योगीले महाराज बीरेन्द्रलाई सोधे चोरलाई चौतारो किन ?

प्रेम कैदी २०७९ चैत १६ गते २१:४५ मा प्रकाशित

फासीवादी ओलीले कैदीमाथि नौ राजकाज मुद्दा ठोके – डी बी नेपाली

जीवनमा धेरै संघर्ष गरियो । कर्णालीमा गोठालो भएर आनन्दको जीवन बिताइरहेको,आक्कल झुक्कल पढी टोपल्ने गरेको मान्छे अचानक २०२४ सालमा जुम्लाको राष्ट्रिय पञ्चायतको सदस्यको तयारीमा जिल्ला विकास समितिको सदस्यमा निर्विरोध निर्वाचित भएका मेरा बा रास्कोटमा काँग्रेसको तरुण पत्रिका वितरण भएपछि त्यसको आरोपमा बर्दियाको राजापुरमा उद्योग चलाएर बसिरहेको वेला पक्राऊ पुर्जी जारी भयो । जुम्ला जिल्ला कार्यालयले खतरनाक अराष्ट्रिय तत्वको रुपमा कालीबहादुर शाहीलाई जसरी पनि गिरफ्तार गर्ने तयारी बारे कतैबाट सूचना लिक हुँदा भदौको भेलमा मध्यरातमा कर्णालीमा हेलिएर मेरा बा भारतमा निर्वासित हुन पुगेपछि म ११ बर्षको बच्चा पनि केही महिनापछि निर्वासनमा हिमाचल राज्यका विभिन्न जिल्लामा हेलिन पुगे र त्यो हाम्रो राष्ट्रले १८१५को सुगौली सन्धिमा गुमाएको क्षेत्रमा कहिले विद्यार्थी ,कहिले सामाजिक अभियन्ता, कहिले श्रमिकहरूको नेता,कहिले पत्रकार र कहिले निर्माण व्यवसायी भएर बस्दै गर्दा राष्ट्रिय गीतमा सुनेको पश्चिम किल्ला काँगडा भन्ने क्षेत्रको समग्र अध्ययन गर्ने मौका पाएँ । त्यो क्षेत्र अंग्रेजहरूले हामीबाट खोसे पनि धर्मकर्म भाषा संस्कृति लोकगीत र नाचगानमा हामी भन्दा फरक छैन, त्यो भूमि हाम्रै हो र त्यहाँका सोझा इमानदार मेहनती जनता हिमवतखण्डकै अंशियार हुन भन्ने मेरो विश्वास अत्यन्त प्रवल रुपमा कायम भएको छ । देउथलधारमा ७५ बर्षका पाका लमजुङ्गे वीरभक्ति थापाले अंग्रेजहरूसँग बीरता पूर्वक लड्दै सहादत प्राप्त गरेको स्थान होस कि बलभद्र कुंवरको नेतृत्वमा नालापानीको विश्व विख्यात गुरिल्ला युद्ध लडेर अंग्रेजहरूलाई मानसिक रुपमा पराजित गरेको गोर्खालीको रगतले सिंचित त्यो महान भूमि वरपर घुम्दा जहिले पनि मेरो शिर पुर्खाको अदम्य साहसप्रति निहुरिए पनि वर्तमानमा आफू केही गर्न नसक्ने लाछी बनेर बस्नु परेको सामाजिक हरुवापन बीच हिमाचल क्षेत्रमा नेपालबाट गएका केही दुष्टहरूले चेलीबेटीहरूबाट देहब्यापार गराउने धन्दा चलाएर अमरसिंह,बलभद्र र वीरभक्तिको वलिदानलाई कलंकित पारेको देख्दा मेरालागि त्यो अपराध सही नसक्नु भएर मैले हिमाचलका आफ्नौ देशबाट आएका सोझा श्रमिकहरूका लागि जसरी अखिल भारत नेपाली एकता समाजको नेतृत्वमा चलाएको आन्दोलन जस्तै देहब्यापारमा सम्लग्न अपराधीहरूका विरुद्ध ज्यानको बाजी थापेर संघर्ष चलाएँ । तत्काल सिन्धुपाल्चोक र नुवाकोटदेखि मुम्बई र त्यस्तै अनेक शहरहरूमा फैलिएको देहब्यापार संचालनको जानकारी भएको एउटा डायरी फेला पारे । त्यो डायरीको बिषय तत्काल नेपालका विभिन्न दैनिक र साप्ताहिक पत्रिकाहरू मार्फत भण्डाफोर गराउन सफल भएँ । अभाने एकता समाजले नेपाल बाहिर लगभग तीनलाख चेलीहरू देहब्यापारमा सम्लग्न गराइएको आंकडा अघि सारेको थियो र मैले भेटाएको डायरीका आधारमा नेपाल सरकारको प्रहरी प्रशासनले ०४६÷४७को आसपास देहब्यापारको संजालको मेरुदण्डको हड्डी नै भाँचेको र चेलीबेटी बेचबिखन ब्यक्तिगत स्तरमा सीमित रहन पुगेको मेरो अनुमान छ । डायरी काण्डले गर्दा एकता समाज र हिमाचल क्षेत्रको पार्टी राजनीतिबाट म निर्वासन मुक्त जस्तै भएर नेपाल प्रवेश गरेर पत्रकारिता र छिटपुट राजनीतिमा सम्लग्न भएँ ,नेकपा मसाल र एकता समाजमा आएको गम्भीर फूटमा पनि कुन गुटमा लाग्ने दुविधाले दलीय सम्लग्नताको सक्रियता विस्तारै कम भएर गयो । तैपनि निम्नपूँजीवादी सम्झौतापरस्त दक्षिणपंथी भासमा विचलन भएका राजनीतिक दलहरूका ठूलाठूला पद प्रतिष्ठाका मोहमा नलागेर अध्ययन अध्यापन अनि लेखन तथा पत्रकारितातिर म बढी सक्रिय भएर काम गर्न थाले । टनकपुर र महाकाली बेच्ने , टिष्टा काँगडा फिर्ता लिनुको बदला कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई हड्िपन दिने लम्पसारवादी राजनीतिमा विदेशीको पैसाले निर्वाचनमा ठूलाठूला दल बनाइएका नेपाली काँग्रेस ,एमाले र राप्रपा जस्ता देशद्रोही दलहरूका गतिविधिले पार्टी भनेपछि जनतामा घृणाको लहर तीब्र हुँदै गएकोमा म जस्ता संर्घषसंग जीवन साटेका ब्यक्ति अछुतो हुने कुरै भएन । गद्दार र देशद्रोही काँग्रेस र त्यस भित्रपनि अहंकारी दलाल गिरिजा प्रवृत्ति हो भनेर बनेको जनमतले २०५२ सालको मध्यावधि चुनावपछि पहिलो दलको रुपमा एमालेले अल्पमतको सरकार बनाउन पुग्यो । मनमोहन अधिकारीसंग निजी सम्पर्कका साथैउहाँलाई इमानदार सिद्धान्तनिष्ट कम्युनिस्ट मान्ने म जस्ता तत्काल स्वतन्त्र वामपन्थीका रुपमा रहेका कर्णालीका युवाहरू काँग्रेसलाई हराएर वामपन्थी बनेको उत्साहमा रमाएका थियौ । केही युवाहरूले विभिन्न प्रकारका सम्पर्क सम्बन्धलाई बहसको रुपमा अघि सारिरहेको वेला नेपालको स्वतन्त्रता र स्वाधीनतालाई सबल बनाउनु पर्छ र सुगौली सन्धिमा गुमेको हाल विदेशीहरूको उपनिवेशका रुपमा रहेको हिमवतखण्डको सम्पूर्ण भूभाग मुक्त गर्नुपर्छ भने नेपाली इतिहासका सगरमाथा योगी नरहरिनाथलाई खोज्नु पर्छ, यो कुरा प्रेम कैदीबाट जानकारी मिल्यो ।

अस्ट्रेलियामा गुप्तेश्वर महादेवको मन्दिरको उद्घाटन गर्न योगीलाई लिनका लागि एक टोली आएको रहेछ । योगी कता हुनुहुन्छ भन्ने थाहा नपाएर टोली फर्किन लागेको रहेछ । योगी तत्काल लम्जुङको दँुराडाडामा नागकन्याद्वारा आयोजना गरिएको कोटिहोममा ब्यस्त हुनुहँुदो रहेछ । योगीलाई भेटेर अस्ट्रेलियाको निम्तोको जानकारी दिने र उहाँसंग इतिहासका बारेमा सत्संग गर्न हुम्लाका इन्जिनियर लोकबहादुर रावत र म बाटोघाटो राम्ररी नबनेको दँुराडाडा पुगेर बल्लतल्ल भेटघाट गर्न सफल भयौं । चामल डढाउने,दूध पोख्ने व्यर्थको कामका योगी लागेको र हामी यति दुख पाएर केही उपलब्धि नहोला कि भन्ने दुबिधामा थियौं । अनकन्टार दुँराडाडामा योगीका वरिपरि हजारौं जनता गहिरो आस्थाका साथ झुमिरहेका थिए । योगी जब बोल्नु हुन्थ्यो लम्जुङको विगतमात्र होइन नेपालकै नवनाथ ८४ सिद्ध ८८हजार ऋषिमुनि ३३कोटी देवता सजीव रुपमा हामीसंगै छन् जस्तो लाग्थ्यो । बाबु ४÷५ बर्षअघि मारिएका र बाबुको आत्माले थरथरी काप्ने एउटा युवालाई योगीले सम्बाद गरेर छोरामा चढेको आत्मालाई मृतकका हत्यारा पत्ता लगाएर प्रहरीबाट पक्राउ गर्दा सावित भएको जस्ता दर्जनौं घटनाले योगी र अध्यात्मलाई त्यस अघि जति सतही पाराले हामीले हेर्ने गथ्र्यौं, त्यो सोच केही न केही बदलियो । म जस्ता कोरा भौतिकवादीको सोचमा अध्यात्मप्रतिको नकारात्मक र सतही धारणामा नयाँ सोचले विश्लेषण गर्न सिकायो । योगीसंग त्यसपछि निरन्तर सम्पर्कमा रहदै गएँ र काँगडा क्षेत्रमा सतलजको किनारमा बिताएको आफ्नो जवानी र त्यस क्षेत्रप्रतिको प्रेम र आस्थालाई धारिलो पार्ने काम बढ्दै गयो । त्यतिमात्र नभएर भारतमा रहेका नेपालीहरू खासगरी दार्जिलिङ सिक्किम क्षेत्रमा जुन प्रकारको उत्पीडन र त्यस बिरुद्धको संघर्षबाट पनि म कम प्रभावित थिइन । त्यसैबीच पत्रकार प्रेम कैदीले नेपाल राष्ट्रका समस्याबारे टिष्टादेखि काँगडासम्म मात्र नभइ हिजोका जम्बुद्वीप,हिमबतखण्ड,खसान,जडान,किराँत,मिथिला ,गोर्खा साम्राज्य र नेपाल आदिको इतिहास र विरासतलाई जोगाउने तथा मेचीकाली बाहिर बिदेशीको उत्पीडनमा रहेका भारत,सिक्किम ,भुटान,बंगलादेश लगायत अन्य राष्ट्रमा रहेका भूमि र जनतालाई मुक्त गराउन एक वृहत् भेला गर्ने जसमा देश बिदेशमा रहेका हाम्रा जातिका अभियन्ताहरूलाई आमन्त्रण गर्ने कार्यक्रमको खाका बन्यो । त्यसको लागि अर्वाैं हिन्दूहरूका आस्थाका केन्द्र महर्षि योगी नरहरिनाथलाई प्रमुख वक्ताको रुपमा बोलाउने भनेर भेट्न जाँदा भर्खर भारतको सर्वाेच्च अदालतमा मुद्दा हालेर सुगौली सन्धिबारे ऐतिहासिक निर्णय गराउन सफल गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता सुबास घिसिङलाई मुख्य अतिथि बनाऊ भन्नु भयो । त्यसपछि पत्रकार कैदी र म दार्जिलिङ पुग्यौं र घिसिङको निवास नजिकै एउटा सानु होटलमा बस्यौं र पार्वत्ते परिषदका नेताहरू दीपक गुरुङ ,एन.बी.खवास,दीर्घराज कोइराला आदिसंग भेट्यौं र अन्तमा लालकोठीमा घिसिङसंग वार्ता गर्ने अवसर मिल्यो र उहाँले हाम्रो निम्तो स्वीकार गरेर २०५२ साल जेठ ९ गते हाम्रो सभामा जसरी पनि आउने वाचा गर्नु भयो । उहाँले अरु के चाँहिन्छ र कार्यक्रम जसरी पनि सफल पार्न मेरो योगदान के कस्तो हुनु पर्ला भनी जान्न खोज्नु भयो । हामीले केही चाँहिन्न, योगी नरहरिनाथको आशीर्वादले सब ठीक छ भन्यौं, उहाँ खुशी हुनु भयो । लगतै काठमाडौं फर्केर कार्यक्रमको तयारीमा एउटा घिसिङको फोटो सहित कर्णाली मुक्तिमोर्चाको नामबाट सुबास घिसिङ काठमाडौं आऊ टिष्टा काँगडा फिर्ता ल्याऊ भन्ने पोस्टर डिजाइन गरेर ३० हजार थान पोस्टर छाप्ने आदेशका साथै कार्यक्रमको उद्देश्य लेखिएको एक पर्चा पनि लगभग २५ हजार कपी छापियो । बागबजारको छापाखानाबाट ती देशभक्तिपूर्ण पोस्टर र पर्चा हाम्रो पैसा नदिकनै गृहमन्त्री केपी ओलीको प्रहरीले छापाखाना मालिकलाई धम्काएर लुटेर लग्यो । हामीले तिरेको पैंसाबाट लिएको रकम पनि सरकारले फर्काएन ।

बिहान ४ बजे दूध लिन जान डेराको ढोका खोल्दा रातभरि घर घेरेर बसेका ५० जना कमाण्डो सहित न्यौपाने थरको प्रहरी निरीक्षक प्रेम कैदीको कोठामा परिवारसंग सुतेको ठाउँमा जबर्जस्ती घुसेर गिरफ्तार गरेर एकछिनपछि मसहित प्रेम कैदीलाई जाउलाखेल जिप्रकामा लगियो । प्रहरी केही बोल्दैन थिए,मलाई नेकपा मसालको कार्यकर्ता भनेर छोडे भने कैदीलाई मंगलबजार थानामा राखे । भोलिपल्ट बिहानै योगी नरहरि मंगलबजार थाना आएको र प्रेम कैदीलाई लिन आएको भन्दा प्रहरी निरीक्षकले तपाई राजपरिषदको सम्माननीय सदस्य हुनु हुन्छ, मलाई गृहमन्त्रीबाट आदेश दिलाउनु होस अनि छोड्छु भन्यो । त्यसपछि योगी गृहमन्त्री कहाँ जानु भयो । ओलीले तत्काल के भयो बुझेर साँझ ४ बजे मृगस्थली आउँछु भने तर व्यवहारमा राजकाज अपराध सम्बन्धि ९ वटा धारामा प्रेम क‌ैदी लाई गम्भीर अपराधमा लामो समय थुन्ने मुद्दाको तयारी गराउदै कसलाई सोधेर हो योगी कहाँ गएर कैदीलाई रिहा गर्न नमिल्ने र आफूले केही गर्न नसक्ने भने । त्यस दिनका प्राय अखबारमा गिरफ्तारी सम्बन्धमा समाचार छापिनुका साथै कैदीलाई आतंककारीको व्यवहार गरिएको, पोस्टर पर्चा लुटिएको खुलामञ्चको शान्तिपूर्ण सभा भाँडिएको,सभामाथि प्रतिबन्ध लगाइएको , गोरामुमोका नेताहरू बागबजारको होटलबाट गिरफ्तार गरि सीमापारी नक्सलमा लगेर छाडेको,काकडभिट्टा , पशुपतिनगर नाका तीन दिन बन्द गरेको अनि प्रमुख अतिथि सुबास धिसिङ्लाई नेपालका राजदूतले धिसिङको सुरक्षा गर्न नसकिने भनी यात्रामात्र नरोकी दिल्ली काठमाडौंका सम्पूर्ण उडान रद्द गरिएको थियो । हाम्रो देशभक्तिपूर्ण अनि शान्तिपूर्ण कार्यक्रमलाई फासीवादी शैलीमा दमन गरेर तत्कालीन सरकारले गरेको निर्मम दमनलाई चौतर्फी बिरोध भयो । योगी नरहरिले महाराज बीरेन्द्रलाई भेटेर तिमीले राज्य सुम्पेका शासकहरूले बिदेशीहरूको इशारामा देशभक्तहरूलाई दमन गरेका,े चोरलाई चौतारो साधुलाई सुली किन ? भनी कराएपछि महाराजले प्रम मनमोहन अधिकारीलाई के भएको भनी जानकारी लिन खोज्दा उनले गृहमन्त्रीले आफुलाई नसोधेर मेरो साथी प्रेम कैदीलाई थुनेछ म बुझ्छु सरकार भन्नु भएछ । प्रम अधिकारी र उनका राज्यमन्त्री प्रेमसिंह धामी आदिले हामीले गर्न पर्ने काम योगी र प्रेम क‌ैदीहरूले गरेकोमा स्याबासी दिनु पर्ने ठाउँमा राजकाज मुद्दा किन चलाएको भन्दै कराएपछि ओलीले बाध्य भई मुद्दा स्थगित गरे । फासीबादी केपी ओली कैदीमाथि नौ ओटा राजकाज मुद्दा लगाई १६ वर्ष कालकोठरीमा थन्क्याउने षडयन्त्रका मतियार बनेका थिए ।

सन्त गोबिन्द काफ्लेको सुगौली सन्धि सम्बन्धी पुस्तकका लागि ।

-प्रेम कैदी

प्रतिक्रिया