पहिचानका पक्षधरहरुले राष्ट्रपतिमा सुवास नेम्वाङलाई मतदान गर्ने भीम आचार्यको दाबी (भिडियोसहित)

इनेप्लिज २०७९ फागुन १८ गते १२:१३ मा प्रकाशित

काठमाडौं, १८ फागुन । नेकपा (एमाले) का नेता भीम आचार्यले राष्ट्रपति निर्वाचनमा पहिचानको पक्षधरहरुले सुवासचन्द्र नेम्वाङलाई मतदान गर्ने दाबी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलगायतका सांसदले राष्ट्रपति निर्वाचनमा नेम्वाङलाई मतदान गर्ने दाबी गरेका हुन् ।

‘उपेन्द्र यादवजीको पार्टी उहाँ पनि पहिचानवादी भन्नुहुन्छ । राष्ट्रपति विभिन्न पहिचानको क्षेत्रबाट आओस् भन्ने हुन्छ । मधेशबाट भयो, महिलाबाट भयो । अब जनजातीबाट हुनपर्छ भन्ने उहाँहरुको स्लोगन छ । सिके राउतजीले पनि मधेशी पहिचान हुनुपर्छ भन्ने नारा लाइनै रहनुभएको छ । नागरिक उन्मुक्तिको थारु पहिचानको कुरा छ । माओवादीले त त्यत्रो जनयुद्ध पहिचानको नाममा गरेको छ । यिनीहरुले कसलाई भोट हाल्छन् त ? पहिचानको कुरा जनतालाई झुक्याएर खानमात्रै गरेको हो त ?’– उनले प्रश्न गरे ।

राष्ट्रपति निर्वाचनमा पार्टीको ह्वीप नलाग्ने दाबी गर्दै उनले पहिचानको पक्षधरले सुवास नेम्वाङलाई मतदान नगरेमा पहिचाको मुद्दा छाड्नुपर्ने उनको भनाइ छ । अहिले नेम्वाङको पक्षमा बाहिरबाट बहुमत नभएको जस्तो देखिएपनि उनले जित सुनिश्चित रहेको आचार्यले बताए ।
नेम्वाङ पहिचानवादी नेता र सफल सभामुख भएको उनले बताए । विगतका राष्ट्रपतिले कार्यकारीको भूमिका निर्वाह गर्न खोजेकाले अहिले संवैधानिक राष्ट्रपतिमा पनि दलको स्वार्थ देखिएको उनको बुझाइ छ ।

‘संवैधानिक भनिएपनि परेको बेला राष्ट्रपतिले सक्रिय भूमिका निर्वाह गरेको हामीले देखेका छौं । चाहे रामवरणको कुरा गरेपनि जताको कुरा गरेपनि परेको बेला कार्यकारी प्रमुखको रुपमा राष्ट्रपतिले गर्ने भएकाले यस्तो भएको हो,’– उनले भने ।

प्रतिक्रिया