक नलाग्ने, थकाई लाग्ने, कोखा दुख्ने, पिसाबमा फिँज र रगत आउने, पिसाब कम र बारम्बार जानुपर्ने, महिनावारी नियमित नहुने, अनिन्द्रा, मांसपेशी बाउँडिने साथै दुख्ने, शरीर सुन्निने, छाला सुख्खा र चिलाउने हुन्छ । त्यसैगरी, अनियन्त्रित उच्च रक्तचाप, रक्तअल्पता, शरीरमा फस्परसको मात्रा बढी र क्याल्सियम कम भई हड्डीहरु खिईंदै जाने र भाँचिने हुन्छ । अन्त्यमा, शरीरमा पानीको मात्रा बढी भइ सास फेर्न गाह्रो हुने, इलेक्ट्रोलाइट्सको मात्रा असन्तुलन भई मुटु फेल हुने जस्ता आकस्मिक अवस्था आउन सक्छ । त्यसैले, लक्षणलाई पर्खेर बस्नुभन्दा पहिले नै मृगौला रोगको निदान र उपचार गर्नु बढी बुद्दिमानी हुन्छ। केही वर्षअगाडि सम्म मृगौला फेल हुनु भनेको मृत्युवरण गर्नु जस्तै थियो l आधुनिक चिकित्सा विज्ञानले धेरै कुरा परिमार्जित गर्दै गएको छ । मृगौला फेल भएका विरामीहरु पनि उचित उपचारका कारणले अहिले आएर साधारण मानिसहरु झैं जीवन बिताउन पाएका छन् ।

मृगौला रोगका पाँच चरणहरुमध्य रोग कुन चरणमा छ भनेर ग्लोमेरुलर फिल्टरेशन दर (GFR) ले निर्धारण गर्छ । GFR घट्दै जाँदा, मृगौलाको काम पनि घट्दै गर्छ। मृगौला फेल तब हुन्छ जब मृगौलाको कार्य १५% भन्दा कम हुन्छ । त्यतिबेला, मृगौला प्रत्यारोपण वा डायलाइसिस गरेर मात्र जीवन सम्भव हुन्छ । कृत्रिम तरिकाबाट रगतको शुद्धीकरण गर्नु, जसलाई डायलाइसिस भनिन्छ। डायलाइसिसमा हिमोडायलाइसिस र पेरिटोनियल डायलाइसिस पर्छ । हिमोडायलिसिसमा फिस्टुला, ग्राफ्ट, वा क्याथेटरको माध्यमबाट मेसिनको सहायताले रगतबाट फोहोर र अतिरिक्त तरल पदार्थ फिल्टर गर्दछ भने पेरिटोनियल डायलाइसिसमा, पेटभित्र आन्द्राको बाहिरपट्टि राखीएको पातलो ट्यूबले पेरिटोनियल क्याभीटीबाट डायलाइसेटको सहायताले विकार युक्त पदार्थ हटाउन मद्दत गर्छ । हिमोडाईलासिस हप्तामा दुइ देखि तीन पटक सम्म गर्नुपर्ने हुन्छ भने पेरिटोनियल डायलाइसिस दिनहुँ गर्नुपर्छ । हिमोडायलाइसिस केन्द्रमा वा बिरामीलाई विशेष प्रशिक्षण दिएर घरमा पनि गर्न सकिन्छ भने पेरिटोनियल डायलाइसिस घरमा गरिन्छ । डाईलाइसिस गरेपछि विरामीलाई केहि दिनको लागि मात्र राम्रो हुन्छ, यसले रोगलाई निको पार्ने भन्ने हुँदैन । यस्तो बेलामा यदि अवस्थाले सम्भव भएसम्म आफ्नो दिनचर्या कायम राख्दा साथै आफ्ना भावना बुझ्ने र सकारात्मक उर्जा दिने व्यक्तिहरुसंग कुराकानी गर्दा मनोबल उच्च राख्न मद्दत गर्छ ।

उपचारको दोस्रो विकल्प मृर्गौला प्रत्यारोपण जुन डायलाइसिसको तुलनामा उपयुक्त छनौटको उपचार हो । मृगौला प्रत्यारोपण एक जीवित वा मृतक दाताबाट स्वस्थ मृगौला निकालेर मृगौला फेल भएका व्यक्तिमा राख्ने शल्यक्रिया हो । नेपालमा बर्षेनी हजारौंको संख्यामा मृगौला प्रत्यारोपण भैरहेको छ र हालसम्म जीवित दाताबाट मात्र मृगौला लिईने हुनाले प्रत्यारोपणको सफलताको दर मस्तिष्क मृत्यु भएकाको मृगौला भन्दा अलिकति बढी नै छ । यद्यपि, प्रत्यारोपणपछि नयाँ मृगौलालाई अस्वीकार गर्नबाट बचाईराख्न प्रापकको ठुलो जिम्मेवारी हुन्छ । मृगौला प्रत्यारोपणमा अर्को व्यक्तिबाट अंग आएको हुनाले प्रापकले बाँकी जीवनभर रोग बिरुद्ध लड्न सक्ने शक्ति कम गर्ने औषधि (Immunosuppressant) लिनु, अन्य संक्रमणबाट बच्नु, आहार परिमार्जनका बारेमा ध्यान दिनु, र डाक्टरको नियमित अनुगमनमा रहनु अत्यावस्यक हुन्छ । विभिन्न अध्ययनहरुले देखाएअनुसार नेपालमा मृगौला दाता उल्लेखनीय संख्यामा महिलाहरु रहेका छन् । अहिले बैदेशिक रोजगारिमा रहेका युवा वर्गमा मृगौलाको समस्या ठूलो संख्यामा देखिएपनि भोलिमा दिनमा महिलाहरुमा यो रोग नबढ्ला भन्न सकिन्न । त्यसैले, महिला पुरुष दुबैले आफ्नो स्वास्थमा समान रुपले ध्यान पुर्याउनुपर्ने देखिन्छ।

मृगौला रोग लागेर उपचार गर्नुभन्दा रोकथामका उपायहरु अपनाउनु, रोग लाग्नै नदिनु उत्तम हुन्छ। जसरि गाडीको, घरको इन्सुरेन्स गरिन्छ, नियमित चेक जाँच गरिन्छ, कतिपय सामानको वारेन्टी लिइन्छ, त्यसरी नै आफ्नो शरिरको इन्सुरेन्स गरेर वा यतिकै पनि समय समयमा चेक जाँच गर्नु अपरिहार्य हुन्छ । यति अनमोल शरिरलाई पनि सर्भिसिंग चाहिन्छ भन्ने कुरा बुझ्नु जरुरि छ। मृगौला रोग लाग्नबाट जोगिन, रोगलाई न्यूनीकरण गर्न मधुमेह, उच्च रक्तचाप, र कोलेस्ट्रोलका लागि डाक्टरले दिएका औषधि नियमित लिने, जथाभाबी दुखाई कम गर्ने औषधि नखाने, स्वस्थ आहार खाने, दिनहुँ शरीरले सक्दो व्यायाम गरेर स्वस्थ वजन कायम राख्ने, धुम्रपान, सुर्तीजन्य पदार्थ र अल्कोहलबाट टाढा रहने, सोडाजन्य पेय पदार्थ छाडेर प्रसस्त पानी पिउने, तनाव व्यवस्थापन र निन्द्रा मिलाउने जस्ता स्वस्थ जीवनशैलीको तरिका अपनाउनु मृगौला स्वस्थ राख्ने सुत्रहरु हुन्। सबैभन्दा महत्वपूर्ण कुरा बर्षेनी सामान्य शारीरिक परीक्षण जसमा मृगौलाको काम हेर्नका लागि रगतमा क्रिएटिनिन र पिसाबमा प्रोटिनको मात्रा हेर्नुपर्छ । यी जाँच एकदम सजिलो साथै कम खर्चिला छन् । यदि मृगौला रोगको संका लागेमा, मृगौलाको संरचना मूल्याङ्कन गर्न अल्ट्रासाउन्ड र कुनै स्थितिमा समस्याको कारण निर्धारण गर्न नमूना परीक्षणको लागि बायोप्सी गर्नाले रोग ठम्याउन सहज हुन्छ ।

अन्त्यमा, नेपालमा जसरि सरकारी तवरबाट मृगौला प्रत्यारोपण र डायलाइसिसमा आर्थिक सहयोग मिलेको छ, त्यसरी नै मृगौला रोगबारे जनचेतना अभिबृदी गर्ने साथै रोगको स्क्रिनिंग गर्ने हो भने पक्कै पनि मृगौला रोगीको संख्यामा कमि ल्याउन सकिन्छ । त्यसका साथै मस्तिष्क मृत्यु भएकाबाट मृगौला लिएर प्रत्यारोपण अझ सुलभ र सहज बनाउन सक्ने हो भने असामयिक मृत्यु हुनबाट बचाउन सकिन्छ । मृगौला फेल हुन नदिन शिक्षा र नीतिनियमका अलावा सचेतना नै प्रमुख उपाय हुन् । त्यसैले, यसमा हरेक नागरिक, सरकार, म्यानपावर कम्पनी र कामदार भर्ती गर्ने एजेन्सी सबैले स्वामित्व लिइ रणनीति योजना बनाएर नेपाली कामदारलाई खाडीमा जानुअघि सुरक्षित कार्य वातावरणको माग गर्ने, जनशक्ति र कामदार कम्पनीले सुरक्षा नियमहरू पालना गर्ने, र समस्त कर्मशील युवाहरूले कामभन्दा पहिले आफ्नो शरिरको सुरक्षालाई विचार गर्नुपर्ने देखिन्छ। मृगौला रोग लाग्नुहुनेमा शिघ्र स्वास्थलाभको कामना, साथै सम्पूर्ण महानुभावहरुमा स्वस्थ जीवनको शुभकामना !!

(शान्ता पौडेल सुवेदी, मृगौला प्रत्यारोपण गरेका बिरामीको सेवामा कार्यरत नर्स, अमेरिका)

प्रतिक्रिया