विराटनगर,११ चैत । मैथिली भाषाको विकास एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने पाँच जनालाई नगद सहित पुरस्कृत गरिएको छ ।
मैथिल सञ्चारकर्मी संघ नेपाल कोशी प्रदेशद्वारा आज यहाँ आयोजित एक समारोहमा पुरस्कृत गरिएको हो ।
यसरी पुरस्कृत हुनेहरुमा इन्द्र मिथिला गौरव सम्मानबाट धिरेन्द्र प्रेमहर्षीलाई नगद रु २१ हजार १११ , उज्वल मिथिला नछत्र गौरव सम्मानबाट रामा मण्डल रु ११ हजार १११ ,रघुनाथ गुप्ता स्वतन्त्र सेनानी पुरस्कारवाट राधा देवी मण्डल रु सात हजार १५१, रामपरि देवी पत्रकार पुरस्कारवाट ब्रह्मदेव यादव रु पाँच हजार १११ र कौशल्या मुसहरी स्मृति पुरस्कारवाट सुश्री श्रेयालाई रु पाँच हजार एवं सम्मानपत्रबाट पुरस्कृत गरिएको छ।
सो अवसरमा राष्ट्रिय समाचार समिति(रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पुरस्कार वितरण गर्दै राजनीतिक दलमा रहेका नेताहरुले आफ्नो मातृ भाषा एवं संस्कृतिको संरक्षणका लागि कार्य गर्नुपर्ने बताउनु भयो ।
उहाँले सभ्यता र संस्कृतिको जर्गेनामा भाषाको महत्वपूर्ण योगदान हुन्छ भन्दै यो ज्ञानको प्रशारक समेत भएको धारणा राख्नु भयो ।
अध्यक्ष झाले मैथिली भाषामा गरिने अध्ययन, लेखन , बोलचाल तथा पत्रकारिताबाट मात्र यो भाषाको विकास र संरक्षण हुने विचार राख्नु भयो ।
उहाँले राससले आगामी एक वर्षभित्र मैथिली भाषामा समाचार बुलेटिन प्रकाशन गर्ने योजना बनाएको जानकारी दिँदै यसका लागि यस क्षेत्रमा २०÷२५ वटा सो भाषामा पत्रपत्रिका वा अनलाइन मिडिया सञ्चालन गर्न आग्रह गर्नु भयो ।
प्रतिनिधि सभाका सदस्य योगेन्द्र मण्डलले यस क्षेत्रमा बसोवास गर्ने विपत्र मैथिली भाषीहरुलाई शिक्षामा पुहुँच पु¥याउन आवश्यक सहयोग गर्ने बताउनु भयो ।
कोशी प्रदेशका पूर्वमन्त्री जयराम यादवले मैथिली सञ्चारकर्मीहरुलाई आफ्नो बुबा बर्जु यादवको नाममा रु एक लाख २१ हजार १११ को अक्षय कोष स्थापना गर्ने घोषणा गर्नु भयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जनताको अधिकार स्थापना गर्न राजनीतिक दलका नेतृत्वहरुले नीति निर्माण तहमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो ।
संघका अध्यक्ष नवीन कर्ण,महासचिव वीरेन्द्रकुमार साह र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सन्जीव खनालले नेपालको दोस्रो ठूलो भाषा रहेको मैथिलीको विकासका लागि सञ्चारकर्मीहरुले कलम चलाउनु पर्ने सुझाव दिनु भयो ।
प्रतिक्रिया