नेपाली रङगमञ्च

इनेप्लिज २०७९ चैत १२ गते २०:१५ मा प्रकाशित

(आई.टी.आईं. बाट सन् १९६२ देखि सुरु भएको विश्व रङ्गमञ्च दिवसको उपलक्ष्यमा शुभकामना सहीत एउटा लेख )

डा. गोबिन्दसिंह रावत, टोरन्टो, क्यानडा । नेपाली नाटकको विकासमा मल्लकाललाई स्वर्णिमाकाल पनि भनिन्छ । नेपाली नाटकको जे जति विकास मल्लकालमा भएको थियो त्यसअघि र पछि नेपाली नाटकले विकास गरेको पाइँदैन । मल्लकालमा राजा र जनता दुवै नाटकको विकासमा लागेका र राजा स्वयम् पनि नाटक प्रदर्शन गर्न अग्रसर हुने गरेकाले मल्लकालमा चाडपर्वको बेला नाटक मञ्चन गर्ने परम्परा नै बसेको पाइन्छ । नेपालमा खुलामञ्च नाटकको थालनी पनि मल्लकालमा डबली नाटकका माध्यमबाट सुरु भएको र मल्लकालअघि पनि डबलीको अस्तित्व रहेको तथा धार्मिक नाटक खुला आकाशमा देखाउने परम्परा रहेको देखिन्छ ।

नेपाली नाटकको विकासमा मल्लकाललाई स्वर्णिमाकाल पनि भनिन्छ ।

नेपालमा डबलीको अस्तित्व सूर्यवंशी राजा शिवदेव वर्माको पालादेखि नै रहेको र नाट्यस्वरूपको अस्तित्व भने इसापूर्व ४२६ देखि कै रहेको पाइन्छ । हरिसिद्धि नाचबाट सुरु भएको नेपाली रङ्गमञ्चको इतिहासले धेरै नै उतारचढाव पार गरिसकेको छ । नाटकको इतिहास पहिल्याउनुपूर्व नेपालको इतिहासलाई पनि हेर्नु पर्ने देखिन्छ । नेपालको इतिहासमा भारतवर्षका सम्राट् विक्रमादित्यको आगमनस“गै तिथिमितिको इतिहास पाउन सजिलो भएको छ । विक्रमादित्यले उज्जैनबाट त्रिशक्तिदेव हरिसिद्धिलाई कलशमा ल्याएर प्रतिस्थापित गराएर हरिसिद्धि नाचको परम्परा चलाएको मानिन्छ । हरिसिद्धि नाचका विषयमा धेरै अध्ययन अनुसन्धान कार्यहरू भएको पाइन्छ । देववंशावली, भाषावंशावली, राजभोगमाला आदि सबै वंशावलीमा कलिगत २६७५ अर्थात्् इसापूर्व ४२६ मा विक्रमादित्यले भारतको उज्जैनबाट हरिसिद्धि नाच नेपालमा ल्याएको उल्लेख भएकोबाट यसको प्राचीनता प्रमाणित हुन्छ । त्यसैले नेपाली रङ्गमञ्चीय प्रस्तुतिको थालनी गर्ने हरिसिद्धिका बारेमा चर्चा गर्नु सान्दर्भिक देखिन्छ ।

हरिसिद्धिलाई नेवारीमा जाला प्याख अर्थात् जलको नाटक पनि भनिन्छ । डेनियल राइटका अनुसार भारतवर्षको उज्जैनका राजा विक्रमादित्यले आफ्नो कुलदेवता हरिसिद्धिलाई कलशमा राखेर नेपालको नीलतारा भन्ने ठाउँमा स्थापित गराएर नृत्य सङ्गीत नाटकको थालनी गराएको मानिन्छ । यसको समय कलिगत २६७५ मा ईसापूर्व ४२६ मानिएको छ । कुलदेवता हरिसिद्धिलाई विक्रमादित्यले पहिला बानेश्वरमा स्थापना गरेका र केही धार्मिक व्यवधान आएपछि हालको हरिसिद्धिमा सारिएको बारे राइटले उल्लेख गरेका छन् । विक्रमसंवत् ७४५ मा बानेश्वरबाट कलशलाई हरिसिद्धिमा सारिएको र हाल पनि हरिसिद्धिको मन्दिर यस स्थानमा रहेको देखिन्छ । यो नाटक परम्परा इसापूर्व ५६ बाट विक्रमसेन सूत्रवीरले नगेन्द्रलाई मारेको कथामा आधारित छ ।

यस नाटकको थालनीका बारेमा देवमाला वंशावलीमा उल्लेख भएको पाइन्छ र यसलाई लिन्डा एल्.इल्टिसले पनि चर्चा गरेका छन् । सातौँ शताब्दीमा बरदेवले हरिसिद्धि नृत्य परम्पराको थालनी गराएपछि नियमानुरूप चल्दै आएको थियो । यो नृत्यनाटकपरम्परामा वि.सं. १००३ सालमा फेरी अवरोध उत्पन्न भए तापनि पुनः ५१४ वर्षपछि अर्थात्् वि.सं. १५१७ मा अमर मल्लले हरिसिद्धि नृत्यनाटकपरम्परा सुरु गराएपछि यो नृत्यनाटकपरम्परा मल्ल राजाहरूका लागि धार्मिक मान्यता बन्न पुगेको पाइन्छ । राजा रत्न मल्ल (१५३९–१५९७) ले त आफ्नो राजमुकुट नै हरिसिद्धिमा चढाएर लगाएको इतिहास छ । यसरी नेपालमा धार्मिक मान्यता बोकेर सुरु भएको हरिसिद्धि नृत्यनाटक पुनः बन्द भएपछि राजा प्रताप मल्लको शासनकालमा वि.सं. १७११ सालमा नयाँ विधिअनुरूप सुरु हुन्छ ।

लम्भाकर्ण भट्ट र नर्सिंह ठाकुरको सहयोगबाट पुनः सुरु भएको हरिसिद्धि नृत्यलाई विश्वनाथ उपाध्यायको सहयोगमा नृत्य गर्ने नयाँ विधिहरू पनि सिकाइएको बारे देवमाला वंशावलीमा चर्चा भएको छ । अझ वि.सं. १७२० सालमा यो नृत्य प्रारम्भ गर्न १०५ वटा खसी र २४ वटा भैंसी चढाएर दर्शकहरूको उपस्थितिमा मन्दिरको प्राङ्गणमा नृत्य मुद्रामा प्रस्तुत गरिएको मानिन्छ । हरिसिद्धि नृत्यनाटक धार्मिक भएकाले यसमा पुजारीको अहम् भूमिका रहन्छ र उनीहरू दया वा दयालु अर्थात् ईश्वरका रूपमा नाटकमा आएको मानिने हुँदा मञ्चमा आएका दया पात्रलाई नाटकपछि धार्मिक रीतिअनुसार पूजा गरिने चलन छ । नाटकमा विभिन्न भगवान्का रूपमा पुजारीहरूले अभिनय गर्ने हुनाले अभिनय गर्ने सबै पुजारीलाई भगवान्को त्यही रूप मानेर पूजा गर्ने चलन छ । अझ अभिनय गरिरहेका देव पात्रलाई नाटक चलिरहेका बेला दर्शक दीर्घाबाट आएर सर्वसाधारणले आर्शीवाद लिने चलन पनि रहेको देखिन्छ । नृत्यनाटकमा धार्मिक सँगसँगै राजा विक्रमादित्य, मन्त्रीगण, किसी भन्ने पात्र र राजाका शत्रुहरू आदि सबै ऐतिहासिक पात्रहरू हुने गरेको र यी पात्रहरूलाई दर्शकले उनीहरूको मुखुन्डो र अभिनयका माध्यमबाट छुट्याउने गरेको पाइन्छ । यो धार्मिक नाटक भएको हुनाले यसको मञ्चन धार्मिक विधिपूर्वक गरिन्छ भने यसमा अभिनय गर्ने पात्रहरू सबै पुरोहित हुने गर्दछन् । अझ ती पुरोहितमा पनि जेष्ठ पुत्र हुनु पर्ने र पुजारीका जेठो छोराले मात्र नाटकमा अभिनय गर्ने परम्परा रहेकाले यो बाबु बाजेबाट जेष्ठ छोरासम्म आउने गरेको र यसमा नाटकमा अभिनय गर्न पाउने २९ परिवारलाई राजकुल परम्परामा राखिएको पाइन्छ ।

बार वर्षमा एक पटक देखाइने परम्पराअनुसार हरिसिद्धि नाचमा अभिनय गर्न चाहनेले चार महिनासम्म मन्दिरमा बसेर होम गरेर विधिपूर्वक कथाका पात्रको चरित्रलाई बुझेर चरित्रअनुरूप आपूmलाई ढाल्नु पर्दछ । यसरी नाटकका पात्रको चरित्रलाई बुझेपछि मात्र अभिनयकर्ताले पात्रको चरित्रसँग न्याय गर्न सक्छ भन्ने विश्वास रहेको छ । यसका अतिरिक्त नाटकमा दसजना पुरोहितले स्थायी पात्रका रूपमा अभिनय गर्छन् भने अरू दसजनालाई च्याबु भनिन्छ, जसमा आठजना भूतका छोराहरू र दुईजना कुकर पात्र हुने गर्दछन् । यसैमा दुईजना ढोलकी, एकजना चुस्या बजाउने र एकजना गायक रहने गर्छ । दुईवटा कलश, बाली, शुक्रवीर, लाखे र कुमारी आदि पात्रहरू पनि यस नृत्यनाटकमा रहने गर्दछन् । प्रत्येक पात्रले आफ्नो पुर्खाबाट आफ्नो चरित्रको गोप्य अर्थ बुझेको हुनु पर्दछ । बार वर्षमा गरिने भएकाले यसमा पुजारीको इच्छाअनुसार नयाँ पात्रले अभिनय गर्ने मौका पनि पाउन सक्छ तर त्यसका लागि उसले गोप्य शिक्षादीक्षा लिनु अनिवार्य मानिन्छ । यस नृत्यनाटकमा देवभाषाका रूपमा प्रयोग गरिने दयामैं भाषालाई मन्त्र भनिन्छ र यो भाषा नेवारी, नेपाली, मैथिली, संस्कृत, पाली भाषाभन्दा बेग्लै प्रकारको हुने गर्दछ ।

हरिसिद्धि नृत्यनाटकमा अभिनय गर्नेले पूर्ण ब्र≈मचर्यको पालना गर्नु पर्छ भने उसमा कुनै प्रकारको अम्मल हुनु हुँदैन । अझ मन्दिरमा नै बस्नु पर्ने भएकाले छालाको लुगासमेत लगाउनु हुँदैन । नृत्यनाटक सुरु हुनुभन्दा अगाडि गुरु शिष्य मिलेर पूजा गरिन्छ । हरिसिद्धि नृत्यनाटक देखाएपछि हरिसिद्धि स्वर्गमा जाने किम्वदन्ती रहेको छ । तर नवदुर्गा र पचली भैरवको पूजा गरी नृत्यनाटक देखाएपछि पातालमा पठाइने चलन रहेको हुँदा प्रत्येक नवदुर्गा र पचली भैरवको प्रस्तुतिमा देवीदेवतालाई स्वर्गबाट बोलाएर नाटकको अन्त्यमा पातालबास गराइन्छ । त्यसैले नवदुर्गा र पचली भैरवको पातालबासपछि मात्र हरिसिद्धिलाई स्वर्गबाट बोलाएर नाटकको अन्त्यमा स्वर्गमा फिर्ता पठाएर नाटक समाप्त गर्ने चलन छ । धार्मिक मान्यताअनुरूप देखाइने हरिसिद्धि नृत्यनाटकको प्रस्तुति पनि धार्मिक विधिअनुसार गरिन्छ । त्यसैले नाटक सुरु गर्नुअघि पञ्चबली दिइन्छ । नाटकलाई निँ प्याख र कांँ प्याख गरी दिउँसो र राति देखाउने परम्पराअनुसार विभाजित गरिएको छ । काँ प्याखको प्रस्तुतिमा दसजना कविराजहरूले पाँच दिशाबाट मुदे, भलन्द्या, विक्रमापति, कुमारी, नारायणले रातो, पहेंलो, नीलो र हरियो मुखुन्डो लगाएर अभिनय गर्छन् भने निँ प्याखमा नसद्या अदृश्य पात्रका रूपमा रहने गर्छ । नृत्यनाटकका अन्त्यमा गणेश, हनुमान, रामचन्द्र, शुक्रवीर, नारद, बलीराजा, कुमारीसँगै विक्रमपति, मन्त्री, लाखे आदि विभिन्न पात्रहरू मुखुन्डो लगाएर मञ्चमा उपस्थित हुने गर्छन्् । यस नाटकको प्रस्तुतिमा जम्माजम्मी १६ वटा दृश्य रहने गरेको पाइन्छ । यसरी धार्मिक मान्यताअनुरूप मञ्चन हुने गरेको हरिसिद्धि नृत्यनाटक नेपाली रङ्गमञ्चको थालनी बिन्दुसँगै सांस्कृतिक धरोहरका रूपमा रहेको छ । इसापूर्व ४२६ देखि नेपालमा भित्रिएको यो नृत्यनाटक परम्पराले अहिलेसम्म पनि त्यहीअनुरूपको मान्यता र श्रद्धा पाइरहेको देखिन्छ ।

नृत्यनाटक सुरु हुनुभन्दा अगाडि गुरु शिष्य मिलेर पूजा गरिन्छ । हरिसिद्धि नृत्यनाटक देखाएपछि हरिसिद्धि स्वर्गमा जाने किम्वदन्ती रहेको छ ।

किराँतकालपछि नेपालको राज्यसत्ता सोमवंशीको हातमा जान्छ भने सोमवंशका अन्तिम राजा भाष्कर वर्मा निसन्तान भएपछि सूर्यवंशी क्षत्रीय भूमिवर्मालाई राजा बनाएर सूर्यवंशीहरूको शासन व्यवस्था सुरु भएको पाइन्छ । सूर्यवंशी राजा शिवदेव वर्माले आºनो शासन कालमा धार्मिक चाड पर्वहरूलाई बढी मान्यता दिएको एवम् मठमन्दिर तथा देवालयहरूको निर्माण गर्दै गएको मानिन्छ । यिनै शिवदेव वर्माको पालामा पा“चवटा डबलीको निर्माण गरिएको कुरा डेनियल राइटले आफ्नो पुस्तकमा चर्चा गरेका छन् । नेपाली इतिहासको अध्ययनको क्रममा प्राप्त डबलीको पहिलो वर्णन यसै पुस्तकमा भएको पाइन्छ । सूर्यवंशी राजा शिवदेव वर्माले चार गणेश, चार भैरव, चार महादेव, चार कुमारी, चार बुद्ध र चार नृत्यनाथको प्रतिस्थापना गराएपछि पाँचवटा डबली बनाएका थिए । यस तथ्यबाट नेपाली रङ्गमञ्चको इतिहासलाई अझ अगाडि बढाइदिएको छ ।

डबलीको निर्माणले नै तत्कालीन समयमा रङ्मञ्चीय गतिविधि हुने गरेको सङ्केत दिन्छ । सूर्यवंशी राजाहरूको इतिहास भूमि वर्माबाट कलिगत १३८९ वर्षदेखि भएको मानिन्छ भने राजा शिवदेव वर्मालाई सत्ताइसौ“ राजा मानिन्छ । यिनै शिवदेव वर्माको समयदेखि रथमा देवीदेवताको जात्रा निकाल्ने चलन सुरु भएको मानिन्छ । राईटका अनुसार शिवदेव वर्माको पालामा भारतवर्षबाट महाराजा विक्रमादित्य भारतमा जस्तै नेपालमा पनि आफ्नो सम्वत् चलाउन आउँदा सपनामा देवी आएर आदेश दिएअनुरूप यिनले भारतको उज्जैनबाट त्रिशक्तिदेवको कलश ल्याएर नीलतारामा प्रतिष्ठापित गराएको र यिनले नै देवीको आदेशानुसार हरिसिद्धि नाच नाटकको थालनी गराएर गएपछि यो नृत्यनाटक परम्पराले नियमितता पाउदै गएको बारे चर्चा गरेका छन् । यिनै राजा विक्रमादित्यले सूर्यविनायकमा गणेशको मूर्ति स्थापना गराएका थिए ।

इतिहासकार डी.आर्. रेग्मीले जयदेव द्वितीयका बारेमा चर्चा गर्ने क्रममा कलिगत वर्ष ३८२४ लाई इस्वी सन् ७२४ भनेर चर्चा गरेका छन् र राइटको पुस्तकमा पनि यसरी नै कलिगत ३१०० वर्षलाई इसाको पहिलो वर्षका रूपमा चर्चा गरेका छन् ।

राजा विक्रमादित्यले त्रिशक्तिदेवीको कलश ल्याएर हरिसिद्धिमा स्थापना गरी हरिसिद्धि महोत्सव मनाउने परम्परा सुरु गराए भने महोत्सवमा गीत, नृत्य र नाटक देखाउने परम्पराको थालनी पनि यिनै विक्रमादित्यले हरिसिद्धिको आज्ञानुसार चलाएको मानिन्छ । यिनले नेपालमा आएर विभिन्न धार्मिक उत्थानका कार्यहरू गर्नाका साथै नेपाली जनतालाई करमुक्त गराई आºनो सम्वत् चलाएर गएको भनिन्छ तर विक्रमी सम्वत् र इस्वी सम्वत् बीच ५७ वर्षको अन्तर भएको र विश्व वर्मालाई मानदेव, गुणदेव र शिवदेवको वंशज मानिएकोबाट मानदेवको समयलाई इस्वी सन् ४६४ मानिन्छ भने यो गणना न मिल्ने भएकोले विक्रमादित्यको आगमनको समयलाई कतै विक्रमी सम्वत्पूर्वकै हाराहारीमा भएको अनुमान लगाउन सकिन्छ । फेरि हरिसिद्धि नृत्यनाटकको थालनी विक्रम सम्वत् ९४१ वर्ष अघिदेखि सुरु भएको भनिएकोबाट पनि यो तथ्यमाथि शङ्का उत्पन्न हुन आउछ । रङ्गमञ्चीय इतिहास हेर्दा यहाँ पनि धार्मिक नाटक परम्परा रहेको तथ्य पाइन्छ । अहिलेसम्मको अध्ययन अनुसन्धानबाट हरिसिद्धि पुराणअनुसार नेपालमा नाटकको अस्तित्व विक्रमसंवत् सुरु हुनुभन्दा ९४१ (कलिगत वर्ष २९६०) वर्ष अगाडि अर्थात् इसापूर्व ९९८ देखि नै रहेको तथ्य पाइन्छ । यस तथ्यबाट नेपालमा नाटक परम्परा धेरै पुरानो रहेको प्रमाणित हुन्छ ।

धार्मिक कथावस्तुमा आधारित हरिसिद्धि नृत्य नाटकमा उग्रतारा र नीलसरस्वतीलाई मूल विषय बनाइएको छ भने यसमा सूत्रवीरले नागेन्द्रलाई बध गरेको उपाख्यानलाई प्रस्तुत गरिएको छ । वंशावलीअनुसार यस नाटकलाई राजा विक्रमसेनले उग्रतारा देवीको आज्ञा पाएर निर्माण गरेका र कालान्तरमा यो हरिसिद्धि नाच नाटक लोप भएर गएपछि विक्रमसंवत् सुरु हुनुभन्दा १९६ (कलिगत वर्ष ३७०५) वर्ष अगाडि विश्वकर्मा नामक व्यक्तिले यसलाई नृत्यमा परिणत गरेर नियमितता दिँदै गए तापनि वि.सं. १००३ मा यसको नृत्यप्रस्तुति परम्परा पनि बन्द भएर गएको तथ्य पाइन्छ । पछि गएर कान्तिपुरका राजा प्रताप मल्ल (वि.सं १६९८–१७३१) ले आफ्नो शासनकालमा हरिसिद्धि नृत्य नाटकलाई पुनः व्यवहारमा ल्याएर नियमितताका साथ हरिसिद्धि नृत्यनाटक देखाउने परम्परा सुरु गराएको पाइन्छ, जुन अहिलेसम्म पनि नियमित रूपले ललितपुरको हरिसिद्धिको मन्दिरमा प्रत्येक वर्ष हरिसिद्धि उत्सवको बेला नाचनाटक प्रस्तुत गरिन्छ । राजा प्रताप मल्लको देहावसान पनि यही हरिसिद्धि नाचनाटक हेर्दाहेर्दै रगत छादेर वि.सं १७३१ मा भएको मानिन्छ ।

इतिहासकार डी.आर्. रेग्मीले जयदेव द्वितीयका बारेमा चर्चा गर्ने क्रममा कलिगत वर्ष ३८२४ लाई इस्वी सन् ७२४ भनेर चर्चा गरेका छन् र राइटको पुस्तकमा पनि यसरी नै कलिगत ३१०० वर्षलाई इसाको पहिलो वर्षका रूपमा चर्चा गरेकाछन् भने यही गणनालाई अरू इतिहासकारहरूले पनि स्विकारेका छन् । यस गणनाबाट माथि उल्लिखित हरिसिद्धि नाचनाटकको समय कलिगत वर्षअनुरूप गणना गर्ने हो भने वि.सं. भन्दा १९७ वर्षअगाडि अर्थात् इसापूर्व १४० वर्षदेखि यो परम्परा सुरु भएको देखिन्छ । यस तथ्यले हरिसिद्धि नाचनाटकको इतिहास विक्रम सम्वत्भन्दा अगाडि नरहेको देखिए तापनि यो नाचनाटकको थालनी इसापूर्व केही समयअघिदेखि रहेको अनुमान लगाउन सकिन्छ । माथि उल्लेखित वंशावली र राइट दुवैले हरिसिद्धि नृत्यनाटकको थालनी राजा विक्रमादित्यबाट भएको कुरा स्विकारेका छन् ।

प्रतिक्रिया