लघुकथा-उपस्थित

अरुणबहादुर खत्री “नदी” २०७९ फागुन १४ गते २३:५६ मा प्रकाशित

कवि राजकुमारले आफ्ना सृजना गरिएका रचनाहरु हरेक पत्रिकामा पठाएर प्रकाशित गर्दथ्यो । तर ऊ कुनै पनि साहित्यिक कार्यक्रम पुस्तक बिमोचनमा जाने गर्दैनथ्यो । एकदिन एउटा साहित्यिक कार्यक्रममा म निमन्त्रणा पाएर पुगेको थिएँ । उसलाई पनि मेरो आँखाले देख्न पुगे र मैले “आज पहिलो पटक तपाईलाई साहित्यिक कार्यक्रममा देख्न पाएँ नि, कतै आजको दिन सूर्य पश्चिम दिशाबाट उदाएर त होइन” भने ।

मेरो कुरा सुनेर बसेको अर्को कविले मुख छोडी हाल्यो तपाईलाई त्यति कुरा पनि थाहा रै न छ । आजको यस साहित्यिक कार्यक्रममा सम्मान गरिने सम्मानित हुने वरिष्ठ साहित्यकारको राजकुमार छिट्टै ज्वाइँ बन्ने हुनुभएको छ । हुनेवाला ससुराको सम्मानमा आफू नपुग्दा उहाँलाई कस्तो महसुस होला । त्यसपछि हामी मरी–मरीकन हाँस्यौं ।

सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं

प्रतिक्रिया