लघुकथा-कवि र पाठक

अरुणबहादुर खत्री “नदी” २०७९ चैत २ गते १०:१९ मा प्रकाशित

कवि श्यामप्रसादको कविता सबै पत्रिकाहरुमा प्रकाशित हुने गर्दथ्यो । कवि श्यामप्रसाद साहित्यिक कार्यक्रममा पनि बेला बेलामा पुग्दथ्यो । साहित्यिक कार्यक्रममा उसँग उसको कविता पढ्ने पाठक मदनकुमारकोे भेट भएर चिनाजानी हुन पुग्यो ।

उसको कविता पढ्ने पाठक मदनकुमारले “तपाईको कविता धेरै पत्रिकाहरुमा पढ्दै आइरहेको छु मैले तपाईको कविता मलाई निकै नै मन पर्छ” भन्यो । मदनकुमारले त्यसो भन्दा कवि श्यामप्रसाद निकै खुसी भयो । “तपाईको कवितासङ्ग्रह निस्केको होला नि” भन्दा “मेरो तीनवटा कवितासङ्ग्रह निस्केका छन्” भन्दै कवि श्यामप्रसादले जवाफ दियो ।

“तपाईको कवितासङ्ग्रह मैले पनि पढ्न पाउँछु कि” मदनकुमारले भन्यो । “पढ्न पाउनुहुन्छ तपाईजस्तो पाठकले मेरो कवितासङ्ग्रह अवश्य नै पढ्न पाउनुहुन्छ” भनेर कवि श्यामप्रसादले भन्यो । “कसरी पाउछु त मैले तपाईको कवितासङ्ग्रह ?” मदनकुमारले प्रश्न ग¥यो । “पुतलीसडक, बागबजारका किताब बेच्ने पसलमा गएर किनेर पढ्न पाउनुहुन्छ नि” कवि श्यामप्रसादले भन्यो ।

“फ्रि मा पढ्न पाए हुन्थ्यो” भनेर मदनकुमारले गाह्रो मान्दै भन्यो । “तपाईजस्तो मेरो कविता मन पराउनेले मेरो कवितासङ्ग्रह किनेर पढिदिनु भयो भने मलाई ज्यादै नै खुसी लाग्छ नि” कवि श्यामप्रसादले भन्योे ।

सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं

प्रतिक्रिया