म झन् निरुत्तर भएँ र फर्केँ लाहुर तिरै !

रामप्रसाद खनाल, मार्च २८, २०२३ २०७९ चैत १६ गते २१:२३ मा प्रकाशित

धमलाको हमला,
धमला माथिको हमला,
शर्मिलाको राम कहानी
बेकार बदनाम छ काजु
एलिजाको डग्गी डान्स
भेलु बाजेका सन्देश र वाणीहरू
भाइरलै भाइरल छन् जताततै
बेफुर्सदी छन् युट्युबरहरु
टिकटकमै मस्त छन् जनहरू
फेसबुके र टिकटके न्यायाधीश
चलिरहेछ राक्षसी राज निर्धक्क
शती जान तयार छन् लाम लागेर
कहिले यता, कहिले उता
कहिले बोकेका छन्
कहिले बोकाएका छन्
भारी बोक्न तयार छन् गधाहरू
भाषणमा भइरहेको छ राशन वितरण
लाज छोप्ने धरो खुस्किसकेको छ
हुन त हो लाज मान्दैनन् गोरुहरू
अन्धाहरू देख्दैनन् धरो खुस्किए पनि
रुवाबासी छ अहिले जताततै
हत्या हिंसा, आतङ्कबाट पीडितहरूको
मिटरब्याजी साहुबाट पीडितहरूको
बलात्कार बाट पीडितहरूको
न्याय मूर्ति आफै न्याय पाइन भन्दै
घर तिर लागे रे रुँदै कराउँदै !
यत्तिकैमा लामो लाइन देखियो मानिसको
लाग्यो जनता उठेछन् क्यारे राक्षसी राज विरुद्ध
तर नजिकै गएर हेर्दा देखियो
त्यो लाहुर हिँडेको लाइन रहेछ
म झन् निरुत्तर भएँ र फर्केँ लाहुर तिरै !
नफर्कूँ पनि कसरी, पापी पेटको सवाल जो छ !

  • रामप्रसाद खनाल, मार्च २८, २०२३

प्रतिक्रिया